प्रेम मिभक लिम्बू
विषय प्रवेशः
पार्टी निर्माण, सिद्धान्त, विचार, दृष्टिकोण र एजेन्डाको आधारमा गरिन्छ । यसका लागि निर्माण गर्ने पृष्ठभूमि पनि आवश्यक हुन्छ । निर्माण भइसकेपछि पनि एकसाथ दुईवटा कुरा जोडिएका हुन्छन्ः एकता र विद्रोह । यी कुरा विचार, एजेन्डा र निष्ठाको आधारमा हुनुपर्छ । तर, हाम्रो देशमा यसरी अभ्यास भएको छैन । बिल्कुल विपरित तरिकाले प्रयोगमा आएको पाइन्छ । एकता निष्ठा, बिचार र एजेन्डा मिलेमा, त्यसैको आधारमा गरिन्छ । विद्रोह पनि विचारलाई निषेध गरेमा, गलत कुरालाई संस्थागत गरेमा र सामाजिक सम्बन्धलाई न्यायपूर्ण बनाउन पहल नगरेमा गरिन्छ । तर, हाम्रोमा पद प्रतिष्ठाको लागि सबै हर्कत गरिन्छ । बेलुका एउटा अडान राख्नेले चाहेको अवसर, लाभको पद, अनि स्वार्थ मिलेमा बिहान अडान परिवर्तन भएको पाइन्छ । यस्ता खालका क्रियाकलाप बितेको केहि समयदेखि नेपाली राजनीतिमा घिनलाग्दो तरिकाले प्रकट भएका छन् । यसलाई कसरी आस्थाको राजनीति मान्न सकिन्छ ? यस्तो क्रियाकलापले गर्दा, निहित स्वार्थ पूरा गर्नको लागि, केहि नमिले पनि एकता गर्न तयार हुने, अनि थोरै स्वार्थमा ठेस लागेमा एकता भंग गर्न हतार गर्ने नेपाली राजनीतिको विशेषता बनेको छ । यो लोकतन्त्रका लागि हानिकारक छ । यो लोकतन्त्र माथिको मजाक हो । प्रस्तुत टिप्पणीमा लोकतन्त्रको मजाक गर्न मिल्दैन भन्ने मेरो सुझाब रहेको छ ।
डबल नेकपा निर्माण
प्रस्तावना नै गलत थियो । आफ्नै पृष्ठभूमि भएका पार्टीहरु थिए । गतिलो इतिहासको समीक्षा जरुरी थियो, त्यो गरिएन । बैचारिक एकता कायम गरिएन । साझा धारणा बनाएर न्यूनतम् कार्यक्रम पनि बनेन । हावादारी एउटै जेटको दुईजना बिमान चालक भएको घोषणा गरियो । यसो नगरेपछि आफूलाई गतिलो सम्झने काम भयो । भावनात्मक एकता भएन । एकअर्काको इतिहासलाई बुझ्ने र सम्मान गर्ने काम भएन । यस्तो हर्कतले नयाँ सामाजिक कार्यभार पुरा गर्न, गरिएको एकताको महसुस माथिदेखि तलसम्म कसैलाई भएन । तिक्तता हुँदाहुँदै पनि जनताले कम्युनिष्ट पार्टीको एकतालाई स्वीकारेको देखिन्छ । मतदान गरेर प्रमाणित गरिदिए । मतदाता नेपाली जनताले आफ्नो महानता प्रस्तुत गरेका छन् । जनताको महानताको अगाडि नेताहरुको क्रियाकलाप तुच्छ देखिएको छ ।
चुनावी सफलतापछि जब नेताहरु पक्ष र विपक्षमा उत्रिएका छन् । जनमतको अपमान सुरु भएको छ । लोकतन्त्रमा सबैभन्दा ठूलो सफलता भनेको बहुमत हो । बहुमत मात्र नभएर संसदीय राजनैतिक इतिहासमा बिरलै सफलता प्राप्त हुने झन्डै दुईतिहाई मिलेको थियो । यो सफलतापछि नेताहरुमा भ्रम पैदा भएको छ । लोकतन्त्रमा नीति र विधिभन्दा पनि व्यक्तिलाई प्रमुख र महत्वपूर्ण बनाइएको छ । सबै सफलता व्यक्तिलाई अगाडि सारेर, देखाएर भएको हो । नीति, कार्यक्रम र लक्ष्य उद्देश्यको कारणले होइन । अराजनीतिक तर्क गरिएको छ । सबैभन्दा ठूलो लोकतन्त्रको उपहास भएको छ । यसको समीक्षा इतिहासले गर्नैपर्छ । सरकारको नेतृत्व गरेको तत्कालीन प्रधानमन्त्री स्वयंले दुईपटक संसद विघटन गरे । संविधानमा नभएको अधिकार प्रयोग गरियो । यस्तो क्रियाकलापले व्यवस्थाप्रति नकारात्मक मनोविज्ञान पैदा गरेको छ ।
तत्कालीन प्रधानमन्त्री स्वयंको जवाफ सरकारलाई काम गर्न असहयोग भयो, त्यसैले अरुलाई सरकार सुम्पिन सकिन भन्ने छ । बाध्य भएर यस्तो निर्णय लिन पुगेको उनको भनाइमा संवैधानिक व्यवस्था अनुसार सहमत हुन सकिन्न । सरकारले चाहेका सबै ‘एस मेन’हरुले नियुक्ति पाएका थिए । ऋण बढाएकै थिए । सबै गतिविधि गर्ने छुट थियो । रोजेका मान्छेलाई राजदूत र मन्त्री बनाएकै थिए । कहिल्यै संसदबाट अनुमोदन गरिएन, अनि कसरी काम गर्न पाइएन भन्ने सुविधा मिल्छ ? अहिलेको व्यवस्थामा प्रधानमन्त्री आफैं बहुमत हो । तथ्य र सत्य कुरा उनको स्वेच्छाचारी हर्कतको कारणले संसदमा बहुमत गुम्यो । वैधता गुम्यो । वैधता गुमेपछि पनि सरकार चलाउन पाउनुपर्छ भनेर दाबी गर्नु मजाक थियो ।
नेकपा विभाजनपछिको अवस्था
दुबैतिर पूर्व एमाले र पूर्व नेकपा (माओवादी केन्द्र) नेतादेखि कार्यकर्तासम्म चरम अवसरवादी चरित्र देखापरेको छ । एमाले तर्फका, दृष्टिकोणको लडाईँ लडेको ठूला कुरा गर्ने नेताहरु आफूले चाहेको पद पाउने बितिकै राजनैतिक आत्मसमर्पण गरेका छन् । त्यसैले उहाँहरुको लडार्इँ नक्कली थियो, सार्वजनिक रुपमा घोषणा गर्नुपर्छ । नितान्त पद र प्रतिष्ठा झगडा थियो । विचार र दृष्टिकोणको लडार्इँ थिएन । नभए मूल्य मान्यता र आदर्शको राजनीति समाप्त भएको ठहरिनेछ । कठोर बन्न सक्नुपर्छ, यसो गरिएन भने नेताहरुको स्वेच्छाचारी चरित्र अन्त्य हँुदैन । हामीले जे गरे पनि कार्यकर्ता र जनताले पत्याउँछन्, नेतामा अहंकारी मनोविज्ञान विकसित हुनेछ ।
एउटा समूह एमालेबाट विभाजित हुन पुगेको छ । नेपालको राजनैतिक इतिहासलाई नियाल्दा दुईवटा धरातलबाट विभाजित भएको पाउँछौ । पहिलो धरातल, पार्टी नेतृत्व देश काल परिस्थिति अनुसार ऐतिहासिक जिम्मेवारी पुरा गर्न तयार नहँुदा विभाजित भएको पाउँछौ । यसरि ऐतिहासिक जिम्मेवारीलाई पूरा गर्न विभाजित भएको राजनीति सफल नै छ । जस्तै बिद्रोहसहित बीपीले नेपाली कांग्रेस तयार गरेका हुन् । आजसम्म पनि हरेक लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । नेपाली राजनीतिमा उच्च योगदान छ । अर्काे बिद्रोह भनेको २०५२ सालमा प्रचन्डको नेतृत्वमा भएको थियो । पार्टी नेतृत्व कहिल्यै समाजको प्रमुख अन्तरबिरोध हल गर्न तयार भएन । त्यसैले हल गर्ने उदेश्यका साथ संगठन विभाजित भएको थियो । ऐतिहासिक जिम्मेवारी पुरा गर्न सफल भएको छ । मुख्य गरेर २५० वर्ष भन्दा धेरै इतिहास बोकेको सामन्तवादको प्रतिक राजतन्त्रलाई समाप्त पार्न महत्वपूर्ण योगदान गरेको छ । यो दुई बिद्रोहहरु नेपाली राजनैतिक इतिहासमा कोशेढुङ्गा साबित भएका छन् । दोस्रो धरातल, नेताहरु लोभीपापी भएर सगठन विभाजित हुने गरेको छ । यस प्रकारका विभाजनहरु, अलग सगठन निर्माण गर्दै बिलय भएका छन् ।
जस्तै २०५४ सालमा एमालेबाट विभाजन भएर माले निर्माण भएको थियो । एउटा चुनाबको सामना गरेर बिलय भएको थियो । अर्काे हालका बहालवाला प्रधानमन्त्री स्वयंको नेतृत्वमा निर्माण गरिएको नेपाली कांग्रेस (प्रजातान्त्रिक) थियो । यसले एउटा चुनाबको पनि सामना नगरिकन बिलय भएको थियो । नेपाली राजनीतिमा लोभीपापी भएर विभाजन गरिएको राजनीतिको बढी चर्चा हुने गरेको छ । विभाजनको राजनीति सफल हँुदैन,आदि इत्यादि भनेर । त्यसैले अहिलेको एमाले विभाजन, ऐतिहासिक जिम्मेवारी पूरा गर्नलाई हो, या लोभीपापी भएर हो । निश्कर्ष निकाल्न अलि हतारो हुनेछ । राजनीतिक भविश्यमा लोभीपापी भएर संगठन विभाजन गरेको प्रमाणित भएमा लोकतन्त्रमाथिको भद्दा मजाक नै हुनेछ । नयाँ निर्माण भएको पार्टी नेतृत्वले अहिलेदेखि नै संवेदनशील हुनु जरुरी छ ।
पूर्व नेकपा (माओवादी केन्द्र) तर्फका नेता र कार्यकर्तामा माथिदेखि तलसम्मै उच्च स्तरमा अवसरवादी चरित्र देखिएको छ । सेवा सुविधा र अवसर पाएमा सबैकुरा भूलिदिने चरित्र देखा परेको छ । नेताहरुको तहमा मन्त्री पाएपछि, आफ्नो इतिहास, नीति–कार्यक्रम र राजनैतिक एजेन्डा केहि होइन, लाभको पद सबथोक सम्झिने समस्या देखाप¥यो । यसरी नेताहरुको राजनैतिक चरित्रलाई नियाल्दा नीति तथा कार्यक्रम र एजेन्डा सहायक र लाभको पद र अवसर प्रधान बन्न पुगेको छ । यो चरित्र घोर अवसरवादी छ । कार्यकर्ताको तहमा भीडका आधरमा संगठनमा बस्ने निर्णय लिएको देखिन्छ । सबैकुरा बिर्सेपछि, लिने निर्णय आफंैमा गलत छ । स्थानीय स्तरमा तह अनुसार बार्गेनिङ गरेको पाइएको छ । सदस्यदेखि विभिन्न पदमा मोलमोलाइ चलेको छ । इतिहास समाप्त पारेर गरिने राजनैतिक लेनदेनको सिलसिला अवसरवाद नै हो । असंगठित र अवसरवादी चरित्रले लोकतन्त्रलाई समाप्त पार्दछ । त्यसैले सच्चा र ईमान्दार नेता र कार्यकर्ताले पहिला नीति कार्यक्रम र एजेण्डा बचाउनु प¥यो, त्यसपछि क्षमता र योग्यताको आधारमा संगठनले तोकेको जिम्मेवारी पूरा गर्नुप¥यो । अन्तमा कमिटीले लिएको निर्णयको आधरमा राजनैतिक अवसरहरु लिनुप¥यो । पाएको अवसरलाई देश र जनताको हितमा सदुपयोग गर्नुप¥यो । यो विधिबाट लोकतन्त्रको संस्थागत विकास गर्न सकिन्छ ।
विभाजित भएका पार्टीहरु बाहेक अन्य दल पनि नराम्रोसँग तरङ्गित भएका छन् । जनता समाजवादी पार्टी विभाजित भएको छ । मुख्य रुपमा जसपामा मिश्रित राजनैतिक चरित्र देखापरेको छ । संसद बचाउन मतदान गरेको देखिन्छ । अवसर र सुविधाको नेतृत्व कुन पक्षले गर्ने भनेर झगडा भएको देखिन्छ । यहि कारणले विभाजित हुनपुगेको अनुमान गर्न सकिन्छ । राजनैतिक जिम्मेवारी र समाज परिवर्तनको उदेश्य बोकेको पार्टी विभाजन हुनु दुःखद छ । लोकतन्त्रका लागि राम्रो संकेत होइन । कांग्रेसले पनि आन्तरिक झगडाको बिचबाट सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । यो अवसरलाई बिगतमा आफ्नो छविमा लागेको दागलाई मेटाउन सदुपयोग गर्नु पर्ने हो । यस्तो संकेत देखिदैन । बिगतको छविलाई नै निरन्तरता दिएमा लोकतन्त्रको लागि दुर्भाग्य ठहरिनेछ ।
अन्तमाः
कुनै पनि राजनैतिक दलले संविधानले नदिएको अधिकार प्रयोग गर्ने दुस्साहस नगरांै । संविधानलाई छिद्र पार्नु भनेको प्रतिगामी चरित्रलाई मलजल गर्नु हो । नेपालमा पटक–पटक व्यवस्था परिवर्तन भएको छ । लामो समयदेखि एउटै संरचनामा जनताको अवस्था गुज्रिएको छ । यसलाई बदल्नु पर्ने छ । पहिलो आर्थिक संरचना फेर्नु पर्छ, दलाल पँुजीको कारणले नेपालको अर्थतन्त्रको चरित्र पछौटेपन छ । यसको अन्त्य जरुरी छ, यसका लागि वित्तीय एकाधिकार अन्त्य हुनुपर्छ, औधोगिक पुँजीको विकास गर्न जरुरी छ । जसले जनताको छोराछोरीलाई रोजगारी सिर्जना गरोस् । राष्ट्रिय पँुजीको विकास गरोस् । राजनैतिक नेतृत्वले मागेर धनी हुने सपना त्याग्नु पर्छ । विदेशी शक्ति राष्ट्रको दलाली गरेर मुलुकको अर्थतन्त्रलाई तहसनहस पारेर आफ्नोे स्वार्थसिद्ध गर्ने मानसिकता त्याग्नु पर्छ । यति भएपछि राष्ट्रिय अर्थतन्त्र वा पुँजी निर्माण गर्ने बाटो खुल्ने छ ।
सामाजिक रुपमा मान्छे–मान्छे बिचको सम्बन्ध अन्यायपूर्ण छ, यसलाई पनि सांस्कृतिक र आर्थिक परिवर्तनको माध्यमबाट न्यायपूर्ण बनाउन सकिन्छ । लामो समयदेखि पुरातन सोचले निर्माण गरेको सस्कृतिले निरन्तरता पाएको छ । सांस्कृतिक परिवर्तनको जरुरी छ । समाजका सबै पाटोमा मुख्य गरेर मानवीय सम्बन्धलाई उचनींच कायम गर्ने संस्कृति छ । सबै पाटोमा एकसाथ परिवर्तन जरुरी छ । यो प्रक्रिया लामो समयदेखि जारि छ । परिवर्तन गर्न सकिएको छैन । व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन । यसैकारण जनताहरुमा राजनीतिप्रति वितृष्णा पैदा भएको छ । जुन जोगी आएपनि कानै चिरिएको भन्ने गरेका छन् । जनताको आक्रोशलाई सम्बोधन गर्न सबै राजनीतिक पार्टीहरुको आपसी सद्भाव आवश्यक छ । लोकतान्त्रिक मूल्य, मान्यतामा उच्च अनुशासन चाहिएको छ । सबै नेताकार्यकर्ताले अवसरवादी चरित्र अनिवार्य त्याग्न जरुरी छ । परिवर्तन हाम्रै पालामा सम्भव छ । लोकतन्त्रको संस्थागत विकास गर्न सकिन्छ । कसैले पनि लोकतन्त्रको विकल्प नखोजौं । लोकतन्त्रको मजाक नगरौं ।