भरत गुरागाईँ बर्बरीक
तपाईँलाई लाग्दो हो आज बर्बरीकले मान, पदवी, पुरस्कार र सम्मानको बारेमा केही लेख्नेछ । अँहँ मलाई त्यो विषयमा केही लेख्न जाँगर छैन । जाँगर नभएपछि लेख्ने कुरै आउँदैन ।
ट्रक साहित्यकारले मलाई त यो बारेमा निकै अगाडिदेखि नै लेख्नुपर्याे भनिरहेछ । म कसरी लेख्न सकूँला जहाँ विवेक बिक्री हुन्छ र पदक पुरस्कारको नाममा सिंगो सरकार नै नाङ्गो भएर उत्रिन्छ । जस्तोसुकै राम्रो काम गरे पनि भुइँमान्छेहरुले यदाकदा बाहेक पुरस्कार पाउँदैनन् । पुरस्कारको अन्तर्यमा लुकेको कुरा अर्कै हुँदोरहेछ । अनि तपाईं नै भन्नुस् त म कसरी पुरस्कारको नाममा थपडी बजाउने रैती बन्नसक्छु ! त्यसैले यो विषयमा मलाई केही लेख्न मन छैन ।
पुरस्कारका सन्दर्भमा पूर्व प्रधानमंत्री के.पी. शर्मा ओलीको सामाजिक सन्जालमा आएको कथनले अलिकति राहत मिलेको हुनुपर्छ स्वाभिमानीहरुलाई । उहाँ भन्दै हुनुहुन्थ्यो ‘यो पदक जहाँ बनाइन्छ त्यहीँबाट घर घरमा पठाइदिनू नि ! यो के गरेको !’ पुरस्कारका सन्दर्भमा नाङ्गै उत्रिएर पुरस्कार कै हुर्मत् लिइएको सन्दर्भमा उहाँको ताजा कटाक्ष हो यो । तर.. तर उहाँ कै पार्टीका मान्छेहरुले नेपालको पूर्वी भेगमा पुरस्कारको ताण्डव गरेको चित्र पनि विचित्र कै छ । अब तपाईं नै भन्नुस् त म कसरी पुरस्कारको बारेमा लेखूँ !
चतुरलाल मण्डल नाम भएको मेरो अति आदरणीय गुरु हुनुहुन्थ्यो । उहाँ बेलाबेला भन्ने गर्नुहुन्थ्यो ‘अन्धेर नगरी चौपट राजा, टका सेर भाजा टका सेर खाजा ।’ यो उखानको अर्थ म त्यतिबेला बुझ्दिनथेँ । अहिले छ्याङ्ग बुझ्ने भएको छु । डाडूपुन्यू हातमा लिएर पुरस्कारको नाममा मनपरी चलाउनेहरुको विज्ञतालाई जति पूजा गरे पनि कम हुन्छ । समाज रुपान्तरणका लागि भाषा, कला, साहित्य र संस्कृतिको क्षेत्रमा नै जीवन समर्पित गर्नेहरु खोज न खबर भएर हराएको वर्तमानमा म कसरी पुरस्कार र पदकको जयजयकार गर्दै लेख्नसक्छु ! भो आज मलाई अर्कै विषयमा लेख्न मन छ ।
पृथ्वी घुम्छ, ऋतु परिवर्तन हुन्छ, केही नासिँदै जान्छ, केही जन्मिँदै जान्छ, कुनै समयको सलामी खाइरहने शक्तिमान कुनै समयमा पुगेर शक्तिहीन हुन्छ , यो सबै बक्तबक्तको बात हो । शक्तिको उन्मादले अहँकार बोकेर बाँच्नेहरुको अनुहार बक्तबक्तमा हेर्दै जाऊँला । यतिबेला मलाई कथनी र करनी फरक गर्ने ठुला मान्छेहरुको भाषण सुन्न साह्रै मन छ । अँहँ आज पुरस्कार र पदकको बारेमा केही लेख्न मन छैन ।
भियतनाममा अमेरिकी सेना काटिएको घटना बेग्लै हो, अफगानिस्तानबाट तालिवानको डरले त्यहाँको राष्ट्रपति र अमेरिकी सेना भाग्नुपरेको घटना बेग्लै होस् चाहे द. अफ्रिका होस्, चाहे पेरु होस् या नेपाल, नेल्शन मण्डेला, कामरेड गोन्जालो वा मोहनचन्द्र अधिकारीले आत्मसमर्पण गर्नु भन्दा अनन्त जेल जीवन स्विकार्नु बेग्लै कुरा हो । स्वाभिमान बोकेर सबै मान्छे कहाँ बाँच्न सक्छन् र ! सोझो अर्थमा भन्नुपर्दा सरकारसँग सेना हुन्छ पुलिस हुन्छ पैसा हुन्छ आसेपासेको ठूलो झुण्ड हुन्छ जेल हुन्छ अनेक अर्थ लगाउन सक्ने कानुन हुन्छ, त्यसैले सरकारले जे चाह्यो त्यो गर्नसक्छ । त्याग, समर्पण र बलिदान जस्ता शब्दहरु सरकारको शब्दकोषमा हुनुपर्दैन । बेइमानी र लुटतन्त्रमा सिङ्गो देश नै बन्दी छ, नागरिकले खाइनखाई गरेर कर तिरेको पैसाको व्यापक लुटानी भएको यो परिवेशमा तपाईं नै भन्नुस् त म कसरी विचरो पुरस्कारको बारेमा केही लेख्न सकूँला ! मैले ट्रक साहित्यकारको इच्छा पूरा गरिदिन सकिनँ ।
यो निश्चित हो ः सिंगै देश तुवाँलोले ढाकिएको छ, यस्तो धुमिल परिवेशमा कसैलाई मौकामा चौका हान्न मन लाग्नसक्छ । बुझे हुन्छ–समय एकनाश हुँदैन, कसैले आसन्न बिद्रोहको सामना गर्नुपर्छ, स्वाभिमानीहरु बिद्रोह गर्दै अघि बढ्नुपर्छ ।