भीम आचार्य सरकारको आयु आइतबारसम्म, सोमबारसम्ममा राई मुख्यमन्त्री बन्ने

विराटनगर । प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्य आइतबार पदमुक्त हुने भएका छन् । प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी मुख्यमन्त्रीको प्रस्तावमा आइतबार मतदान गर्ने सहमति कार्यव्यवस्था समितिमा भएसँगै आचार्य नेतृत्वको सरकारको आयु आइतबारसम्म लम्बिएको हो ।

नेकपा एमालेको विभाजनसँगै भदौ१० गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्य सोहि दिन अल्पमतमा परेका थिए । संविधानमा सरकारमा रहेको दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था भएपनि सभामुखसँगको मिलेमतोमा उनले आफ्नो आयु झण्डै एक महिना लम्ब्याएका छन् ।

प्रदेशसभाको असोज २५ गतेभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रस्ताव पेश गरेर मतदानमा लैजानुपर्ने थियो । तर, सभामुख प्रदिपकुमार भण्डारीले मुख्यमन्त्रीसँगको मिलेमतोमा २५ गतेको लागि आह्वान भएको बैठक सुचना निकालेर आजसम्मको लागि सारेका थिए । बैठक स्थगनपछि मात्र मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा दर्ता भएको थियो ।

विपक्षी दलहरुले उक्त प्रस्ताव आज नै पेश गरेर मतदानमा लैजानुपर्ने अडान लिएका थिए । सरकार भने अझै आज प्रस्ताव पेश मात्र गरेर अझै केहि दिन संसद स्थगन गर्ने प्रयासमा थियो । यद्यपी आजको प्रदेशसभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिमा आज प्रस्ताव टेबल गर्ने र आइतबार मतदान गर्ने सहमति भएको नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक झलकसिंह दर्लामीले जानकारी दिए ।

आइतबार मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धि प्रस्तावमा मतदान भएसँगै मुख्यमन्त्री आचार्य पदमुक्त हुनेछन् । किनकि प्रदेशसभामा आचार्यको पक्षमा बहुमत छैन । ९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्नेमा आचार्यको पक्षमा नेकपा एमालेका ४१ सांसद मात्र छन् । त्यसमध्ये सभामुख प्रदिपकुमार भण्डारीले निर्णायक मत मात्र दिन पाउने र गुलेफुन मियाँ फरार रहेकोले उनले ३९ मत मात्र प्राप्त गर्ने अवस्था छ ।

उता विपक्षी गठनबन्धन भने ५० मतसहित नयाँ सरकार निर्माणको तयारीमा छ । गठबन्धनमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । राप्रपाका १ सांसद भने कतै खुलेको अवस्था छैन । गठबन्धनको केन्द्रीय तहको सहमति अनुसार प्रदेश १ नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्नेछ । समाजवादी संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्दैछन् । आइतबार आचार्यले विश्वासको मत गुमाएसँगै संभवत सोमबारसम्ममा राई नेतृत्वको सरकार बन्नेछ ।

मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव आजको प्रदेशसभामा पेश गरेका छन् । उनले विश्वासको मतका लागि प्रस्ताव पेश गरेलगत्तै प्रदेशसभा बैठक स्थगित भएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतविभाजन आइतबार हुने जानकारी दिए । त्यसका लागि कात्तिक ७ गते आइतबार दिउँसो १२ बजेका लागि बैठक बोलाइएको छ ।

शुक्रबार, ०५ कार्तिक, २०७८, दिउँसोको ०३:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर