कसरी बन्ला भ्रष्टाचाररहित समाज ?

  रामबहादुर तामाङ

भ्रष्टाचार नैतिक, अनुशासित र सभ्य समाजका लागि कलंकको टीका हो । पूर्वीय दर्शनमा हामीले कल्पना गर्ने गरेको रामराज्यको दुश्मन हो । सार्वजनिक हित र भलाइका लागि लगानी गरिने सार्वजनिक स्रोतसाधन र सम्पत्तिमाथि गिद्धे नजर लगाउने, ¥याल काढ्ने र आँखा गाड्ने भ्रष्ट व्यक्ति र समूहको कालो मनबाट सिर्जित रातो अपराध हो– भ्रष्टाचार ।

भ्रष्टाचार नेपाली समाजमा यस्तो उद्योगका रूपमा मौलाउँदै गएको छ, जसमा न त लगानी जुटाउनुपर्छ न त प्रतिस्पर्धा नै गर्नुपर्छ । व्यावसायिक जोखिम मोल्नु नपर्ने, उद्यमशीलता नचाहिने, व्यावसायिक योजना बनाउनु नपर्ने, बिनाउत्पादन र मार्केटिङ भ्रष्टाचार मौलाउँदो उद्योग बनेको छ । भ्रष्टाचार पैसा कमाउने अचुक अस्त्र बनेको छ नेपालमा । बिनाकुनै उद्योग, बिनाकुनै गतिलो व्यापार व्यवसाय अनि बिनाकुनै अन्तर्राष्ट्रिय संस्थाको आकर्षक जागिर ती भाग्यमानी महाशयको दिन दुईगुणा रात चौगुणा यसरी आर्थिक अवस्थामा एकाएक भएको छलाङको कुरो के छ त ? कुरा स्पष्टै छ भ्रष्टाचार, भ्रष्टाचार अनि फेरि पनि भ्रष्टाचार ।

अस्तव्यस्त सहरीकरणसँगै मानिसका आवश्यकतामा भएको बढोत्तरीका कारण वैधानिक आयले मानिसलाई सन्तुष्ट राख्न सकेन । इमानजमान र सामाजिक मानमर्यादा भुल्नेका लागि जसरी पनि पैसा कमाउने मिसन पूरा गरिदिएको छ– भ्रष्टाचाररूपी उद्योगले । कालो धन्दामा अभ्यस्त उद्योगी व्यापारी, सेटिङमा पोख्त राजनीतिकर्मी र कर्मचारीका लागि भ्रष्टाचार अकुत कमाउने माध्यम बनेको छ ।

यसको एउटै रिस्क फ्याक्टर भनेको इज्जतको मात्र डर हो । पैसाका लागि इमान बिक्री गर्नेलाई त्यो पनि ठूलो कुरा भएन । सेवाग्राहीलाई दुःख दिन नहिच्किचाउने, कालोबजारी गर्न नडराउने, सामाजिक उत्तरदायित्व बोध नगर्नेहरू काले काले मिलेपछि भाले खान केले छेक्ने केले रोक्ने ? कथंकदाचित अदालतमा भ्रष्टाचारको मुद्दा लागे पनि बिगोको बढीमा चौथाइजति माहिरवाला वकिललाई चढाउन सके मुद्दा जितिन्छ भन्ने आँटले पनि भ्रष्टाचार गर्नबाट नडराउने, नधकाउनेहरू देखिन थालेका छन् हाम्रो समाजमा ।

आज भ्रष्टाचारले नछोएको र नगाँजेको कुनै क्षेत्र छैन । नेपालको परिपे्रक्षमा हेर्दा अन्यत्रभन्दा केही लाजमर्दाे क्षेत्रमा पनि भ्रष्टाचार घुसेको देखिन्छ । शैक्षिक योग्यता, उमेर र विवरण ढाँटेर सार्वजनिक ओहोदामा बहाल हुने, विश्वविद्यालयजस्तो पवित्र थलोमा पैसाको लेनदेन गरी मेरिटमा आउनेको प्राप्ताङ्क घटाउने र मेरिटमा ल्याउन प्राप्ताङ्क थपेर विश्वविद्यालयको सेवामा बहाली गराउने तथा नियमित एकेडेमिक परीक्षामा पैसा लिएर गोल्डमेडल दिनेजस्तो घृणित कार्य सायदै अन्यत्र राष्ट्रमा होला ।

आज संसारको सबैभन्दा वैभवशाली मुलुक अमेरिकाको हार्वर्ड विश्वविद्यालयले अमेरिकालाई त्यो वैभव प्रदान गर्न गरेको योगदानको सानोतिनो सिको मात्र गर्न खोजेको भए सायद हाम्रा विश्वविद्यालयमा यस्तो दुष्कर्म पक्कै हुने थिएन होला । सिक्ने–सिकाउने पवित्र सरस्वतीको मन्दिरमा यस्तो घिनलाग्दो खेल खेल्न कसरी सक्छ ? यसैगरी भ्रष्टाचारले आज हरेक क्षेत्रको अस्तित्वमाथि धावा बोलेको छ । अब पनि भ्रष्टाचारलाई माया गरिरहने, सुम्सुम्याइरहने हो भने यसले त्यो व्यक्ति र समूहलाई त सखाप पार्छ नै, सँगै निर्दाेष भावी पुस्ताको भाग्य र भविष्यलाई पनि स्वाहा पार्छ । सबै क्षेत्रको माउ क्षेत्र राजनीतिले भ्रष्टाचार सबैको दुश्मन हो भन्ने कुरा बुझ्नु जरुरी छ ।

भ्रष्टाचारले राजनीतिक र नागरिक अधिकारलाई साँघुरो बनाउँदै प्रजातन्त्र र विधिको शासनमाथि प्रहार गर्छ । सङ्गठित अपराध र आतंकवादलाई प्रश्रय दिन्छ । निर्वाचन प्रणाली खर्चिलो र भड्किलो हुन्छ । सुधारका एजेन्डाहरू बरालिने सामाजिक, सांस्कृतिक, धार्मिक, वर्गीय, भौगोलिक, जातीय, भाषिकजस्ता अनेकन नाममा समाजमा तनाव सिर्जना हुन्छ ।

मत खरिद–बिक्री हुने मात्र हैन, कुनै महत्वपूर्ण राष्ट्रिय निर्णय गर्नुपर्दा सांसद खरिद–बिक्रीका सम्भावना हुने, दलीय अनुशासन कायम नरहने स्वार्थ समूहको इशारामा निर्णय गर्नुपर्ने अवस्था आउन सक्छ । यसो हुने भएकाले भ्रष्टाचार राजनीतिको दुश्मन हो । जुन राष्ट्रको स्वाभिमान, सार्वभौमसत्ता र अखण्डतासँग प्रत्यक्ष जोडिन्छ ।

भ्रष्टाचारले सामाजिक अनुशासनको आधारभूमि कमजोर तुल्याउँछ भने व्यक्तिको नैतिक मूल्य र मान्यतामाथि निर्मम प्रहार गर्छ । समाजको गरिबीको रेखामुनि बाँच्न विवश वर्गलाई आघात पु¥याउँछ । यसले समाजमा असमानता र अन्यायको खाडल बढाउँछ । भ्रष्टाचार गर्नेको सामाजिक प्रतिष्ठा उँचो हुँदै जाने र भ्रष्टाचारप्रति सामाजिक सहिष्णुता बढाउने काम गर्छ । यसले धार्मिक, सांस्कृतिक एवं विविधताबीच सहिष्णुता कायम राख्नुको सट्टा बढावा गर्दै लैजान्छ ।

भ्रष्टाचारले अर्थतन्त्रको उद्यमशीलता मार्छ । बजारमा एकाधिकार, सिन्डिकेट, कार्टेलिङ, वस्तु सेवाको मूल्यमा अस्थिरता, कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धिको मार आम उपभोक्ताको थाप्लोमाथि थोपर्छ । उद्योग व्यापारको लागत बढाउने हुँदा लगानीको वातावरण दूषित भई विदेशी तथा स्वदेशी लगानी निरुत्साहित गर्छ । व्यक्तिको क्रयशक्तिमा ह्रास आउने हुँदा गुणस्तरयुक्त जीविकोपार्जनमा कठिन हुन्छ ।
लगानीमा कमी भए स्वतः उत्पादनमा कमी हुन गई रोजगारीमा गिरावट आउँछ । रोजगारीको कमीले बचत घट्न गई लगानी हुन नसक्ने गरी दुष्चक्र चलिरहने अवस्था सिर्जना हुन जान्छ । यसकारण गरिबी निवारण र आर्थिक समृद्धिको बाधकका रूपमा भ्रष्टाचारलाई चित्रित गरिएको हो ।
भ्रष्टाचारले राज्यका निकायको प्रभावकारिता र कार्यक्षमता घटाउनुका साथै जनविश्वास गुमाउँछ । राज्यको नीति, कार्यक्रम र योजना कार्यक्रम कार्यान्वयन गर्न राज्यका मेसिनरी असफल हुन्छन् । जसका कारण समयमा पूर्वाधार निर्माणका कार्य सम्पन्न हुँदैनन् । पुँजीगत खर्च गर्न नसक्नुको हालको अवस्था यही हो । न्यायिक निकायले मुद्दाको निरुपण गर्न धेरै समय लाग्ने, महँगो हुने, न्याय अनुभूत हुन मुस्किल पर्ने हुन्छ ।
नाफा र सुदखोरका कारण जैविक र भौगोलिक स्रोतसाधनमाथि दबाब पर्नाले जैविक विविधतामा ह्रास आउँछ । जसको फलस्वरूप जल, जमिन, जङ्गल, जडीबुटीलगायतको प्राकृतिक स्रोतको दोहन हुन गई प्रदूषणको मात्रा बढ्ने हुन्छ । मानिसको खानपिनदेखि समग्र वातावरणमा असर पर्नाले विभिन्न रोगव्याधीले सताउने, सङ्क्रमण महामारी फैलिने, औषधि उपचारमा खर्च बढ्ने, शारीरिक तन्दुरुस्तीमा कमी आउनाले उत्पादनमूलक कार्यमा संलग्न हुन नसक्ने अवस्था सिर्जना हुन्छ ।

भ्रष्टाचारले मानिसको सिर्जनशीलता र उद्यमशीलतालाई मार्छ । ठगेर, ढाँटेर र झुक्याएर खाने बानी बस्दै जान्छ । इमानमा रतिभर विश्वास हुँदैन । नयाँनयाँ ज्ञान सीप आर्जन गर्ने, नयाँ कुरा आविष्कार गर्ने अध्ययन अनुसन्धानमा ध्यान जाँदैन । भ्रष्टाचारका कारण व्यक्तिमा उद्योग व्यापार सञ्चालन गर्ने, जोखिम मोल्ने सोच पलाउँदैन । भ्रष्टाचारका कारण व्यक्तिको मानव अधिकार सङ्कुुचित बन्न पुग्छ । व्यक्तिको मौलिक अधिकार र स्वतन्त्रता उपभोग गर्नबाट वञ्चित हुन गई मानवतामाथि नै गम्भीर आघात पुग्न जान्छ ।

मानवीय मूल्य र स्वाभिमानमाथि धक्का पुग्न जाने हुँदा भ्रष्टाचारलाई मानवताविरुद्धको अपराध पनि भन्ने गरिन्छ । भ्रष्टाचारकै कारण पृथ्वीमा पशुभन्दा पनि तल्लो श्रेणीमा मानिसको स्थान खस्कन पुगेको छ । पशुले भ्रष्टाचार गर्दैन र आफू अघाएपछि भोलिलाई साँचेर राख्दैन तर हामी ?
हालै सम्पन्न स्थानीय तहको निर्वाचन समग्रमा शालीन तरिका नै सम्पन्न भयो । तथापि जय, पराजय, जित, हार स्वाभाविक प्रक्रिया हो । कुनै दलले कतै जिते कतै हारे । यही सेरोफेरोमा राजनीतिक चासो राख्नेहरूबीच फलाना दलले फलाना दलको पकड क्षेत्र क्लिन स्विप ग¥यो । फलाना पार्टीले आफ्नो पकड क्षेत्र गुमायो । फलाना दलले शानदार आफ्नो वर्चस्व जमायो ।

फलानो क्षेत्रमा दलविहीन उम्मेदवारले नसोचेको बाजी मा¥यो । यस्तै यस्तो चुनावी भाष्यहरू अझै केही दिनसम्म हामीले सुनिरहनु पर्नेछ तर सबैले बुझ्नुपर्ने कुरा के छ भने आउने दिनका चुनावमा एक्सन ओरिएन्टेड उम्मेदवार बनाउन दलहरू चुके भने आफैँ क्लिन स्विप हुनुपर्ने लक्षणहरू देखा परेको छ । यसर्थ दलहरूले भ्रष्टाचारलाई माया गरुञ्जेल मतदाताले तिनलाई माया गर्ने छैनन् । भ्रष्टाचारको क्लिन स्विपसहितको समृद्धिको स्पष्ट खाका दिन नसक्नेको राजनीतिक भविष्य संकटमा पर्ने निश्चित छ ।

यसरी बहुरङ्गी भ्रष्टाचारको बहुआयामिक असर र प्रभावबाट मुक्त गर्न राजनीतिक नेतृत्व नै अघि सर्नुपर्छ । किनकि राजनीति सबैको मुहान हो । खोला सङ्लो हुन मुहानै सङ्लो हुनुपर्छ । सरकारमा बस्नेहरू राजनीतिकर्मी नै हुने भएकाले आफ्ना शासन प्रशासनका अवयवहरूलाई उचित परिचालिन गर्ने, नियन्त्रण गर्ने र निगरानी राख्ने कर्तव्य र दायित्व पनि राजनीतिज्ञकै हो ।

बिहिबार, २६ जेठ, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर