अनन्तराज न्यौपाने
नेपाली काङ्ग्रेस आफ्नो १४ औँ महाधिवेशनको सङ्घारमा छ । महाधिवेशन निर्धारित समयभन्दा २ वर्ष ढिलो हुँदैछ । आफैँले बनाएको संविधानले महाधिवेशनका लागि तोकेको समयसीमा नेपाली काङ्ग्रेसले नाघिसकेको छ । तर देशको एक मात्र लोकतान्त्रिक पार्टी यही कहलिएको छ किनभने प्रतिस्पर्धामा अरू यस्ता दल छैनन् । भएका लोकतान्त्रिक भनिने दल पनि दक्षिणपन्थी भासमा छन् ।
त्यसोत, नेपाली काङ्ग्रेस पनि दक्षिणपन्थी भासमा नभासिएला भन्न सकिन्न । यसअघिको काङ्ग्रेसको महाधिवेशन र महासमितिमै नेपाललाई हिन्दु राज्य बनाउनु पर्छ भन्ने दह्रो आवाज उठिसकेको छ । मूर्धन्य कहलिएका केही नेताहरू यसमा लागि परेका छन् । वीपीपुत्र एवम् पार्टीका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले बारम्बार हिन्दुराज्यको वकालत गरिसकेका छन् । त्यसैले भविष्यको नेपाली काङ्ग्रेस राप्रपाको फोटोकपीका रूपमा प्रतीत हुन थाल्यो भने आश्चर्य नमाने हुन्छ ।
एक साताअघि आफूलाई सभापतिका उम्मेदवार घोषणा गरेका पार्टीका उपसभापति विमलेन्द्र निधिले आफ्नो सम्पर्क कार्यालयको उद्घाटन गर्दा हिन्दु वैदिक पद्धतिले कार्यालयको पूजा गराए । त्यसोत, उनले बौद्ध गुरु र इस्लामिक मौलानालाई पनि त्यहाँ त्यत्तिकै सम्मान र आदरका साथ बोलाएर बौद्ध र इस्लामिक आराधना पनि गराएका हुन् । तर यसको प्रतिक्रिया उल्टो प¥यो । कुरा काट्नेहरूले उपसभापति निधि हिन्दुराज्यका पक्षमा गएको आरोप लगाए ।
केही दिनपछि निधिले पत्रकारहरूलाई आफू धर्मनिरपेक्षकै पक्षमा दृढ भएको भन्ने स्पष्टीकरण दिनुप¥यो । त्यसपछि मात्र यो प्रकरण सेलायो ।
सिद्धान्ततः नेपाली काङ्ग्रेस आफ्नो स्थापना कालदेखि नै धर्मनिरपेक्षवादी पार्टी हो । यस पार्टीको झन्डाका बीच भागमा भएको सेतो रङमा अङ्कित ४ वटा तारामध्ये एकको अर्थ धार्मिक स्वतन्त्रता हो । पार्टी उपसभापति निधिले यसको चित्तबुझ्दो व्याख्या गरेका छन् । उनका अनुसार धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्ष भन्नु एउटै कुरा हो । २०६३ अघि प्रजातन्त्र भनिन्थ्यो । माओवादीहरू शान्ति प्रक्रियामा आएपछि यसलाई लोकतन्त्र भन्न थालियो । जसरी प्रजातन्त्र र लोकतन्त्र भन्नु एउटै कुरा हो, त्यसैगरी धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्ष पनि उस्तै हो ।
नेपाली काङ्ग्रेसका सबैभन्दा ठूला नेता वीपी कोइराला धर्मनिरपेक्षका सिद्धान्तमा सधैँ अडिग भइरहे । त्यस बेलाका नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस नामका दुई आन्दोलनकारी दलको एकीकरण गरेर २००६ साल चैत २७ गते नेपाली काङ्ग्रेसको स्थापना गरिएको थियो । उस बखतदेखि धर्मनिरपेक्षका पक्षमा रहेका कोइराला आफ्नो जीवनको अन्तिम घडीसम्म पनि यही अडानमा कायम रहे । यसको प्रमाण काङ्ग्रेसका एक मूर्धन्य नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरिका सम्पादनमा प्रकाशित ‘विश्वेश्वरप्रसाद कोइराला : प्रतिनिधि सङ्कलन’ नामक पुस्तकमा पाइन्छ । २०३६ साउन ४ गते प्रकाशित ‘विक्ली मिरर’ भन्ने पत्रिकामा प्रकाशित अन्तर्वार्तामा कोइरालाले भनेका छन्, ‘नेपाल हिन्दु राज्य हुँदै होइन । कसैले हिन्दुराज्य भन्छ भने त्यो झेलीमात्र हो । नेपाल निश्चय पनि धर्मनिरपेक्ष राष्ट्र हो । धर्मनिरपेक्ष राज्यमा धार्मिक आस्था राख्ने स्वतन्त्रता हुन्छ ।’
तर आजको नेपाली काङ्ग्रेसका अधिसङ्ख्य नेतादेखि कार्यकर्ता सम्मलाई हिजो वीपी कोइरालाले के–कस्ता अडान र सिद्धान्त लिएका थिए भन्ने कुराको मतलब छैन । नेपाली काङ्ग्रेसका नेता–कार्यकर्तामा अध्ययनगत कमजोरीको अभाव स्थापनाकालदेखि नै हो । पहिलो कुरा त, यस पार्टीले सुरुदेखि अहिलेसम्म कहिल्यै पनि प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी बनाएन । त्यसोत, पार्टी धेरैजसो सङ्घर्ष, आन्दोलन, विद्रोह र क्रान्तिकै बाटोमा हिँडिरह्यो । तर त्यति बेला पनि प्रशिक्षण र अध्ययनको पाटोलाई बढाउन सकिन्थ्यो । तर गरिएन । प्रजातन्त्रको पुनःस्थापना र दोस्रो जनआन्दोलनको सफलतापछिका खुला र स्वतन्त्र दिनमा पनि काङ्ग्रेसका प्राथमिकतामा यो कर्म परेन । यसका कारण पार्टी एउटा अबुझहरूको विभिन्न झुन्डका रूपमा परिणत भएको छ ।
यो रोग पहिले पनि थियो भन्ने कुरा स्वयं वीपी कोइरालाले २०१५ सालमा पार्टीको मुखपत्र नेपाल पुकारमा लेखेको एक लेखले प्रमाणित गर्छ । वीपीले ‘क्रान्ति साधन र साध्य प्रजातन्त्र’ शीर्षकमा लेखेको उक्त लेखमा उस बेलाका काङ्ग्रेस कार्यकर्ताका ७ मुख्य खराबीका बारेमा उनले स्पष्ट पार्न खोजेका छन् ।
कोइराला लेख्छन्, ‘………………हाम्रो छैठौँ खराबी भनेको साथीहरूमा अध्ययनको ठूलो कमी हुनु हो । हामीले इतिहासका बितेका घटनाहरूका प्रकाशमा वर्तमान राजनीतिको बाटो पहिल्याउनु पर्छ । हामी त्यसो गर्दैनौँ । उदाहरणका लागि पार्टीको घोषणापत्रसम्मको उपयुक्त ज्ञान नभएका धेरै साथीहरूलाई मैले देखेको छु । यसलाई हामीले हटाउनु परेको छ ।…………’
काङ्ग्रेस नेता–कार्यकर्तामा सैद्धान्तिक–वैचारिक ज्ञान, बहस, अध्ययन र प्रशिक्षणको अभाव सुरुदेखि अहिलेसम्म भएको वीपीकै लेखबाट सिद्ध हुन्छ ।