‘जनताको मुक्ति र कटहरीको समृद्धि मेरो लक्ष्य’

 किशोरकुमार पाण्डे

मोरङको कटहरी गाउँपालिका २ का वडाध्यक्ष किशोर पाण्डे वडामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित एक्ला जनप्रतिनिधि हुन् । वडाका सदस्य चारै जना नेपाली कांग्रेसबाट जित्दा वडाध्यक्षमा निर्वाचित पाण्डेले सबैसँग समन्वय गरेर काम गरेका छन् । विकास निर्माणदेखि जनताको समस्याहरुलाई प्रत्यक्ष संलग्न भएरै समाधानका लागि सहयोग गर्ने उनको शैलीले जनताहरु उनीप्रति सकारात्मक टिप्पणी गर्छन् । झण्डै २२ वर्ष शिक्षण पेशा गरेर सक्रिय राजनीतिमा सहभागी भएका पाण्डे आगामी दिन जनसेवाका लागि राजनीतिमै समर्पित गर्ने बताउँछन् । राजनीतिलाई पेशा बनाउन हुन्न भन्ने मत राख्ने उनी वडाध्यक्षले पाउने पारिश्रमिक र अन्य सुविधा पनि जनताको दुःखसुख, औषधि उपचार र सहयोगमै खर्च गर्ने गरेको बताउँछन् । उनीसँग गरिएको कुराकानीः

वडाध्यक्षको रुपमा चार वर्षको अवधिलाई कसरी समिक्षा गर्नुहुन्छ ?

यस अवधिमा हामीले जति कामहरु गरेका छौं, सन्तुष्ट छु । दीर्घकालीन महत्व भएका कामहरु भएका छन् । सिंघीयादेखि लोहन्द्रासम्म बिचैबिच बाटो जोडेका छौं । वडाको बीच भागमा पर्नेगरी वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माण गरेका छौं । शिक्षालाई प्राथमिकतामा राखेर काम गरेका छौं । शिक्षालाई गुणस्तरीय र पूर्वाधार लगायत सर्वाङ्गिण विकास हुने खालका पूर्वाधार निर्माण र विकासको काम गरेका छौं । कोरोनाभन्दा अगाडिसम्म टोलटोलमा निरन्तर ट्युसन कक्षाहरु सञ्चालन गर्दै आएका थियौं । अब फेरि त्यसलाई निरन्तरता दिन्छौं । अतिविपन्न तथा दलित समुदायका भूमिहीनहरुका लागि ४० वटा घर निर्माण गरेका छौं । वडाको झण्डै आधा भुभागको डुवान समस्या समाधान गर्ने काम भएको छ । पूर्वाधारतर्फ अधिकांश सडक ग्राभेल गरिएको छ र क्रमश कालोपत्रे गर्ने चरणमा हामी प्रवेश गरेका छौं । विपन्न तथा दलित समुदायको स्वास्थ्य लगायतका समस्याहरुमा पनि नियमित सहयोग गदै आएका छौं ।

गाउँपालिकामा अन्य दलको नेतृत्व हुँदा आफ्नो योजनाहरु कार्यान्वयन गर्न कतिको सहज भयो ?

नेकपा माओवादी केन्द्रबाट कटहरीका दुई वडामा वडाध्यक्ष निर्वाचित भएका छौं । गाउँपालिकाको नेतृत्व नहुँदा कतिपय असज अवस्था त हुने नै भयो । त्यसका बिचबाट पनि हामीले सके जति कामहरु गरेका छौं । नेतृत्वकै कारणले कटहरीमा गरीब विपन्न र भूमिहीन सुकुम्बासी जनताको घर बनाउने योजना सफल हुन सकेन । संघीय संसद विकास कोष, जीवन विकास संस्था र ह्याविटेट नेपालको सहकार्यमा ५० वटा घर बनाउने सम्झौताका लागि संस्थाहरु तयार भएको भएपनि गाउँपालिकाले त्यसलाई स्वीकार गरेन । संघसंस्थाहरुले दिने बाचा गरेको एक करोड रकम हामीले प्रयोग गर्न पाएनौं । अब कोषको रकमले १० वटा मात्र घर बन्ने अवस्था भयो । पालिकाको दीर्घकालीन नीति बनाउन पनि सकिएन । पूर्वाधार, कृषि, सिंचाइ आदिका दीर्घकालीन योजनाका हामीले दिएका सुझावहरु नेतृत्वले नसुन्दा अपेक्षित काम गर्न सकिएन ।

तपाईँ वडाध्यक्ष भएपछि तपाईँले प्रतिनिधित्व गर्ने पार्टीप्रति जनताले कस्तो दृष्टिकोण राखेको पाउनुभयो ?

म चुनावमा प्रतिष्पर्धा गर्दा वडामा जनताबाहेक आफ्नो नातागोता र आफन्त छैन भनेको थिएँ । जनताले विश्वास गरेर चार जना अरु पार्टीका सदस्यहरुले जितेपनि वडाध्यक्षमा मलाई जिताए । मैले जनताको त्यो जनविश्वासलाई इमान्दारिताका साथ पालना गर्ने प्रयत्न गरेको छु । जनताको दुःखसुखमा मेरो सहभागिता छ । व्यक्तिगत रुपमा मप्रति र संस्थागतरुपमा मेरो पार्टीप्रति जनतको विश्वास बढेको महशुस गरेको छु ।

वडाध्यक्षसँग जनताले विकासबाहेक गर्ने अन्य अपेक्षालाई कसरी पुरा गर्नुहुन्छ ?

मुख्यतय: जनताका दैनिक प्रशासनिक सरोकारका विषयलाई नै हामीले समन्वय र सहयोग गर्नुपर्छ । सेवा प्रवाहलाई सहज बनाउनेतर्फ ध्यान दिएका छौं । जनताका अपेक्षा धेरै छैनन् । दुःखबिमार पर्दा अस्पतालमा गएर उपचारमा सहजीकरण गर्ने, औषधी खरिद गर्न नसक्नेलाई सहयोग गर्ने जस्ता काम गर्दै आएको छु । आफ्ना प्रतिनिधिले सम्झिउन् र सहजीकरण गरिदिउन् भन्ने चाहना जनताको छ । मैले पाउने पारिश्रमिक र सुविधाको रकमसमेत सामाजिक काममा खर्च गर्ने गरेको छु । निरक्षरहरुले सहज रुपमा सेवा पाउन् भनेर निवेदन लेखिदिने काममा समेत छुट्टै कर्मचारी राखेर सहयोग गरिएको छ ।

आगामी दिनमा नेकपा माओवादी केन्द्रबाट जनताले कस्तो अपेक्षा राखेको पाउनुभएको छ ?

कटहरी झण्डै ८० प्रतिशत विपन्न, दलित र पिछडिएको वर्ग रहेको ठाउँ हो । मजदुर र किसानहरुको बाहुल्यता भएको निम्नवर्गीय समुदायको बसोबास छ । त्यस हिसाबले पनि कम्युनिष्ट जनाधार भएको क्षेत्र हो । हामीले त्यस जनाधारलाई शक्तिमा रुपान्तरण गर्न सकेका छैनौं । दलहरुले जनतालाई गलत ढंगले प्रयोग गर्ने र भोटमात्र लिने काम गरिरहेका छन् । वडामा २८ वर्षमा अरुले नगरेको विकासको काम सुरुवात गरेका छौं र जनतालाई विकासको सपनाप्रति विश्वस्त बनाउने प्रयत्न गरेका छौं । अहिले मुलुक संघीयतामा गएकै कारण गाउँमा विकास पुगेको छ र त्यो माओवादीकै कारण संभव भएको कुरा जनताले राम्ररी बुझेका छन् । त्यसैले पनि जनताले माओवादीसँगै आशा र भरोसा गरेको देख्छु ।

निर्वाचित भएपछि गर्न नसकिएको काम के हो ?

दीर्घकालीन विकासका लागि बनाउनुपर्ने योजना यस अवधिमा बनेनन् । हामीले भूउपयोग नीति तयार गरेका छौं । तर, यसबारेमा नेतृत्व बेखरझैं छ । कृषि र उद्योगको राम्रो सम्भावना भएको कटहरीको २६ प्रतिशत जमिन बाँझो रहने गरेको छ । जमिन बाँझो नराख्न सिंचाइ, बिजुली लगायतका पूर्वाधारको योजना बनेनन् । अहिले जनताले यी विषयमा प्रश्न सोधिरहेका छन् तर, नेतृत्व अनुत्तरित छ । उद्योग क्षेत्र भएकोले त्यहाँका उद्योगमा चाहिने जनशक्ति उत्पादन गर्ने र रोजगारी सिर्जना गर्नेतर्फ पनि काम भएन भन्ने जनताको गुनासो छ । यी सबै विषयलाई जनताले राम्ररी नियालिरहेका छन् । उनीहरुले माओवादीले जितेको वाडको काम र शैलीलाई पनि हेरिरहेका छन् । यी सबै विषयमा माओवादी पार्टीले निरन्तर पहल गरिरहेको छ भन्ने जानकारी जनतालाई छ ।

शिक्षा क्षेत्रमा लगानी गरेपनि त्यति उपयोगी नभएको भन्नुभयो, गाउँपालिकाले गरेको कुन लगानी उपयोगी नभएको हो ?

कटहरी गाउँपालिकाले शिक्षामा हरेक वर्ष ठूलो रकम विनियोजन गरेर लगानी गर्ने गरिएको छ । तर, अपेक्षा गरेअनुसार प्रतिफल पाइएको छैन । लगानी ठिक ठाउँमा भएन भने प्रगति पाइदैन । हामीले पूर्वाधार, र विद्यार्थीको वृत्ति विकासमा लगानी गर्नुपर्छ । तर, गाउँपालिकाले टाई, बेल्ट, र जुत्ता हरेक वर्ष बाँडेर बजेट खर्च गर्छ । यस कार्यक्रमप्रति जनतालेनै प्रश्न उठाइरहेका छन् । यी सबै कारणले जनताहरुले अब पालिकाकै नेतृत्वको विकल्प खोजिरहेका छन् । संघीयता आएपनि पहिलेको स्थानीय निकाय भन्दा फरक ढंगले चलेन भन्ने गुनासो सम्बोधन गर्न पनि अब संघीयताको वकालत गर्ने माओवादी पार्टीले नेतृत्व लिनुपर्छ भन्ने सुझाव जनताको छ ।

अबको ८–९ महिनामा स्थानीय तहको नयाँ निर्वाचन हुने सम्भावना छ । आगामी दिनका लागि तपाईँको तयारी के छ ?

कटहरीको नयाँबजार हुँदै आदर्श टोलको आदर्श विद्या मन्दिरसम्म आइपुग्दा करिव २२ वर्ष पूर्णकालीन शिक्षकको रुपमा बिताइयो । संघीयताको कार्यान्वयनपछि तीन तहको सरकार बन्ने तयारीसँगै संघीयताको मर्म अनुरुप सरकार सञ्चालन गर्न शिक्षित समुदाय बाहेक अर्को विकल्प छैन । त्यसै सिलसिलामा अबको बाँकी जीवन आमजनताकै बिचमा रहेर जनताका समस्याहरु, गाउँपालिकाको विकासका सम्भावनाहरु, रोजगारी सिर्जना, गरिबी निवारण लगायतका जनअपेक्षित विषयहरुमा केन्द्रीत रहने सोचाइ बनाएर समाजमा सेवामा समर्पित भएको छु । आम शोषितपीडित जनताको मुक्ति र कटहरीको समृद्धि मात्रैलाई लक्ष्य बनाएको छु । स्वभाविक रुपमा यी सबैको मुक्ति गर्ने पार्टी माओवादी भएको हुनाले त्यस पार्टीको इमान्दार कार्यकर्ताको रुपमा मेरो भूमिका हुनेछ । पार्टीको एउटा सिपाही भएकोले पार्टीले दिएको जिम्मेवारीलाई स्वीकार गर्दै रचनात्मक ढंगबाट अगाडि बढ्नुपर्छ । मलाई लाग्छ जनताको अपेक्षा अनुसार पार्टीले आगामी दिनमा उचित जिम्मेवारी दिनेछ ।

बुधबार, १३ असोज, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर