उज्यालो पर्वको उल्लास ! हार्दिक शुभकाना !

 सम्पादकीय

ढक्कमक्क सयपत्री र झिलिमिली बत्तीको पर्व तिहारको रमझमले यतिबेला सबैतिरको माहोल रंगीन बनेको छ । आजदेखि यसमा देउसी र भैलोका सुरिला भाका थपिएपछि सबैभन्दा उज्यालो मानिने पर्वको खुसीयाली झनै दोब्बर हुनपुग्छ । हामी हाम्रा समस्त पाठक, लेखक, विज्ञापनदाताहरुमा उज्यालो पर्व तिहारको हार्दिक शुभकामना प्रकट गर्दछौं । तिहारको उज्यालो जस्तै समस्त नेपालीजनको अनुहारमा खुसीको उज्यालो फैलियोस् !

तिहार भन्ने बित्तिकै देउसीभैलोको उल्लास अन्योन्याश्रित रुपमा जोडिन्छ । मौलिक संस्कृतिको अभिन्न पाटो यही देउसी भैलोलाई पछिल्लो समय सरकारले अनेक अड्चन लगाउँदै आएको छ । कतै आठ बजेसम्म, कतै नौ बजेसम्मको उर्दी लगाउने गरेको छ । वर्षमा एकपटक आउने तिहारमा सर्वसाधारणले रमाउने देउसीभैलोमा यस्तो अड्चन जरुरी छैन । हो, स्वास्थ्य सजगता भने आवश्यक छ । यद्यपि साँझैमा देउसीमा प्रतिबन्ध लगाउने उर्दी आफ्नो मूलभूत दायित्वबाट सरकार उम्किनलाई हो ।

दसैं–तिहार, छठ इद जस्ता ठूला पर्वहरुमा निश्चय नै सुरक्षा चुनौती बढ्छ । त्यसको सामना गर्न राज्यको सुरक्षा अंग तत्पर बन्नुपर्छ । बरु प्रहरीले समुदायसँग सहकार्य गरेर सुरक्षा व्यवस्था दर्बिलो पार्नसक्छ । त्यति गरेपछि जतिबेलासम्म देउसीभैलो खेल्न दिए पनि फरक पर्दैन । तर, जनता रमाउने कार्यक्रममा अंकुश लगाएर राज्य आनन्दले बस्न खोज्ने प्रवृत्ति ठीक होइन ।
तिहारमा अधिक प्रयोग हुने प्रज्ज्वलनशील वस्तु, विष्फोटक पदार्थ, जुवातास जस्ता विकृत घातक खेलमा बरु सरकारी अंकुश जरुरी छ । मादक पदार्थको अनियन्त्रित प्रयोगमा रोक लगाउने उपायको खोजी गरिनु पनि उत्तिकै आवश्यक छ । तर, सरकार गर्नैपर्ने काममा भन्दा नगरे पनि हुने विषयमा बढ्ता चिन्तित देखिन्छ । यो शैली सुधारेर सर्वसाधारणलाई निर्धक्क चाडपर्वको उल्लासमा रमाउन आह्वान गर्न सरकार कहिले सक्षम हुन्छ ? त्यो दिन मात्रै सरकारलाई सुरक्षा दिन सफल सरकार ठानिनेछ ।

हाम्रा तीन वटै तहका सरकारहरु नागरिक खुसीका लागि , नागरिक सेवाका लागि बनेका संस्थाहरु हुन् । तिनले जनताका दैनिक गतिविधिलाई अंकुश होइन, अझ स्वतन्त्र तुल्याउन भूमिका निर्वाह गर्नुपर्छ । तिहारको झिलिमिली जत्तिकै उज्यालो यो देशका नागरिकको मुहारमा छल्कियोस् ! तिहारको हार्दिक शुभकाना ।

शुक्रबार, १९ कार्तिक, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर