गणेश लम्साल
यो वर्षको शरद ऋतु सुरु भइसकेको छ । वर्षको सबैभन्दा उत्तम र सुन्दर यो याम आमोदप्रमोदका लागि मात्रै नभएर हिन्दु संस्कृति मान्नेहरुका लागि चाडपर्वको पनि मौसम हो । चाडवाडकै लागि यो यामभित्र पर्ने असोज र कात्तिक महिनामा सबैभन्दा धेरै मूर्ति पूजा हुने गर्दछ । धर्म संस्कृतिको नियमअनुसार तामझामसहित देवीदेवताको प्रतिकका रुपमा मूर्तिको पूजा आराधाना गरिन्छन् ।
शरद ऋतुभित्र विश्वकर्मा,दुर्गा पूजा, काली पूजा मुख्यरुपमा पर्दछन् । यो समयमा देशैभरि गाउँ–गाउँमा धुमधामले मूर्ति पूजा गरिन्छ । मूर्तिपूजामा रंगिचंङगी ध्वजापतका, महंगा रसायनिक रंग, कपडा, सिमेन्ट, प्लास्टर, प्लास्टिक र विभिन्न मालाहरु प्रयोग गरिन्छन् । एक स्थानमा मूर्ति निर्माण गर्न मात्र हजारदेखि लाखौं खर्च गरिन्छ ।
हिन्दु प्रचलनअनुसार मूर्ति पूजा गरिसकेपछि बाजागाजासहित सकेसम्म टाढा र प्रसिद्ध ठूला खोलानदीहरुमा लगेर विर्सजन गर्ने गरिएको छ । विराटनरमा आसपासका नदीहरु सिँघिया र केशलियामा मूर्ति विर्सजन गर्नेहरुको ताँती नै हुन्छ । कसैले कोशी नदीमा लगेर विर्सजन गर्ने गरेका छन । झापाको मेची, कन्काई नदीमा पनि मूर्ति विर्सजन गर्नेहरुको लर्को नै लाग्छ । देखासिखी रुपमा नेपालमा पनि सुरु भएको मूर्ति पूजा र त्यसपछि खोलानदीमा तामझामसहित विर्सजन गर्ने कार्य नेपालमा बस्ने हिन्दुहरुको पनि परम्परा नै बनिसकेको छ । मूर्ति पूजा गर्नु धर्म संस्कृति अनुसार आ–आफनो रुचि र श्रद्धाको अधिकार हो । हाम्रो देशमा राज्यले पनि संरक्षण दिएकोले मूर्ति पूजा परम्परा झन्झन् भव्य हँुदै गइरहेको छ ।
दुर्गा पूजा, सरस्वती पूजा,काली पूजा, गणेश पूजा, कृष्ण जन्माष्टमी पूजा, विश्वकर्मा पूजा, शिवपूजा, इन्द्रपूजा आदि अनेकौं पूजाहरुमा नेपालभर लाखौं–करोडौं मूर्ति निर्माण हुन्छन् । अलग्गै अध्ययन नभए पनि मूर्ति पूजामा नेपालमा मात्र करोडौंको आर्थिक कारोबार हुने गर्दछ । मूर्ति पूजाले सयौं कलाकार, डेकोरेटर र तिनको परिवारको भरपोषण गरेको छ । रसायनिक रंग, सजावटका सामग्री, पूजा सामग्री, फलफूल र मिष्ठान्न सामग्रीहरुको पनि करोडौको व्यापार हुनेगर्दछ । जसले गर्दा व्यापार व्यवसायमार्फत अर्थतन्त्र वृद्धिमा सघाइरहेको छ । धर्म संस्कृतिसँग जोडिएको परम्परा भएकोले समाजलाई चलायमान पनि बनाउने गरेको छ । सामाजिक सद्भाव र एकतामा बल पनि पुर्याइरहेको छ ।
यति हुँदाहुदै पनि पूजापछि मूर्तिलाई खोलानदीमा लगेर विसर्जन गर्ने (सेलाउने) परम्परा चाहिँ गलत हो । खोलानदीमा लगेर मूर्ति सेलाएर हामीले स्वच्छ राख्नुपर्ने स्थानलाई प्रदुषितमात्र बनाएका छैनौ जानीजानी आफै अपवित्र बनाइरहेका छांै । किनभने मूर्तिमा प्रयोग हुने रसायिनक रंग, कपडामा प्रयोग हुने रंगहरुमा लिड (सिसा) को मात्रा अधिक हुन्छ । जुन जीवजन्तु र पर्यावरणका लागि अति नै हानिकारक हुन्छ । अर्कोतिर सिमेन्ट, प्लास्टिकका माला र विभिन्न सजावटका सामग्रीहरु पनि पर्यावरणका लागि हानिकारक मानिन्छन् । मूर्ति माटो वा सिमेन्टले मात्र बनेको हँुदैन त्यसमा बाँस,काठ र रडहरु समेत प्रयोग गरिएको हुन्छ । त्यस्ता वस्तु नदीमा अड्किएर बस्दा नदीको बहावलाई छेकिदिन्छ र फोहोरको थुप्रोमा परिणत हुन्छ । सेलाएको मूर्तिकै कारण खोलानदीका माछा, सर्प, गोही र अन्य जन्तु मासिन्छन ्। खोलाको पानी प्रदृषित हुँदा बालीनालीका लागि पनि हानिकारक हुन्छ । खोलाको पानी पिउने जनावर विरामी हुनपुग्छन् । हामी मानिसहरुले पनि खोला नदीको पानी स्वच्छ मानेर पिउँदै आएका छौं । त्यत्तिमात्र होइन प्रसिद्ध नदीका पानीहरु घरमा ल्याएर अमृत रसका रुपमा पनि प्रयोग गर्ने गरेका छांै ।
खोला नदी हाम्रो सभ्यताको द्योतक मात्र नभएर हाम्रो प्राण पनि हो । त्यसैले खोलानदीहरुको पानी निर्मल, स्वच्छ र पवित्र हुनपर्छ रहनुपर्छ भन्ने हाम्रो मान्यता छ । यतिमात्र होइन अविरल रुपमा बग्न पाउनु खोलानदीको प्राकृतिक अधिकार हो । खोला नदीभित्र सुरक्षित रुपले बाँच्न पाउनु सबै जलचर प्राणीहरुको हक हो ।
खोलानदीको स्वच्छतालाई ख्याल गर्दै भारतका धेरै ठूला साना नदीहरुमा मूर्ति विर्सजन गर्न रोक लगाउन थालिएको छ । असामको ब्रम्हपुत्र, वारणासीको गंगा अनि दिल्लीको नर्मदा र यमुना नदीमा मूर्ति सेलाउन दिन छाडिएको छ । भारतका केही राज्यहरुमा त खोलानदीमा मूर्ति विसर्जन गरेमा पक्राउ गरेर हजारौं जरिवानासमेत भराउन थालिएको छ । खोलाको स्वच्छताको महत्वलाई बुझेरै ती ठाउँहरुमा आजकल कतै जमिनमा खाल्डोमा मूर्ति पुरेर त कतै अलग्गै कृत्रिम पोखरी बनाएर एकै ठाउँ विसर्जन गर्न थालिएको छ ।
दुई वर्षअघि विराटनगरको सिंघीया खोला सफाई अभियान थालिएको थियो । प्रदेश १ सरकारका तत्कालीन सामाजिक विकासमन्त्री जीवन घिमिरे आफै नदी सफा गर्ने अभियान सफल बनाउन अघि सरेका थिए । अभियानले गर्दा सिंघीया खोला धेरै सफा पनि भएको थियो । मन्त्री घिमिरले प्रदेशभरिका खोला सफा गर्ने अभियान विस्तार गर्ने प्रतिबद्धता जनाए पनि त्यो अभियान खै किन हो अगाडि बढ्न भने सकेन । नदी स्वच्छ हुनुपर्छ भन्ने बुझेर दुर्गन्धित भैसकेको वाग्मती सरसफाई अभियान काठमाडौमा अझै चलिरहेको छ । उक्त अभियानमा देशका नामी व्यक्तिहरु अझै भौतिक रुपमा उपस्थित भएर सहयोग गरिरहेका छन् ।
खोलानदी फोहोर हुनुहँुदैन, स्वच्छ राख्नुपर्छ भन्ने प्रस्ट बुझेका हामी प्रदेश १ बासीहरु चाहिँ किन चुपचाप बस्ने ? हामीले पनि खोलानदीमा मूर्ति विसर्जन गर्ने परम्परामा रोक किन नलगाउने ? अटेर गर्नेहरुलाई कानून बनाएर जरिवाना किन नगर्ने ? संघ र प्रदेश सरकार मात्र नभएर महानगर, उपमहानगर, नगर र गाउँपालिकाहरु आ–आफ्नै क्षेत्रका खोला नदीहरु स्वच्छ र पवित्र राख्न अग्रसर किन नहुने ? खोलानदीमा मूर्ति विसर्जन गर्न नदिने कानुन किन नबनाउने ? पर्यावरणवादी, नागरिक समाज, स्थानीयबासीहरुले पनि मूर्ति विर्सजन गर्र्ने परम्परा फेर्नुपर्छ भनेर सचेतना अभियान किन नथाल्ने ?