काठमाडौं । आफ्नो पार्टीको चुनाव चिन्ह सूर्यभित्र गोलाकार घेरामा हँसिया हथौडा चिन्ह राख्ने एमालेको निर्णयप्रति माओवादी केन्द्रले आपत्ती जनाएको छ ।
नेकपा एमालेको सम्पन्न विधान अधिवेशनबाट नयाँ लोगोको रुपमा उक्त चिन्ह सार्वजनिक गरिएको थियो । माओवादी केन्द्रले आफ्नो पार्टीको चुनाव चिन्हसँग मिल्ने खालको लोगो बनाएको भन्दै आपत्ति जनाएको हो ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एउटा दलको चुनाव चिन्ह अर्कोले प्रयोग गर्न नमिल्ने प्रतिक्रिया दिएका छन् । माओवादी केन्द्रका केन्द्रीय कमिटी सदस्य गणेश शाहले यस विषयमा पार्टीको ध्यानाकर्षण भएको बताउँदै कानूनी उपचार खोज्ने बताए । गोलाकारभित्रको हँसिया हथौडा अंकित चुनाव चिन्ह माओवादी केन्द्रले प्रयोग गर्दै आइरहेको छ।