गोदावरी भेला र पतनोन्मूख कार्यदिशा

 मणि दाहाल

जननिर्वाचित सदनको हत्या र संबिधानको ध्वस्ततामार्फत प्रतिगमनको असफल प्रयास पराजित भएको छ । तर, पनि राजनीतिक आकाशमा अन्यौलताकोे बादल भने मडारिएकै छ । एमालेको अराजक तथा उदण्ड कार्यशैली अन्यौलताको मुख्य कारक बनेको छ । आफैंले दुई पटकसम्म हत्या गरेको सदनभित्रको उसको गैरजिम्मेवारिताले सीमा नाघेको छ । मर्यादापालक माथिको अभद्रता तथा उदण्डताले संसदीय मर्यादाकै धज्जी उडाएको छ । साथै जुन सदनमा उसलाई विश्वास नभएर पटकौं विघटनको प्रयास ग¥यो, सोहि सदनको निर्लज्ज प्रवेश र तलब भत्ताको ¥याल चुहाइले राजनीतिक नैतिकहिनतालाई उदांगो बनाएको छ ।

एमालेले कथित बिधान माहाधिवेशनको औपचारिकतासम्म पुरा ग¥यो । उक्त महाधिबेशनले रेडिमेट प्रतिनिधिलाई हैदरावादको ब्रियानी र मद्रासबाट आयतित खसीको परिकारमा ककटेल्सको रोमान्स दियो । केपी कमरेडको देवत्व उपाधी ग्रहण गर्ने चरम महत्वकांक्षालाई बैधानिकता दियो । जस्केलाबाट आर्जित कालो धनको रवाफले निरासामा चाउरिएका अवसरवादी भजन मण्डलीलाई जीवन जलसम्म दियो । तर, नेपाली श्रमजीबी जनताको पक्षमा भने कुनै भरपर्दो नीतिगत आधार दिन सकेन । साथै उसको बुताबाट समाजवादी आन्दोलनको कार्यदिशा दिने कुनै संभावना पनि छैन ।

राजनीति जब सिद्धान्तबाट बिचलित र मुख्य कार्यभारबाट पथबिमुख हुन्छ, त्यस अवस्थामा अनेकांै अबाञ्छित तत्वहरुको दुर्गन्धित भेल मुख्य साहारा बन्नपुग्छ । एमाले सोही भेलको दुषित जल भएको छ । अहिले सूर्य चिन्हको भजन नै एमालेको समाजवाद हो । दलाल नोकरशाही पूँजीवादको सिरानी उसको समृद्धिको परिभाषा हो । विचारशून्य अराजनीतिक जमात अनि तुक्का र मुक्का उसको मुख्य विशेषता हो । गाली र ताली उसको मार्गदर्शन हो । बोक्ने र टोक्ने उसको संसदीय अभ्यासको सृजनात्मक रुप हो । अनि बहुदलीय जनवादको आधारभूत सिद्धान्तलाई खोपीको देउता बनाएर धनवाद र डनवादको फ्यूजनमार्फतको बापथ उसको मुल मन्त्र हो ।

कहिलेकाहिं कार्यकर्ताको अदुरदर्शिता र भावनात्मक आवेगको निर्णय कालान्तरमा दुर्भाग्य बनिदिन्छ । २०७१ सालमा केपी कामरेडलाई एमालेको नेतृत्व सुम्पनु कम्युनिष्ट आन्दोलनकै अभिषाप थियो । उनले सामूहिक निर्णय पद्दती, बैचारिक संगठन र असल र योग्य कार्यकर्ताको स्थापित मान्यतालाई तहसनहस बनाए । बैचारिक धरातलमा आधारित एमालेका तहगत संरचनाहरुलाई उनले अराजनीतिक, असभ्य र अपराधिक केन्द्रमा परिणत गरे । पार्टीभित्रका बैचारिक मुनाहरुलाई धारासायी बनाए । असहमत पक्षहरुको तेजबोध तथा राजनीतिक अपराधको छाहारी उनको दैनिकी बन्यो । पार्टीका तहगत संरचनाका अधिवेशनहरु हराउने र जिताउने केन्द्रमा मात्र परिणत भए । पार्टी कार्यलयहरु अवसरपरस्त भिडको जमातले कब्जा गरे । त्यस बेलादेखि नै एमाले सिद्धान्तहिन घोर दक्षिणपन्थको भिडमा विकसित भएको हो । तर, विद्रोहको ज्वाला अन्तर संघर्षमा मात्र सिमित थियो ।

दुईतिहाइको समर्थनमा केपी ओलीको दोस्रो सत्तारोहण कम्युनिष्ट आन्दोलन अनि देश र जनताकै अर्को दुर्भाग्य थियो । तत्कालीन अवस्थामा एमाले र माओवादीबीचको संयुक्त चुनाबी तालमेल राष्ट्रिय आवश्यकता थियो । तर, आधारभूत तहमा सामान्य छलफलसम्म नगरि ओली र प्रचण्ड बिचको बिचारशुन्य गणितीय एकताको घोषणा आन्दोलनको अर्को अभिषाप थियो । ६०–४० गणितीय भागबण्डा केपी ओलीको लागि बाँदरलाई लिस्नो साबित भयो । उनले पार्टी बिर्सिए । निर्बाचनताकाको पार्टीको प्रतिबद्धतालाई पोलेर खाए । मदन भण्डारी फाउण्डेशन लुट र गुटको केन्द्र बन्यो । प्रचण्डको सिरानीमा हुर्किएका बादल प्रबृत्तिहरु ओलीको लुट र गुटका सारथी बने । कार्यकर्ताको आवाज हावामा बिलायो । ओलीको फाँसिवादी चरित्रले देश आक्रान्त बन्यो, जनता बेसाहारा ।

एमालेभित्रको एउटा इमान्दार तप्काले पार्टीलाई नीतिगत सुधार गर्ने सोच बनाउनसक्छ । त्यो स्वभाविक पनि हो । तर, त्यो मिथ्या कल्पना मात्र हुनेछ । ओली नेतृत्व रहँदासम्म एमाले नीतिगत रुपमा सुध्रनै सक्दैन । झन् सारो गोदबारीको कुम्भ मेलाले ओलीलाई एक्लो हिटलर बनाएको छ । मंसिरमा हुने कथित माहाधिवेशनको रुप अहिले नै देखिएको छ । अब ओलीको बोली नै एमाले बन्ने छ । नेतृत्तवमा आसिन दाशहरुले प्रतिवाद गर्ने हिम्मत राख्दैनन् । उनीहरुले अन्तरजीवनको पथभ्रष्टतालाई निर्मुलीकरण गर्नै सक्दैनन् । उनीहरु पनि कुनै न कुनै रुपका आर्थिक अपराधका कण्डहरुमा नराम्ररी मुछिएका छन् । उनीहरु जब प्रतिवादमा उत्रने असफल प्रयास गर्छन्, ओलीले कर्तुतको रेकर्ड खोल्नेछन् । त्यसपछि तैँ चुप मै चुपको अवस्था रहनेछ ।

विषमवादी चिन्तनशैलीको बाहुल्यता एमालेको अर्को समस्या हो । इमानको राजनीति गर्ने निश्कलंकहरु एमालेमा अटाउनै सक्दैनन् । त्याग, निष्ठा र ऐतिहासिकता त्यहाँ जहिल्यै उपेक्षित बन्ने छ । राष्ट्रिय स्रोत साधनमा पहुँच राख्ने एउटा अभिजात्य वर्गको मात्र त्यहाँ हालिमुहाली चल्नेछ । आधारभूत तहका कार्यकर्ताहरु सोहि वर्गका दास बन्नेछन् । रातारात उदाएको सो अभिजात्य वर्गकोे इसारा बाहिर एमाले चल्नै सक्दैन । संसदीय क्षेत्रका तहगत निर्वाचनमा सोही वर्गको पकड रहनेछ । नियम कानुन र बिधि बिधानताहरु उनीहरुकै अनुकुलतामा बनेका छन् । त्यसकारण एमालेबाट मेहनतकस तथा श्रमजीबी जनताको हित संभब छैन ।

लोकतन्त्रको संथागत विकास र सामाजिक न्यायसहितको उत्पादन प्रणालीमा पहँुच अबको आवश्यकता हो । यसको लागि दलीय सद्भाब शुद्धिकरण र आपसी हातेमालोको जरुरत छ । नीतिगत स्पष्टता र कार्यान्वयनको बिश्वासिलो आधार नबन्दासम्म समग्रताको विश्वास आर्जन गर्न सकिदैन । विश्वासिलो नबन्दासम्म हातेमालो संभब हुदैन । अवसर पाएर पनि जनतालाई धोका दिँदै आएको एमालेसँग जनताको विश्वास टुटेको छ । एमाले पार्टी हैन, एउटा प्रा.लि. मात्र हो । त्यसकारण उसले दलीय सद्भाब पनि कायम राख्न सक्दैन । जनताको बिचमा विश्वासिलो बन्न पनि कदापि सक्दैन । त्यसकारण अब पतनउन्मुख दिनचर्या एमालेको दैनिकी बन्नेछ । त्यहाँ इमान्दार र स्वाभिमानी कार्यकर्ताहरु अटाउन कदापी सक्दैनन् । ओलीको बिल्ला र बापथ गगनभेदी नारा लगाउने जमात मात्र एमालेमा रहनेछ । ढिलोचाँडो एमालेमा ठूलै भुइँचालो जान्छ । सच्चा कम्युनिष्ट र समाजवादका पक्षधरको ठूलो जमातको सामु विद्रोहभन्दा अर्को उपाय छैन । त्यसबेला सूर्य चिन्ह मात्र बाँकी रहनेछ ।

सोमबार, १८ असोज, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर