शिक्षा सुधारमा स्निग्ध सोच खोई ?

 श्रीमन्त भट्टराई

देश विकासको लागि मुख्य र महत्वपूर्ण पक्ष शिक्षा हो । शिक्षा सुधार भए देश सुधारिने हो । शिक्षा खराब भए देश खराब हुने निश्चित छ । एउटा भनाइ छ, ‘देशको अवस्था कस्तो भन्ने बुझ्न त्यो देशको सार्वजनिक विद्यालयहरुको कक्षाकोठा हेरे पुग्छ ।’

राजनीतिक विकास पश्चात् शैक्षिक विकास नभएकै कारण ध्वस्त भएका देशहरु धेरै छन् । तर, शैक्षिक विकास भएर राजनीतिक विकास नभएका देश कम छन् । अर्थात्, शिक्षाले राजनीति सुधार्छ । शिक्षाले समाज सुधार्छ । शिक्षाले मनोविज्ञान सुधार्छ । शिक्षाले व्यवहार सुधार्छ । शिक्षाले उद्यमशिलता सिकाउँछ । अनि, देश समृद्ध हुन्छ ।

नेपालको राजनीतिमा विभिन्न शासन व्यवस्था पार गर्दै गणतन्त्रसम्म आइपुग्दा शैक्षिक विकासले कति फड्को मार्यो त ? समाजमा ११ वर्षे जनयुद्धले सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक विकासको ढोकाहरु खुलाए पनि शैक्षिक विकासमा कति भूमिका खेल्न सक्यो अनि हाम्रा विद्यालयहरु कति व्यवस्थित र गुणस्तरीय भए त ? गम्भीर विषयको रुपमा यो प्रश्न खडा भएको छ । मलाई लाग्छ, नेपालको सार्वजनिक शिक्षाको यात्रा गणतन्त्रसम्म आइपुग्दा लथालिङ्ग र धान्नै नसक्ने भएको छ ।

दृष्यमा हेरौं न, विद्यालयमा कक्षाकोठाको लागि भवन छैन । शुद्ध पिउने पानी छैन । व्यवस्थित र सफा शौचालय छैन । घेराबारा छैन । आवश्यक फर्निचर छैन । खेलमैदान छैन । साइन्स ल्याब छैन । कम्प्यूटर छैन । टेलिफोन इन्टरनेट छैन । आवश्यकता अनुसारको दरबन्दी पनि छैन । शिक्षकलाई उत्प्रेरणा र हौसला छैन । समयको माग अनुसारको तालिम छैन । अझ, राजनीतिक हस्तक्षेप त्यस्तै छ । शिक्षकको दादागिरीको पनि कुरै नगरौं । यो दृष्य देशभरका ९० प्रतिशत सामुदायिक विद्यालयको हो ।

यता निजी विद्यालयको अवस्था पनि त्यस्तै लथालिङ्ग छ । नेपालको शैक्षिक विकासमा निजी विद्यालयको भूमिकालाई नकार्न सकिन्न । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने विद्यार्थी उत्पादन गर्ने काम निजी विद्यालयले गरेकै हो । तर, निजीमा आएको विकृतिलाई हलुका मान्न हुँदैन । अहिले निजी विद्यालय व्यापारको मुख्य माध्यम भएको छ । भाषा र टाई बेल्ट बेच्यो बस्यो । त्यसकै सिको केही सामुदायिकले पनि थाले । यहाँ त, शिक्षाकै परिभाषा फेरियो । भाषाले प्राथमिकता पायो । अंकले प्राथमिकता पायो । सीपको विषय गौण भयो । संस्कार र नैतिकताको विषयहरु विलय भए । विद्यालयहरु त अब्बल बन्दै जानुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने हुनैपर्छ । विद्यालयले भाषा पढाउने होइन, सीप सिकाउनुपर्छ । संस्कार सिकाउनु पर्छ । प्रविधिको माध्यमबाट नेपाललाई विश्वसँग जोडाउनुपर्छ ।

सँगसँगै सामुदायिक विद्यालयहरु पनि राम्रा हुनुपर्छ । कम्तिमा हेर्न लायक हुनुपर्छ । विद्यालयजस्तो देखिनुपर्छ । त्यस्तो भाव आउनुपर्छ । त्यहाँ पढने बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाउनुपर्छ । यो विषयलाई नकार्ने वा सर्वथा आफू मात्रै चल्नुपर्छ भन्ने सोच निजीले राख्नु समाजको लागि अपराध हुन्छ । एक रथका दुई पांग्राको रुपमा निजी र सामुदायिक दुबैलाई अंगीकार गरेर दुबै विद्यालयहरु सुधारमा अघि बढनुपर्छ । यो चेतना सामाजिक र राजनीतिक नेतृत्वकर्ता साथै विद्यालय सञ्चालकहरुमा आउनैपर्छ ।

सामुदायिक राम्रा हुनुपर्छ भन्नु भनेको निजी बन्द हुनुपर्छ वा निजी खराब हुन् भन्ने हो र ? म व्यक्तिगत रुपमा निजी विद्यालय बन्द गर्ने विषयसँग सहमत हुन सक्दिन । शिक्षामा निजी क्षेत्रको प्रवेश विश्व बजारको लागि आवश्यकता बन्यो । त्यसलाई स्वीकार गर्नुपर्छ । तर, सामुदायिक सुधार हुँदा निजीले रोइलो गर्नु आवश्यक छैन । निजीले आफनो स्तर बढाएर लाने र अभिभावकको मन जितेर विद्यालय सञ्चालन गर्ने हो । यसमा सरकारले सहयोग र सहकार्य गर्नुपर्छ । बरु, मन जितेर आवश्यकता अनुसारको उच्च शुल्क लिएर विद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्छ ।

सामुदायिक विद्यालय सुधार हुनुपर्छ भन्दा निजी विद्यालय धरापमा पर्छन् जस्तो लाग्छ भने विद्यालय छोडेर जग्गा बेच्न लागौं । त्यहाँ फाइदा छ । विश्वका हरेक देशमा सामुदायिक विद्यालय छन् । निजी पनि छन् । निजी पनि अब्बल छन् । सामुदायिक पनि । प्रतिस्पर्धा आलोचनामा होइन, अब्बल बन्नमा गर्नुपर्छ । गुणस्तर दिनमा गर्नुपर्छ ।

हाम्रा विद्यालयहरुमा कस्तो शिक्षा दिइन्छ ? के पढाइन्छ ? के घोकाइन्छ ? कति अंक कसरी दिइन्छ ? र, त्यो अंकले व्यवहारिक जीवनमा कस्तो भूमिका खेल्छ ? देशको सामाजिक र सांस्कृतिक विकासमा कति भूमिका खेल्छ ? क्यानेडाको जलवायु परिवर्तनको विषय रटाएर अनि कागजमा ‘ए प्लस’ अंक दिएर नेपालको प्राकृतिक, सामाजिक तथा सांस्कृतिक विकासमा सहयोग पुग्छ ? यी र यस्ता जटिल विषयहरुलाई अबको शिक्षाले उठाउनुपर्छ । त्यो एउटाको लागि वा एक पक्षको लागि होइन, दुबै पक्षको लागि हो । सुधार दुबै पक्षमा आवश्यक छ । एउटा पक्ष काखा, अर्को पक्ष पाखाको नीतिले देशको शिक्षा सप्रिन सक्छ ? सामुदायिक राम्रो भए मात्रै निजी पनि राम्रो हुने हो । निजी राम्रो भए सामु्दायिकलाई पनि सुधारिन दवाव हुने हो । त्यसकारण, शिक्षामा आरोप, आलोचना वा दोषारोपण होइन । स्निग्ध सोच राखौं । र, सुधारको एउटा मुख्य प्रतिबिम्ब बनौं ।

बिहिबार, ०७ असोज, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर