शुभकामना छ मेयर साब

 अनन्तराज न्यौपाने

नेपाली काङ्ग्रेसलाई १४ औँ महाधिवेशनमा लागिसकेको छ । केटाकेटीका उमेरमा घटस्थापनाको छुट्टी भएपछि दशैँ आएजस्तो लाग्थ्यो । किनभने यही बेला पारेर आमाबाबुले नयाँ लुगा किनिदिनु हुन्थ्यो । अहिले दशैँ लागिसेकेको छैन । आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध सुरु हुँदैछ । यस बेला श्रद्धापूर्वक पितृको आराधना गरिन्छ । श्रद्धापूर्वक गरिने हुँदा यस कर्मलाई श्राद्ध भनिएको हो । नेपाली काङ्ग्रेसका मूल पितृ भनेका बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई हुन् । तर चारै नेतालाई तिनका जन्म र निधनका तिथिमा समेत सम्झन स्वयं नेपाली काङ्ग्रेस पार्टीले समेत छाडिसकेको छ । भदौ २४ बीपीको जन्मजयन्ती सकिएको २ हप्ता पनि बित्न नपाउँदै गणेशमानजीको स्मृति दिवस असोज २ गते आयो । तर यस दिन पनि नेपाली काङ्ग्रेसले औपचारिक रूपमा वीर गणेशमानलाई सम्झिएको खबर कतै पढ्न पाइएन । हुनत, काङ्ग्रेसको १२ औँ महाधिवेशनमा नै एउटा भनाइ भाइरल बनेको थियो ।

महाधिवेशनमा आएको एक महासमिति सदस्यले महाधिवेशन स्थलमा टाँगिएको बीपी कोइरालाको तस्बिरतिर देखाउँदै भनेछ– ‘हन, यी कुन बुढा हुन् ! जहाँ पनि यिनकै फोटा देख्छु । हाम्रो जिल्लामा काङ्ग्रेसका अफिसमा पनि यस्तै मान्छेको फोटो छ !’

महासमितिका यस्ता सदस्यको सङ्ख्या घटेको छैन बरु बढेको छ । दुर्भाग्यवश आगामी महाधिवेशनबाट पनि सभापतिमा शेरबहादुर देउवा नै निर्वाचित भए भने यो पार्टी यस्तै अज्ञानी, अराजक र बाहुबली मनुवाहरूको झुन्डमा परिणत हुने निश्चित छ । त्यसैले यस पार्टीको मूल्य, मान्यता, मर्म र मूल आत्मासहित यसलाई बचाउने हो भने देउवाको हातबाट नेतृत्व खोस्नु आवश्यक छ । २०२५ सालमा बीपीले विराटनगरमा भाषण गर्दै मुलुक बचाउन शल्यक्रिया रोज्नु परे पनि म तयार छु भनेर सशस्त्र विद्रोहका प्रति आफ्नो साङ्केतिक अभिमत जाहेर गरेका थिए । आज नेपाली काङ्ग्रेसमा त्यही अवस्था छ । शेरबहादुर नामको अराजक, अकर्मण्य र अधिनायकवादी एक नेताले सिङ्गो काङ्ग्रेसलाई छोपेर राखेका छन् । देउवाका ढकनीले ढाकिएको काङ्ग्रेसका निष्ठावान् कार्यकर्ता धेरै समयदेखि निस्सासिएको अवस्थामा छन् । र, यथार्थमा उनीहरू पार्टीको देउवाकरणबाट उन्मुक्ति चाहन्छन् । यसका लागि निर्ममता र सम्मानका साथ देउवालाई नेतृत्वबाट बहिर्गमन गराउनु आवश्यक छ ।

यता काङ्ग्रेसको जन्म थलो विराटनगर पनि महाधिवेशनले ढपक्कै ढाकेझैँ भएको छ । टोलटोलमा कसको गुट बलियो होला र कसले हावा खाला भन्ने चर्चापरिचर्चाले पर्याप्त स्थान पाएको छ । साँझ परेपछि सेकुवा पसलदेखि रेस्टुरेन्टका टेबुलसम्म अहिले काङ्ग्रेस कार्यकर्ता सजिएका छन् ।
सबैभन्दा बढी चुनाव विराटनगर महानगरपालिकाको वडा नम्बर ३ लाई लागेको देखिन्छ । किनकि यो वडा विराटनगरका मेयर भीम पराजुलीजीको पनि हो भनेर चिनिन्छ । मेयर पराजुली महानगरको काम थाती राखेर विगत २ हप्तादेखि घरदैलो अभियानमा छन् भन्ने खबरले विराटनगरमा राम्रै व्यापकता पाएको छ । खासमा मेयर पराजुलीले सिङ्गो विराटनगरलाई सिँगार्न भ्याएनन् होला, किनभने उनी साह्रै बिजी मान्छे हुन्; कता–कता भ्याउन् ? तर अन्त केही गर्न नसके पनि उनले आफ्नो वडालाई चाहिँ राम्रै बनाएका छन् । त्यसैले वडा नम्बर ३ मा त उनी सुतीसुती जित्नु पर्ने हो । तर अत्यन्त सक्रिय मेयर पराजुली चूप लागेर बस्न सक्तैनन् । आफ्नै वडामा किन नहोस् मेहनत गरेको गर्यै छन् ।

उनका एक जना समर्थक आत्मविश्वासका साथ भन्दै थिए, ‘हाम्रा भीम दाइले नजित्ने सबालै छैन । दुई सय जना त उहाँका नातेदार नै क्रियाशील छन् ।’ नभन्दै यस्तो पुरुषार्थ कसैले र कुनै नेताले गरेको रहेनछ । आफ्नै नातेदार दुई सय जनालाई पार्टीको क्रियाशील सदस्यताले विभूषित बनाउनु वास्तवमा ठूलै महान् कर्म नै हो । यसको प्रशंसा नै गर्नुपर्छ ।

यसैबिच मेयर साबले वडाको अधिवेशनलाई दृष्टिगत गरेर गिटी वितरण गरेको चर्चा पनि विराटनगरमा भाइरल हुन थालेको छ । यस लेखकले जानेबुझेसम्म वडा नम्बर ३ का कुनै बाटामा पनि गिटी हाल्नु पर्ने अवस्था त छैन । तर पनि पिच नपुगेका ससाना गल्लीमा र आफ्ना समर्थक कार्यकर्ताका आँगनसम्मै मेयर साबले गिट्टी झारिदिए भने कुनै ठूलो कुरा भएन । मेयर भएर यति पनि गर्न नसके के को मेयर ?

अर्कातिर यही वडामा मेयरका तर्फबाट वडा नं. ३ कै बेरोजगार क्रियाशील सदस्यलाई जागिरका लागि फाराम भराएको चर्चा उत्कर्षमा छ । नेपाली साहित्याकाशका एक सशक्त कवि भूपि शेरचनले ‘यो हल्लैहल्लाको देश हो’ भन्ने एक चर्चित कविता लेखेका थिए । तर यहाँ अधिकांश हल्लाहरू यथार्थमा अवतरित हुने गर्छन् । भूपिको कविताको आशय पनि यही छ । स्वर्गीय बलबहादुर राई २०४८ ताका भौतिक योजना मन्त्री थिए । एक पत्रकारले राईलाई सोधे, तपाईंले त आफ्ना कार्यकर्ता धमाधम जागिर लगाइरहनु भएको छ रे हैन ?’

‘यो पनि सोध्ने कुरा हो ?’, राईले झोक्किँदै जबाफ दिएका थिए, ‘दश–बीस कार्यकर्ता पनि जागिर लगाउन सकिन भने के खान मन्त्री हुनु त ?’ हाम्रा मेयरको सन्दर्भ पनि राईको कहानीसित मिल्छ । पन्ध्र–बीस जनालाई पनि जागिरको आशा दिन नसक्ने के–को मेयर ? यति बेला मेयरलाई शुभकामना दिनु उपयुक्त हुन्छ ।

मङ्गलबार, ०५ असोज, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर