भरत गुरागाईँ बर्बरीक
प्रिय कवि मित्र तथा साहित्यिक अभियन्ता रोहिणी रसिकजी ! साहित्यिक अभिवादन । अचम्मित छु अहिले, जब तपाईँको स्टाटस देखें फेसबुकमा, जो मसँग जोडिएको छ । तसर्थ केही लेख्न बाध्य छु ।
साइकल राइडर्स ग्रुप, सुन्दरहरैंचाको मलाई सम्मान गर्ने आशयको तपाईँको स्नेहपूर्ण स्टाटसले मेरो मनभित्र हज्जारौँ भावनाहरु पैदा गरेको छ । लगत्तै विराटचोकबाट छविजी, के.पी.जी र यादवजीको फोन आयो, कुरो सत्य रहेछ ।
यो आसन्न सम्मानको सन्दर्भमा खुसी हुँदै बुलुकबुलुक हुँदै उफ्रनुपर्ने केही छैन । तर, म जस्तो भुइँमान्छे पनि सम्मानित हुने कुरो चाहिँ अचम्मकै छ । मान्छे र समूहभित्र अझै पनि विवेक ज्युँदै रहेछ जस्तो लाग्न थालेको छ ।
रोहिणीजी !
खासमा मैले सम्मान वा पुरस्कार पाउने गरी त्यस्तो उधुम काम केही गरेको छुइनँ । म भन्दा अग्रज यति धेरै स्रष्टा र अभियन्ता हुनुहुन्छ नि, उहाँहरु पछि पर्नु वा पारिनु भएको छ । सरोकारवाला ठाउँबाट उहाँहरुको योगदानलाई निर्लज्जतापूर्वक उपेक्षा गर्ने कर्महरु भएका छन् । म ती आदरणीय अग्रजहरुलाई यिनै शब्दमार्फत सम्मान गर्न चाहन्छु ।
मित्र !
साइकल राइडर्ससँग नाम जोडिएका साथीहरुले मेरो नाममा किन यस्तो निर्णय गर्नुभयो त्यो स्पष्टिकरण त उहाँहरुसँगै होला । तर, मेरो नाममा जुन निर्णयको कुरा बाहिर आएको छ, खासमा त्यो सम्मान मैले पाउने सम्मान नभई श्रद्धेय अग्रजहरु, नाटकका कलाकारहरु, अनुज पुस्ताका लेखकहरु, सिंगो भाषा साहित्य, कला र संस्कृति क्षेत्रको सम्मान हो । त्यो तपाईँले पनि पाउने सम्मान हो, समग्रमा उपेक्षितहरुले पाउने सम्मान हो र स्वयं आयोजक नै सम्मानित हुने सम्मान हो भन्ने मलाइ लाग्छ । मैले आयोजकको त्यो भावनालाई नासोको रुपमा लिएको छु ।
रोहिणीजी !
अब मलाई एकछिन रुन दिनुस् । हुन त राज्यकोष लुट्नेहरु आँसुको शक्ति र भाषा बुझ्दैनन् । ठ्याक्कै ४० वर्ष भएछ मेरो शरीरभित्र राजनीति छिरेको, पार्टी छिरेको । भाषा, साहित्य, कला र संस्कृतिले सवार गरेको समय पनि त्यति नै भयो । तर, सरकार र सत्तालाई मैले कहिल्यै आफ्नो बनाउन सकिनँ । षड्यन्त्र, छलछाम, जालझेल र खेलोमेलो ( प्रपञ्चको शिकार म र हामीहरु भइरहेका छौँ । सत्ता खुद यो कर्ममा निरन्तर लागिरहेछ । मलाइ लाग्छ, पुरस्कार र मान–सम्मान व्यक्तिको निगाहले दिने नभई ‘मापदण्ड’को आधारमा दिनुपर्छ । अनि पुरस्कार पाउने व्यक्ति नभई उसको ‘कर्म’ हुनुपर्छ । अहिले पनि त यस्ता कुराहरुमा सामन्ती संस्कार ज्युँदो छ । मलाइ लाग्छ, स्रष्टाहरुलाई बेइज्जती गर्ने जुन नवीन संस्करण सत्तासँग देखिएको छ । यसको विपक्षमा निकटमा नै बिद्रोह हुनेछ, प्रकारान्तरले मलाई यो गणतान्त्रिक मुलुकको सांस्कृतिक सहिद हुने रहर छ । भयो, सरकार र सत्ताका कुरा पछि गरौँला ।
रोहिणीजी !
म सम्मानित हुने कुराले तपाईँभित्रबाट उत्सर्जित खुसीको आभा तापिरहेको छु अहिले । जस्तो कि जाडो महिनामा लगाइएको पुराणमा प्रज्वलित लाखबत्तीको न्यानोले जो कोही पुलकित हुन्छ । साथीहरुले सम्मानको नाममा दिनुहुने एउटा फूलको थुङ्गोको अधिकृत तपाईं र तपाईँहरु नै हो भन्ने कुरामा कुनै अर्काे मत राख्दिनँ । फेरि पनि मलाई के लाग्छ भने मैले पुरस्कार वा सम्मान पाउने बेला नै भएको छैन, अझै धेरै काम गर्नुछ । अनुज पुस्ताका धेरै धेरै साथीहरुलाई यो अभियानमा अगाडि बढाउन साथ सहयोग गर्नुछ । काम गर्दागर्दै पाकेका, थाकेका र उपेक्षित राष्ट्रिय सम्पत्ति र गौरव स्वरुपका अग्रजहरुलाई आत्मसम्मानको ताज लगाउनु छ । मेरो र हाम्रो आन्दोलनको एउटा महत्वपूर्ण पक्ष यो हो र हुनुपर्छ ।
प्रिय कवि !
म कुनै कारणवश २ दिन सामाजिक सञ्जालबाट अलग हुँदा चिन्ता तपाईँलाई लाग्छ । तपाईं र मबीच यो भन्दा गहिरो मित्रताको प्रमाण के हुनसक्छ ? हामी सचेत हुन जरुरी छ सिर्जना रत्ति पनि नगर्ने र गुट फुटको खेलोमेलोमा अभ्यस्त वरिष्ठहरुलाई हामी पालनपोषण गरेर बसिरहेका छौँ यसमा मेरा पनि कमजोरी छन् । स्वीकार गर्छु । यता हामीसँगै अभियानमा जोडिएका सबै प्रिय साथीहरुको अनुहार अहिले यहीँबाट विनयी आँखाले झल्झली देखिरहेको छु । तर, कसैको नाम लिँदा कसैको नाम छुट्ने डरले सचेत पनि छु ।
रोहिणीजी !
केन्या भन्ने देशका मेरा एकजना साथीले भन्नुभएको एउटा कथन बारम्बार सम्झिने गर्छु । उहाँ भन्नुहुन्थ्यो..‘तपाईं बिस्तारै जाँदा पनि हुन्छ, दौडेर जाँदा पनि हुन्छ । त्यो तपाईँको स्वतन्त्रता हो ः तर, ख्याल गर्नुस् बिस्तारै जानुहुन्छ भने तपाईँसँग साथीहरु हुनेछन्, दौडेर जाने हो भने तपाईं एक्लै हुनुपर्छ ।’
प्रिय कवि !
म भाषणबाज हुँ, तपाईँसँग त छन्दको अनुपम सुगन्ध छ । तपाईंभित्र वशिभूत त्यो सुगन्धले साहित्यिक धरा आलोकित बनोस् ।
तपाईँको शुभेच्छुक.. बर्बरीक ।