गणेश लम्साल
कलावती ७० वर्ष नाघिन् । श्रीमानको मृत्युपछि एक्ली जस्तै छन् । रोगले थलिएकी छन् । नातिनातिनाले मन हल्लाउँदैनन । चराहरु उनका कुरा गर्ने साथी हुन् । चराहरुलाई चारो नदिइ उनलाई खाना रुच्दैन । तर अचेल धेरै चरा आउँदैनन् । एउटा बुढो काग मात्र आइरहन्छ । अनि कलावतीका छोरा बुहारी योगन्द्र र चन्द्रिका कृषक हुन् । खुब मेहनत गर्छन । उनीहरुका एक छोरी एक छोरा छन् । तर, उनीहरु सधैँ अनिकाल भोग्न बाध्य छन् । दुःख गरेर अन्न उब्जाउँछन्, उचित मोल कहिल्यै पाउदैनन् । सबै विचौलेले खान्छ । महंगो मल र वीऊ किनेर खेती गर्नुपर्दा उनीहरु झन् गरिब हुँदै गएका छन् । उनीहरुकी एक छोरी स्टाफ नर्स पढदैछिन् । उनको स्कुलको र नागरिकतामा नाम फरक हुन्छ । सच्याउन सरकारी कार्यालय, वडा कार्यालय धाउँछन तर हैरान हुन्छन् । घुस खुवाएर काम बनाउन बाध्य हुन्छन् ।
अर्कोतिर सबैतिर दलाली हाबी छ । कागजपत्र मिलाउन, जग्गा किनबेच गर्न, सवारी लाइसेन्स लिनदेखि सामान्य काममा पनि पैसा र भनसुन विना केही हुँदैन । गाउँगाउँमा सिँहदरवार आएको छ । निर्माणमा हानाथाप छ । कोही भ्युटावर बनाउन कोही प्रतीक मूर्र्ती बनाउन अनि कोही उपभोक्ता समितिमार्फत महत्वाकांक्षी योजना बनाएर भ्रष्टाचार गर्न बाध्य छन् । मेयर उपमेयर मात्र नभएर जनप्रतिनिधिहरुबीच काट्टोछिनो छ । तर, सिमान्तकृत, गरिब दलित समुदायका नागरिकको हालत जस्ताको तस्तै छ । अनि योगराजकी आमा रोगले थला पर्छिन् । सरकारी अस्पतालमा डाक्टर हँुदैन । एम्बुलेन्सले महँगो अस्पतालमा लान्छ । ऋण काढेर लाखौं तिर्छन् । आमा बाँच्दिनन् । आमा मरेपछि बुढो कागलाई पानी दिन पनि कोही हुँदैन बुढो काग पनि मर्छ ।
विराटनगर बसपार्क पश्चिम नजिकै रहेको नर्थसाउथ कलेक्टिभ सेन्टरको कार्यालयमा शुक्रबार दिउँसो शिल्पी थिएटरका कलाकारहरुले ५० मिनेट खुल्ला मञ्चमा आफ्नो अभिनय प्रदर्शन गरेका थिए । खुल्ला नाटकको शीर्षक थियो, ठूला माछा साना माछा । समसामयिक यथार्थपरक विषयमा तेह्र जना कलाकारले गरेको जिवन्त अभिनय उपस्थित नामी र दामी दर्शकहरुले मात्र नभएर मैले पनि आँखा नझिम्क्याई एकटकले हेरेँ । कलाकारको अभिनयले कसैका आँखा रसाए । कोही निक्कै भावुक भए । शिल्पी थिएटरको प्रदेश १ मा नाट्य यात्राको पहिलो प्रस्तुति हेरिसकेपछि नेपाली काँग्रेसका नेता शेखर कोइरालाले प्रतिक्रिया दिएका थिए, ‘अन्यतै सान्दर्भिक नाटक बनाउनु भएको रहेछ हो यसैगरी खबरदारी गर्ने कलाको हामीलाई खाँचो छ ।’ माओवादी केन्द्र मोरङका संयोजक गणेश उप्रेतीले पनि नाटक हेरेर आफूलाई निक्कै भावुक बनाएको सुनाउँदै भने, ‘नाटकले हाल सबै क्षेत्रमा भैरहेको भ्रष्टाचार विकृति र विसंगतीलाई उधिनेको छ भ्रष्टाचारबिरुद्ध खवरदारी गर्न नाटक सफल छ ।’ नेता कोइराला र उप्रेतीलाई मात्र नभएर पहिलोपटक मञ्चन भएको नाटक र कलाकारको अभिनय अनि विषयले सहभागी तीन सय बढी मानिसहरु पनि उसैगरी भावुक देखिन्थे ।
शिल्पी थिएटर काठमाडौले ४ कात्तिकदेखि १७ सम्म प्रदेश १ का विभिन्न जिल्लामा ठूला माछा साना माछा नामक खुल्ला नाटक यात्रा सुरु गरेको छ । सोही क्रममा पहिलो नाटक विराटनगरमा पहिलो पटक साहित्यकार, नेता, पत्रकार, नागरिक समाजका अगुवाहरु सबैलाई बोलाएर प्रर्दशन गरेको हो । नाटकको उद्देश्य देशमा व्यवस्था परिवर्तन भएपनि बास्तविक अधिकारका दाबेदारहरुले केही पाउन नसकेको, कृषकहरु अझै चरम शोषणमा परिरहेको, विकासका नाममा प्राकृतिक विनाश झन् बढेर गएको अनि गाउँ गाउँमा सिँहदरवार आए पनि सँगसँगै भ्रष्टचार झन् मौलाएर गए पनि विरोधका आवाजहरु मौन रहेकोले युवा शक्ति र नागरिक समाज अनि राजनीतिक दलहरुलाई समेत खवरदारी गर्न नाटक यात्रा सुरु गरेको निर्देशक घिमिरे युवराजले बताए । उनले भने ‘व्यवस्था परिवर्तन गराउन दल र नेताहरुले कलाकारहरुलाई खुब प्रयोग गरे तर सत्ता प्राप्त भैसकेपछि कसैले वास्ता गरेनन् । सबै आफनै स्वार्थमा मस्त रहे यसैले सुशासनमा खवरदारी गर्न हामी कलाकार नाटक मार्फत जुर्मुराएका हांै ।’ निर्देशक घिमिरेका अनुसार ठूला माछा साना माछा झापा, मोरङ र सुनसरी प्रत्येक जिल्लामा ७ सात स्थानमा खुल्ला मञ्चन गरिनेछ ।
नाटकका परिकल्पनाकारसमेत रहेका निर्देशक घिमिरे युवराजले भने झैं ‘ठूला माछा साना माछा’ खुल्ला नाटकमा स्थानीय पालिकाहरुमा भएको भ्रष्टाचार, जनप्रतिनिधिहरुको झगडा, अस्पताल, ठेक्कापट्टा, निर्माण व्यवसायको छिनाझप्टी, सरकारी कार्यालयहरुको सेवामा भैरहेको खुल्ला घुसखोरीदेखि बिचौलियाको मारमा परेका कृषकहरुको यथार्थ कथा प्रस्तुत गरिएको छ । स्थानीयलाई बुभ्mन सहज होस भनेर नेपाली, मैथिली, उराँव तीन वटा भाषा नाटकमा प्रयोग गरिएको छ । र, नाटकमा पवित्रा खड्का, रेनुका कार्कीढोली, सविन कट्टेल, संगीता उराँव, मानहाङ लावती, असिम खनाल ज्योती पोख्रेल, रविन परियार गोविन्द ओली, ज्याक बराल, हिमाल भुजेल, संजीत थुलु राईले जीवन्त अभिनय गरेका छन् ।
नाटक ‘ठूला माछा साना माछा’ हेरिसकेपछि मैले निकालेको निष्कर्ष छ, ‘हामी सबै बिचौलिया भएका छांै । कर्तव्य मात्र नभएर मानवीय संवेदना पनि गुमाएका छौं । सबै पार्टी एकै जस्ता भएका छौ । हामी सबैमा एउटै भूत सवार छ, पैसा कमाउने अनि पावर बनाउने । धेरैभन्दा धेरै विलासी भौतिक सुविधामा रमाउने । युवाहरुले राजनीतिको लक्ष्य नै बार्गेनिङ र बाहुबलीहरुको हली हुनु हो भन्ने बनाएका छन् । आदर्श, नैतिकता, विरोधको स्वर हामी सबैको हराएको छ । हाम्रो गाउँ, ठाउँ जहाँ जे भए पनि हामी आफ्नो स्वार्थमा रमाउँछौ र उत्पीडन विकृति विसंगतिहरुमा रमाएर ताली बजाउँदै टुलुटुलु हेरिहरन्छौं । शिल्पीको ‘ठूला माछा साना माछा’ नाटक जस्तै । तर, हामीले बुझेका छैनौं, मौनता नै कुशासनको मुख्य कारण हो । शान्त तलाउ नै दासताको प्रतिक होे । अझै हामीले बुझ पचाइरहेका छौं । जबसम्म हामी बोल्दैनौ, भ्रष्टाचार बेथिति झन् मौलाइरहने छ । हामी झन् झन् गरिब भइरहने छौं । मात्र व्यवस्था परिवर्तन गरेर केही हुनेवाला छैन । यसैले शिल्पीका कलाकारहरुको जागरण अभियानलाई हामीले साथ दिनुपर्छ । भ्रष्टाचारविरुद्ध एक भएर हल्ला बोल्न थाल्नुपर्छ ।