देवी पन्थी
आ–आफ्ना दिवंगत पितृहरूलाई सम्झिने र श्रद्धा गरिने विशेष अवसर या अवधिलाई हिन्दू परम्परामा सोह्र श्राद्ध भनिन्छ । आश्विन कृष्ण पक्षको प्रतिपदादेखि अमावास्यासम्मको र आश्विन शुक्ल पक्षको प्रतिपदाका दिन गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिन्छ । सोह्र दिनका सोह्र तिथि हुनाले सोह्र श्राद्ध भनिएको हो । कहिलेकाँही तिथि हराएका या खप्टिएका पनि हुन सक्छन् । २०७८ मा यही असोज ५ गते मंगलबारदेखि २० गते बुधबारसम्म सोह्र श्राद्धका तिथि परेका छन् ।
सनातन धर्ममा आधारित हिन्दू धर्मशास्त्र अनुसार जब मान्छेको मृत्यु हुन्छ उसले सत्ताईस तत्वले बनेको स्थूल शरीर छाड्छ र सत्र तत्वहरूले बनेको सूक्ष्म शरीर धारण गर्दछ । पाँच कर्मेन्द्रीय, पाँच ज्ञानेन्द्रीय, पाँच प्राण, पाँच महाभूत, अनि मन, बुद्धि, चित्त, अहंकार, अविद्या, काम र कर्म गरी सत्ताईसमध्ये पाँच महाभूत र पाँच कर्मेन्द्रीय छाडेर बनेको सूक्ष्म शरीरले पनि हरेक चिजको उपभोग गर्न चाहन्छ । तर यो प्राप्ति आत्माले आफै स्वेच्छाले गर्न सक्दैन । तसर्थ परलोक गएका पितृहरूले आफ्नो उपभोग गर्ने चाहना पूर्ति हुन सकोस् भनी पिण्डदान दिइन्छ भनिएको छ । पितृहरूको रक्त सम्बन्ध र अंश सम्बन्धको ऋणबाट मुक्त हुन वंश निरन्तरताको आशीर्वाद प्राप्त गर्न उनीहरूको गोत्र र नाम जप्दै श्राद्ध गरिन्छ । हाम्रो सनातन हिन्दू धर्म परम्परामा बाँचुञ्जेल सेवा गर र मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्छ भनिएको छ । श्राद्ध किन गरिनुपर्छ, कहिले गर्ने र कसरी गर्ने भनेर हिन्दू धर्मशास्त्रमा बताइएको छ । सनातन परम्परा, संस्कृति र संस्कार भन्ने कुरा मानव अस्तित्वसँग जोडिएको हुनाले सबै कुरालाई अनुशरण गर्नुपरेको हो ।
हिन्दू परम्परामा लिखित तथा अलिखित थुप्रै मान्यता छन् । यसका अधिकांश मान्यता वैज्ञानिक र व्यवहारिक छन् भने केही मान्यताहरू भ्रमपूर्ण पनि छन् । त्यसैले यदाकदा विवाद पनि हुने गर्दछ । आफ्ना पितृहरूप्रति श्रद्धा प्रकट गर्ने उनीहरूको सुख दुःखका इतिहास सम्झने, योगदानको चर्चा गर्ने, उनीहरूका इच्छा र सपना के कति पूरा गरियो के गर्न बाँकी छ भनेर स्मरण गर्ने, पितृका स्मरणमा नयाँ कामको शुरुवात गर्ने, गरीब दीन दुःखीलाई दान दिने आदि थुप्रै कर्म गर्न सकिन्छ । हिन्दू धर्ममा मात्र होइन विश्वका सबै धर्ममा वर्षको कुनै दिन पितृपूजा वा स्मृति दिवस हुन्छ । सम्झने शैली र तरिका भने फरक हुन सक्छन् ।भनिन्छ मान्छे ईश्वरको अंश हो र हामी सबै बराबर छौं । हिन्दू धर्मशास्त्रीहरूले पनि हिन्दू धर्ममा कुनै विभेद छैन भनी प्रवचन दिएको सुनिन्छ । आप्mना पितृलाई श्रद्धा गरिने त्यो विशेष दिन वा तिथिमा आफन्त, इष्टमित्र, नातेदार, छरछिमेक बोलाउने र आफूसक्दो सत्कार र भोजन गराउन सकिन्छ । हिन्दु शास्त्रमा श्राद्धको प्रकार र विधि पनि बताइएको छ । मत्स्यपुराण अनुसार नित्य, नैमित्तिक र काम्य गरी तीन प्रकारका श्राद्ध हुने बताइएको छ । नित्य श्राद्ध भनेको देवता, ऋषि र पितृलाई गरिने श्रद्धा हो भने नैमित्तिक श्राद्ध भनेको मृतकको क्रियाकर्म, वार्षिक श्राद्ध, एकोद्दिष्ट श्राद्ध, पार्वण श्राध्द, तीर्थको श्राध्द आदि पर्दछन् । एवं प्रकारले काम्य भनेको कुनै माङ्गलिक कार्यमा कुनै नराम्रो घटना, कसैको मृत्यु–सूतक घटना आदि नपरोस् भनी गरिने श्राद्ध हो । यसलाई नान्दी वा वृद्धि श्राद्ध पनि भनिन्छ एकोद्दिष्ट श्राद्ध पितृ स्वर्गारोहण भएको तिथिका दिन गरिन्छ भने पार्वण श्राध्द जुनसुकै तिथिमा गर्न सकिन्छ भनिएको छ । तापनि बुबा वा हजुरबुबाको तिथिका दिन गरिने चलन छ ।
अन्तमा , कुनै कारण रोकिएर यो पन्ध्र दिनमा श्राद्ध गर्न पाइएन भने लक्ष्मीपूजाको औंसीमा गर्ने गरेको पाइन्छ । यसैगरी सोह्रश्राद्धमा कसैले सोह्र, कसैले छ र कसैले धेरै पिण्ड दिने चलन छ । सोह्रश्राद्ध अपरान्हकालमा गरिनुपर्छ । सूर्याेदयदेखि सूर्यास्तको समयलाई दिनमान भनिन्छ । दिनमानलाई पाँच भाग लगाएर अपरान्ह कालमा सोह्र श्राद्ध गरिनुपर्छ भनी बताइएको छ । पाँच कालभनेका प्रातः, सङ्गव, मध्यान्ह, अपरान्ह र सायं हुन् । हाम्रो शास्त्र अनुसार एकोद्दिष्ट श्राद्ध वा सोह्रश्राद्ध गर्दाको अघिल्लो दिन एक छाक खाने, घर सरसफाइ गर्ने, सफा र शुद्ध वस्त्र धारण गर्ने, कपाल फाल्ने, हातखुट्टाका नङ फाल्ने, चोखो खाने, परिवार सबै जम्मा हुने, ब्राम्हण बोलाउने, विधि विधान अनुसार पितृलाई स्मरण गरी तर्पण, सिधादान र पिण्डदान जस्ता कार्य हुन्छन् ।
श्राद्ध मानवीय जीवनको एउटा महत्वपूर्ण कर्मबनेको छ । त्यसैमा पनि सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व हुनाका साथै पितृऋणबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । श्राद्धमा प्रयोग गरिने सामग्री गंगाजल, तुलसीपत्र, सेतो फूल, जौ, तिल, जनै, सुपारी, दुना, टपरी, गाईको दूध, कुश, चामल, दक्षिणा आदि चाहिन्छन् । पितृपक्षको समाप्तिसँगै दुर्गापक्ष अर्थात् बडादशैँ सुरु हुन्छ ।
यी सबै कार्यबाट हाम्रा दिवंगत पितृले सन्तुष्टि प्राप्त गर्ने वा नगर्ने कुराको कुनै बैज्ञानिक प्रमाण भने हामीमध्ये कसैले भेटेका छैनौं । यो कर्ताको एउटा सन्तुष्टि मात्र पनि हुनसक्छ ।
सन्दर्भ सामग्री तथा श्रोतः पं. राजेन्द्र पन्थी ।
हाम्रो मतलाई हार्दिक धन्यवाद र हाम्रो मत परिवारलाई आभार व्यक्त।
Thank you to u all
हाम्रो मतलाई हार्दिक धन्यवाद र हाम्रो मत परिवारलाई आभार व्यक्त।
Thank you to U all
निकै लोभलाग्दो डिजाइन !
Thank to U all family