सहमति नभई एमसीसी र अर्ली इलेक्सन सम्भव छैन : परराष्ट्रमन्त्री खड्का

विराटनगर । परराष्ट्र मन्त्री डा नारायण खडकाले दलीय सहमति नभए मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित नहुने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग शनिबार कुराकानी गर्दै मन्त्री खड्काले एमसीसी सबै दलको सहमतिमा मात्र पारित हुने भएकोले सरकारले सहमति बनाउने प्रयत्न गरिरहेको बताएका हुन् । ‘हामी सहमतिको प्रयासमा छौं, दलहरुबीच सहमति नभए एमसीसी पास गर्न सम्भव हुँदैन,’ मन्त्री खड्काले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका दलहरुबीच सहमति कायम गरेर अघि बढ्नेमा कुनै आशंका नरहेको भन्दै उनले सरकारले सबै काम सहमतिका आधारमा गर्ने बताए । उनले गठबन्धन दलहरुबीचकै सहमतिमा प्रदेश सरकारको नेतृत्वको विषयमा पार्टीले निर्णय लिने जानकारी दिए । सरकारले प्रदेश सरकार गठन लगायतका विषयमा प्याकेजमा सहमति गरेर कामलाई अघि बढाउने भन्दै अहिलेसम्म प्रदेश सरकारको नेतृत्वको विषयमा अन्तिम टुंगो नलागिसकेको टिप्पणी गरे । उनले प्रदेश १ सरकारको नेतृत्व अझैपनि कांग्रेसले गर्ने सम्भावना जीवित रहेको टिप्पणी गरेका छन् । गठबन्धन दलहरुबीच सन्तुलन मिलाउनु पर्ने भएकोले नेपाली कांग्रेस लचिलो भएर प्रस्तुत हुने स्पष्ट पार्नुभयो ।

मन्त्री खड्काले नेपालको नक्सा बमोजिमको नेपाली भूभागका विषयमा देखिएको समस्या समाधानका लागि सरकारले छलफल बढाउने जानकारी दिएका छन् । यस अघि सरकारले पठाएका कुटनीतिक नोटहरुको अध्ययन गर्ने काम भइरहेको भन्दै लिपुलेक कालापानी क्षेत्रमा राष्ट्रिय जनगणना कार्यक्रम सञ्चालन गर्नका लागि सरकारले आवश्यक प्रवन्ध मिलाउने बताए ।

अर्को प्रसंगमा मन्त्री खड्काले सरकारमा सहभागी र गठबन्धनमा आवद्ध दलहरुबीच सहमति नगरी सरकार अर्ली इलेक्सनमा नजाने बताए । उनले गठबन्धन दलहरुबीच सहमति बनेको खण्डमा अर्ली इलेक्सनमा जानपनि सकिने उनको भनाइ थियो ।

मन्त्री खड्काले नेपाली कांग्रेसको महाधिवेशन पुस यता सम्भव नरहेको पनि बताएका छन् । कतिपय जिल्लामा वडा अधिवेशनहरु हुन नसकेको र पालिका अधिवेशन तथा जिल्ला अधिवेशनहरु बाँकी रहेकोले पनि मंसिरमा महाधिवेशन गर्न नसकिने उनले बताए ।

बढी पहिरोबाट ठूलो धनजनको क्षति भएको र कृषिबालीमा नोक्सानी भएको विषयमा सरकार गम्भीर रहेको भन्दै पीडितलाई राहात दिने गरी सरकारले योजना बनाइरहेको जानकारी मन्त्री खड्काले गराए । परराष्ट्रमन्त्री गृह जिल्ला उदयपुर र सुनसरीको कार्यक्रममा सहभागी हुन आएका हुन् ।

 

 

शनिबार, ०६ कार्तिक, २०७८, दिउँसोको ०२:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर