नारायण निरौला
हालै दशैंको उपलक्ष्यमा पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको विज्ञप्ति निकै चर्चामा छ । उनको शुभकामना मन्तव्यले धमिलो पानीमा माछा मार्न खोजेको प्रष्ट बुझिन्छ । सामान्ती शासकहरु धर्मलाई कसरी आफ्नो राजनीतिक पाशा बनाउँछन् भन्ने कुराको पछिल्लो प्रमाण ज्ञानेन्द्रको वक्तव्य हुन पुगेको छ । आखिर धर्म के हो ? र यसलाई शासकहरु किन आफ्नो कुटिल औजारको रुपमा प्रयोग गर्दछन् ? यस सम्बन्धमा यो छोटो लेखमा प्रष्ट्याउने प्रयास गरेकोछु ।
चार्वाकदर्शन भौतिकवादी दर्शन थियो । त्यसलाई जीवनदर्शन मान्नेहरुको समुदाय धेरै थिए । त्यसैले चार्वाकदर्शनलाई ईश्वरवादीहरुले पोलेर नष्ट गरेका हुन् । धर्मको शाव्दिक परिभाषा कर्तव्य हो । कुनै तथाकथित अलौकिक शक्तिको उपासना गर्नु धर्म होइन । अलौकिकवादीहरुले धर्मको परिभाषा गलत लगाउँछन् । सबै प्राणी भौतिकवादी हुन्छन् । भौतिकवाद पुरानो दर्शन हो । सामन्तवादको उदयसँगै चेतना प्रधान ईश्वरवादको जन्मभयो जसले सामन्तहरुको कलुशित राजनीतिक स्वार्थ पूरा गर्दै आएको छ । के कथित ईश्वरवादी धर्म नमान्ने प्राणी जगतले माया प्रेम सद्भाव र प्रकृतिका नीति नियम पालना गरेका छैनन् र ?
नेपालमा किराँत, शैव, बौद्ध र प्राकृत धर्महरु थिए । पछि हिन्द साम्राज्य खडा गर्न शैव धर्मलाई हिन्दू धर्ममा गाभियो । आर्य विरोधी द्रविण जातिका भौतिकवादी विद्वान रावणलाई पानी बाराबार पारियो । यसरी आर्यहरुले द्रविण र मङ्गोलियनहरुलाई पनि जबरजस्त रुपले धार्मिक अतिक्रमण गरी हिन्दु बनाउने कुकर्म गरेकै हुन् । यसै शिलशिलामा मल्लकालीन शाशकको पालामा तत्कालीन हिन्दु धर्मगुरु शंकराचार्य नेपाल पसेर बौद्ध र अन्य धर्मका खिलाफमा बिध्वंस मच्चाउदै यो देशलाई हिन्दुकरण गरिएको हो । त्यसैले धर्म भनेको हामी माक्र्सवादीले अफिम झैँ ठान्दछौं । जसले व्यक्तिको अनन्त चेतनालाई कुण्ठीत पारी अन्धविश्वासमा लठ्याइरहन्छ । यसरी लठ्ठिनु भनेको एक लम्पट अभिसप्त अफिमीची भन्दा फरक हुँदैन । यद्दपी धर्म भनेको दिमागी अफिम भएका हुनाले यसको अम्मल गर्ने नगर्ने व्यक्तिविशेषमा भर पर्दछ । जसका लागि एक व्यक्ति स्वतन्त्र छ । तर धर्मकै आडमा राज्यसत्ता खडा गर्ने अनि शासन चलाउने र जनतामा जवरजस्त अमुक धर्म थोपर्ने जस्तो निकृष्ट कुकर्म कुनै पनि हुन सक्दैन । त्यसैले यो धर्मको नाममा कुनै पनि सम्प्रदाय, संस्था वा व्यक्तिका नामबाट जनतामा अमुक धर्म राम्रो वा अमुक नराम्रो भन्दै पित प्रचार गर्दै भ्रम श्रृजना गर्ने जो कोही आजको एक्काइसौँ सताब्दीका ठूला दुश्मन हुन् ।
पूर्वीय मानव सभ्यताको इतिहासमा सबै भन्दा आधुनिक सभ्यता मोहनजोदारो र हरप्पा हुन् । जो पाँच हज्जार वर्ष पूर्व स्थापित अत्याधुनिक सभ्यता हो । जस अनुसार इन्दू उपत्यकामा करिब पच्चिस हज्जार घरहरू (काँचो ईटका) अत्याधुनिक ढंगले बनाइएका थिए । जसलाई पहिले पुर्तगाल साम्राज्य र पछि इटाली ,फ्रान्स र बृटिस साम्राज्यहरुले विस्थापित गर्दै लगेका हुन् । त्यस बेला हिन्दु धर्मको त के कुनै धर्मको प्रभाव ती मोहनजोदारो र हरप्पा सभ्यतामा परेको पाइँदैन । त्यसबेला केवल प्रकृति सूर्य, चन्द्रमा, पशु ,वन ,जङ्गल ,पहाड, नदी, ताल, समुद्र आदी लगायत कविला र गणका सरदारहरुनै मनुष्यका आदर पात्र थिए । धार्मिक अन्धविश्वास त सामन्तवादको जन्मपछि मात्र जन्मियो । जस अनुसार सामन्ती शासकले सत्ता सञ्चालन गर्ने नियम बनाए । तर आर्थिक र सामरिक रुपमा पतन भैसकेको सामन्तवाद पुनः पूँजीवादी बुई चढेर जनताको धार्मिक आस्थालाई भजाउँदै पुनरोउत्थान को ताकमा रहेको हुनाले यो धार्मिक असहिष्णुता बढ्न गएको हो ।
हाल यसमा यूरोपेली यूनियन, सीआईए र भारतीय गुप्तचर संस्था ‘र’ र तिनका हुण्डीमा चलेका धार्मिक मठाधीश र एनजीओ र आइएनजीओले नेपालको परिवर्तनलाई उल्टाउने प्रयत्नमा धार्मिक घटना घटाउने, गाई, माई र भाइका कुरा उछाल्ने कुकर्मका कारण धार्मिक असहिष्णुता र जातीय विद्वेष देखा परेका हुन् । जनताको लामो र निरन्तरको वलिदानीपूर्ण संघर्षबाट नेपालका विस्थापित सामान्ती शासक ज्ञानेन्द्र शाहले पनि हालै दशैंको अवशरमा आफ्नो कलुसित विचार पोख्तै राजतन्त्रलाई प्रजातन्त्रको पर्यायको रुपमा परिभाषित गर्न खोज्नु पनि सामान्तवादको असली रुप उजागर भएको छ । उनी देशविदेशमा रहेका कमल थापा मार्काका उग्र हिन्दुवादीहरुको बुई चढेर जनताको बलिदानको उपेक्षा गर्दै विष बमन गर्दैछन् । उनका केही हुक्के बैठकेहरु ‘ओ हो’ हाम्रा राजाले ठीक गरे’ भनी कटु मुस्कानका आकृतिमा फँणा उठाउन खोजिहेकाछन् । धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतान्त्रिक पद्धतिको संविधान बनेपछि केही नेताहरुको अकर्मण्यता, उदासिनता, अहमता र गलत राजनीतिक आचरणका कारण देशमा देखापरेको अस्थायी स्वरुपको राजनीतिक संकटलाई आफ्नो कुत्सित धृष्टता पूरा गर्न धर्मको बैशाखी टेकेर बैतर्णी तर्ने मनसुवा ज्ञानेन्द्र शाहीको छ भन्ने कुरा प्रष्ट बुझिन्छ । यसरी नेपालको परिवर्तनलाई आत्मसात नगर्ने सामान्तवादी र दलाल पुँजीवादी तत्वहरु कथित हिन्दु धर्म सापेक्षताको नारामा आफ्नो पुनरोत्थान हुने दिवास्वप्न बाँडिरहेका छन् !
पूर्व राजा ज्ञानेन्द्र शाहको धर्मको आडमा आएको अधर्मी वक्तव्यको अन्तर्यको मक्सद पनि यहि नै हो । सामन्ती तानाशाहहरु युगको चेतना प्रवाहलाई बुझ्न सक्दैनन् । आफ्नो गुमेको स्वर्ग पाउने मृगतृष्णा साँचिरहेका हुन्छन् । पञ्चायती मण्डले र उनका आशेपासेहरुले वक्तव्यलाई ‘चियाको कपमा आएको वाफलाई तुफान’ सम्झेका छन् । सबैमा चेतना भया !