भरत गुरागाईँ बर्बरीक
सन्दर्भ नाटकको नै हो । उसबेला म निकै सानो थिएँ । हाम्रो गाउँमा दशैँको सप्तमी र अष्टमीको राति नाटक हुने परम्परा नै थियो । त्यसपालि भने गाउँ कै अग्रज कलाकार हरि लुइटेलले लेख्नुभएको नाटक ‘तकदीर’ मंचन हुनेबाला थियो ।
एकछिन नाटक तकदीर कै कुरा गरौँ न । मेरो दिमागमा थोरै धमिलो चित्र मात्रै छ नाटकको । मेरो माल्दाजु अर्जुन पनि उसबेलाको नाटकको कलाकार । त्यतिबेला इनरुवास्थित सार्वजनिक निर्माण शाखामा जागिरे हुनुहुन्थ्यो । सरकारी जागिरे भएकोले लामो छुट्टी हुने कुरै थिएन । माल्दाइ सप्तमी बेलुका आइपुग्नुभो , अष्टमीको राति नाटक मन्चन हुँदैथियो ।
म सानो बच्चा नाटक हेर्न बसेको थिएँ । पराल ओछ्याएर दर्शकदीर्घाको अघिल्लो भागमा बसेको थिएँ । नाटकले बोकेको कथा अनुसार माल्दाइ गरीब बूढो मान्छेको भेषमा दशैँ खर्च टार्नलाई एउटा खसी बेच्न बजार जाँदै हुनुहुन्थ्यो । खसी बेचेर फर्किँदा केही गुण्डाहरुले घेर्छन् । घम्साघम्सी हुन्छ, लुटपाट हुन्छ , एउटा गुण्डाले छूरा प्रहार गर्छ , रक्ताम्य भएर बूढो मर्छ, पर्दा खस्छ ।
यता यथार्थमा म आत्तिई आत्तिई रुन थालेँछु (मेरो माल्दाइलाई मारेको भनेर) । त्यसरी मार्ने गुण्डा नाइकेको रुपमा दीपक लुइटेल दाइ हुनुहुन्थ्यो । नाटक त सकियो तर केही वर्षसम्म दीपक दाइप्रति मेरो धारणा सकारात्मक हुन सकेन । मेरो मनमा गुप्त शत्रुताको भावना भड्किएको थियो । दीपक दाइले नाट्यकर्मलाई निरन्तरता दिन सक्नुभएन । हिजोआज टेम्पू नं. ८२५२ को चालकको रुपमा जिन्दगी चलाइरहनुभएको छ ।
मलाई थाहा छ, सबै नाटक उत्तिकै चर्चित र लोकप्रिय हुँदैनन् । केही मात्र नाटक यस्ता हुन्छन् जसले दर्शकको मनमा लामो समयसम्म बास गर्छन् । तकदीर लोकप्रिय नाटक हो । आज पनि त्यो बेलाका दर्शकहरु तकदीर जस्तो नाटक भनेर तारिफ गर्ने गर्दछन् ।
नाटक तकदीरमा हरि लुइटेलले गीतहरु पनि सामेल गर्नुभएको थियो । ‘भर्तीमा नजाऊ गोर्खाली दाजु नेपाल छोडेर..’ ‘यो जीवन दुखी छ…’ जस्ता मुखैमा झुण्डिने गीतहरु नाटकको कथामा नै सलल्ल बगेका थिए । यतिबेला विचार गर्छु , सामाजिक यथार्थवादी नाटक थियो त्यो । परिवर्तनका लागि विचार निर्माण गर्न चकमक र झुलोको काम गरेको थियो नाटकले ।
हरि लुइटेल अहिले हुनुहुन्न । कसैको केही पनि बिझाइँ नगरी आफूलाई लुटाएर स्वयंले जीवन विश्रामको बाटो रोज्नुभयो । तकदीर पछि उहाँले अर्काे नाटक लेखेको मलाई थाहा छैन । पछि उहाँसँग हेलमेल मै रहेँ म । तकदीर नाटकको पुनर्लेखन र मंचन मिलेर गरौँ भनी धेरै अनुरोध गरेँ तर उहाँ यो क्षेत्रको चिन्तन र कार्यबाट धेरै पर पुगिसक्नुभएको रहेछ । नाईँ कहिल्यै भन्नुभएन, तर काम पनि गर्नुभएन ।
हामीले यो बीचमा प्रशस्त नाटकहरु मंचन गर्याैँ, जसले कुनै न कुनै रुपमा जीवनलाई सम्बोधन गरे । हाम्रो नाटकको असर दर्शकलाई कति पर्याे त्यसको लेखाजोखा पनि गरिएन सायद । हामीले नेपाली ग्रामीण जीवनको भाग्य र भविष्य बदलियोस् भन्ने चाहना राख्यौँ तर हाम्रो चाहनाले नहुँदो रहेछ । धेरैधेरै कुराहरुको सम्बोधन राजनीति र सत्ताले नगरी नहुँदो रहेछ ।
एउटा इच्छा छ मेरो । इच्छा हुने बित्तिकै पूरा हुनुपर्छ भन्ने पनि हुँदैन । सबै इच्छा पूरा पनि हुँदैनन् थाहा छ मलाई । तर पनि कोसिस किन नगर्ने भन्ने लागेको छ मलाई । यो देशका राजनेता के पी शर्मा ओली र प्रचण्डलाई अलग अलग एकान्तमा भेट्न मन छ र उहाँहरुको आँखामा आफ्नो आँखा राखेर विनयी भावका साथ एउटै साझा प्रश्न गर्न मन छ ..‘नेपालीको तकदीर के हुन्छ ?’ के तपाईं मलाई साथ दिन सक्नुहुन्छ ?