‘दलहरू तरमारा भए’

 नविन पौडेल

अहिलेको राजनीतिक दलहरुको अवस्थालाई कसरी लिनु भएको छ ?

– नेपालका राजनीतिक दलहरु कुनै कम कुनै बेंसी होलान । तर, सारमा यिनीहरू अवसरवादी, अनुत्तरदायी, सत्तामा बसिरहने, तरमारा भइरहनेभन्दा माथि उठ्न सकेका छैनन् । यो अत्यन्तै गम्भीर विषय हो । नेपाली राजनीति आज पनि देशीविदेशीको इशारामा चल्छ । नेपाली राजनीतिज्ञले आफू र आफ्नो पार्टीलाई जति नै बलिदानी, स्वाभिमानी र देशभक्त परिवर्तनगारी भनेर प्रचार गरेपनि यिनीहरू अदूरदर्शी, पश्चगामी र यथास्थितिवादी छन् । यिनीहरुले जनतालाई सहजै वेवकुफ बनाउने र ठग्ने मनोवृत्ति बोकिरहेको देखिन्छ ।

एमसीसीबारे तपाईको धारणा के हो ?

– ‘भगवान त भक्ति बिना केही दिँदैनन्, र धूप बाती आफै लिदैनन्..’ भने एमसिसी मात्र के कुरा भयो र सबै वैदेशिक सहायता विनास्वार्थ दिइँदैन । नेपाली अर्थतन्त्र आफैं खुट्टा नटेकेसम्म विकासको गतिमा स्थायीरुपमा अघि बढ्न पनि सक्दैन । जति रकम एमसीसीबाट प्राप्त हँुदैछ, त्यति रकम त देशभर १ दिनमा विभिन्न कार्यालयमा कुनै न कुनै रुपमा भ्रष्टाचार गरिन्छ । देशको राजश्वमा जम्मा गर्नैपर्ने रकम तपाई, म, मध्यस्तकर्तासहित हाम्रो खल्तीमा बाँडिन्छ । केही आधारभूत वर्ग र वैदेशिक रोजगारमा रहेका युवाहरु बाहेक अधिकांशको जीवन हेर्नुहोस् । तपाईं हाम्रो र हामीनजिकमै रहनेहरुको हेर्नुहोस् के यसले स्पष्ट हँुदैन र ? खासमा देश गरिव भो हामी भएनौं ।

संघीय शासन व्यवस्थाले मुलुकमा खर्च बढाएको र बेकामे भएको कुरा छ । यसबारे तपाईको धारणा के हो ?

– संघीय शासन प्रणालीले खर्च अवश्य वढाएको छ, तर खर्च काहाँ बढ्यो भन्ने बुझ्न जरुरी छ । कर्मचारीहरुलाई दिइने पारिश्रमिकमा, सरकारी कार्यालयहरुको संरचनागत र संख्यामा, जनप्रतिनिधिको संख्या र लिइने सेवासुविधामा र अधिकतम रुपमा भइरहेका धेरै विकासका काममा गरिएका खर्चहरु समेतले यस्तो भएको देखिन्छ । यी सबै खर्चहरु नभएका भए आज जनताले प्राप्त गर्ने राजकीय सेवा र सुविधा वडा वडामा पाउन सम्भव नै हँुदैन थियो । जनताको पहुँच राज्यको यति नजिक घर टोलसम्म योभन्दा अघि कहिल्यै पाउनु भएको थियो ? मलाई यस्तो लाग्दैन कि थियो । राज्यको ढुकुटी राज्यकै जनताका लागि खर्च गरिन्छ भने त्यो खर्च लगानी हो भनेर पनि चित्त बुझाउनुपर्छ । भौतिक संरचनामा भएका खर्चले केही वर्ष भार देखिए पनि सँधै त्यस्तो रहँदैन । एकपटक बनाएका भौतिका संरचना जुगौंजुगसम्म रहने हो । प्रविधि विकासले क्रमशः दिनानुदिन मुलुक सफ्टवेयर प्रणालीमा जाँदै गर्दा यसले आन्तरिक खर्चलाई मितव्ययी बनाउँदै जानेछ । हामीले उत्पादन गरेका क्षेत्रहरुलाई व्यवस्थित, फराकिलो र झन्झटमुक्त वनाउने, उत्पादित सामाग्रीको खरिदमा राज्य स्वयंले जिम्मेवारी वहन गर्ने र निर्यातलाई विश्वासिलो आधारसहित अभियानका रुपमा अघि बढाउन सक्ने हो भने यो खर्चले केही फरक पर्दैन र यस्ता विषयहरुमा खुल्ला वहस र वहसका निष्कर्षलाई कार्यान्वयन गर्ने राज्यसंयन्त्रको विकास गर्नु जरुरी देखिन्छ । तथापि भ्रष्टचारका सबै अवषेशहरुको अन्त्यका लागि युवा, विद्यार्थी संगठनहरू, आमजनता, राजनैतिक पार्टीहरू, नागरिक समाज र राज्य संयन्त्रको भूमिका दिनानुदिन बढ्दै गइरहेको छ ।

संघीयताको सही ढंगले कार्यान्वयन भएको छ त ?

– सयौं वर्षदेखि भिन्न रुपमा चलेको देश र व्यवस्थालाई अर्को रुपमा परिवर्तन गर्ने कुराका लागि केही समय चाहिन्छ । धेरै कमिकमजोरीहरु भएका देखिन्छन् । सुधार गर्दै जाने हो । नियम, कानुन र कितावका पानाहरु बदलिएर देश र दुनियाँ बदलिने होइन । सँगसँगै विचार, व्यवहार र नियत पनि बदलिनुपर्छ । केही वर्ष यसलाई सुधारौ । हामी सबै लागि परौं । सुधार्नु अघि नै उधार्ने बहसले हामीलाई काहीँ लाँदैन । संघीयता राजनीतिक दलको व्यवस्था परिवर्तनका लागि (अस्त्र) मात्र थियो । तर जनताको वास्तविक आंकाक्षाको रुपमा रहेकाले यसलाई सुदृढ बनाउन सबैले पहल गरौं । आजको देश र दुनियामा संघीयताभन्दा अर्को उत्तम विकल्प भेटिँदैन । भुइँको टिप्दा हातको खसैझै नबनोस् संघीयता ।

संविधानमा समावेशीता, समानुपातिकता र आरक्षणको कुरालाई व्यवस्थित गरिएको छ । पछिल्लो पटक आरक्षणको विषय भने आलोचित बनिरहेको छ । तपाई यसलाई कसरी लिनुहुन्छ ?

– प्रारम्भमा नै हामीले आरक्षणलाई वर्गीय रुपमा लिएर कार्यान्वयन गरेको भए अहिलेको आलोचना र वहस सायद भिन्न रुपमा रहन्थ्यो । यो समयले हामीलाई दिएको हाँक हो । हालसम्म भएका उपलब्धिलाई सम्पत्तिको रुपमा स्वीकार गरी वर्गीय रुपमा यसको स्थायी समाधान गर्नु नै अहिलेको माग हो भन्ने मलाई लाग्छ ।

युवाहरु नेतृत्व तहमा पुग्न कस्ता समस्या छन् ?

– मान्नुस एउटा फुटवल खेल जित्नका लागि डिफेन्स बहुत अनुभवी, धैर्यवान र वलशाली हुनु जति जरुरी छ । एटेकिङ पनि बहुत आशावादी, रिक्स लिनसक्ने र छिटो दौडका साथ बललाई पटक–पटक प्रहार गरी लक्ष्यभेदन गर्न सक्ने हुनुपर्छ । त्यस्तै नियम समाजमा पनि लागू हुन्छ । तर हाम्रो समाजमा डिफेन्स र एटेकिङ दुवै मैले नै भ्याउने हो अरू किन चाहियो मै थाम्छु भन्ने संख्यात्मक दस्ता कम छैन । यसकारण युवा महिलालाई अघि बढ्न केही कठिनाइ अवश्य छ तर असम्भव भने छैन ।

पार्टी नेतृत्वको सिर्जनात्मक आलोचना गर्नेभन्दा पनि चाकडी गर्ने युवाको जमात बढिरहेको छ । तपाई ती युवाहरुभन्दा के फरक हुनुहुन्छ ?

– आजसम्म जे जति उपलब्धि समाजमा भएका छन्, त्यसमा हामीभन्दा बढ्ता अग्रजहरुकै त्याग, तपस्या र वलिदानीले भएका छन् । तसर्थ एकाध विषय वाहेकमा म अनावश्यक आलोचना गरेर भ्रान्तिकारितामा रमाउन चाहन्न । हाम्रो पुस्ताले अघिल्लो पुस्ताले गरेको सत्कर्मप्रति देखाउनुपर्ने त्याग, सद्भावको सट्टा आत्मकेन्द्रित भई सत्तासीन हुन र विरासतमा नेतृत्व पाउन चाकडी र चाप्लुसी गर्नुलाई पनि म राम्रो विषय ठान्दिन । खासमा आलोचना त्यो खोलाको दुई धार हो जसले पानीलाई सही दिसा दिन्छ भन्नेमा म विश्वास राख्छु । म एउटा राजनीतिक पार्टीमा आवद्ध धेरैको कार्यकर्ता र थोरैको नेता भएकोले मैले गर्ने आलोचना र सम्मान दुवै पक्ष मैले छनौट गरेको राजनीतिक पार्टी र प्रणाली अनुकुल र सिमीत हुनपर्छ भन्नेमा म दृढ छु ।

तपाईको पार्टीले नै देशको नेतृत्व गर्छ र तपाईजस्ता युवालाई अवसर दिन्छ भन्ने के आधार छ ?

– हाम्रो पार्टीले नै देशको परिवर्तनको नेतृत्व गर्छ भन्नेमा हामी पुरापुरी विश्वास व्यक्त गर्दछौं । साथै यसलाई आगामी चुनावबाट हामी जनताको अभिमतले प्रमाणित पनि गर्नेछौं । हामीले सरकारमा रहँदा धेरै राम्रा कामहरु गरेका छौं, यो परमादेशको सरकारले यत्रो दिनमा हामी गरेको समग्र कामको एक झिल्को पनि दिन सकेन । हामी सरकारमा रहँदा पनि प्रतिपक्ष सुतेको थियो, त्यो आज सरकारमा हुँदासम्म पनि उठेको छैन । वास्तवमा यो सरकार जननेता मदन भण्डारीले भन्नुभएझै कुम्भकर्ण नै रह्यो । हरेक सरकारले गरेका राम्रो कामको निरन्तरता दिनु पछिल्लो सरकारको जनताप्रति उत्तरदायित्व हो । खरावलाई सच्याउनु जिम्मेवारी हो । तर सरकारले यो विश्वव्यापी मान्यतामा अडिन सकेन । यो हाम्रो दलका लागि अवसर होला तर देश र जनताप्रति भने पक्कै गद्दारी हो ।

पार्टीका स्थानीय नेतृत्वले के गर्नुपर्छ जस्तो लाग्छ ?

– जनप्रतिनिधी त केवल जनताका प्रतिनिधि हुन निधिपति त स्वयम् नेपाली जनता हुन् । स्थानीय पार्टीका प्रतिनिधिले आफूलाई पार्टीको प्रतिनिधि भएको सम्झेर काम गर्नुपर्छ । आफैं आफैलाई निधिपती नठान्नुस् । जनअपेक्षा पुरा गर्न प्रतिवद्ध रहनुहोस् ।

तपाई कुनैबेला जनप्रतिनिधिको रुपमा निर्वाचित हुनुभयो भने तपाईले चाल्ने पहिलो कदम के हुन्छ ?

– मेरो त्यस्तो सम्भावना म अहिले नै देख्दिन । तर पनि म जुन वेला प्रतिनिधिको रुपमा रहन्छु त्यो बेलाको परिस्थितिमा जनताको प्रमुख मुद्दालाई नै सम्बोधन गर्नेछु । चाहे त्यो जतिनै कठिन किन नहोस् ।

बिहिबार, १४ असोज, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर