अस्वभाविक प्रतिक्रिया : सामान्य चर्चा

 प्रेम मिभक लिम्बू

राजा आउ, देश बचाउ भन्नेहरूले प्रचण्डलाई गाली गर्नु स्वभाभिक हो । प्रचण्डको नेतृत्वमा, उनीहरुको स्वर्ग खरानी भएको थियो । हिजो प्रचण्डको एउटा निर्देशनमा देशभर चट्याङ जसरी पड्किने कार्यकर्ताहरु (पूर्व जनमुक्ति सेना)ले गाली गर्नु चाहीं *अस्वभाविक छ, यसलाई चाहिँ पार्टी नेतृत्व र संघीय लोकतान्त्रिक गणतन्त्रमा निष्ठा राख्ने दलहरु पनि गम्भीर भएर उनीहरुको दुःखमा साथ दिनुपर्छ । मलमपट्टी लगाउनै पर्छ । यहाँ चर्चा गर्न खोजिएको अस्वभाविक पाटोको हो ।

अस्वभाविक प्रतिक्रिया जनाउने को ?

निःस्वार्थ मृत्यु वा मुक्तिको कसम खाएर, विचारको मातहत रहेर निर्माण गरिएको राजनीतिक चरित्रको फौजी संगठन थियो नेकपा माओवादी । तयार पारिएको संरचनामा उनीहरुलाई कुनै सेवा सुविधा तोकिएको थिएन । यहि अभावको पृष्ठभूमिमा पनि उनीहरुको साझा उद्देश्य थियो, पार्टीको निर्देशनमा राजनीतिक व्यवस्था परिवर्तन गरि समाजका सबैखाले शोषण र उत्पीडनको विरुद्धमा लड्न ।

मानव समाजमा, मानव निर्मित आर्थिक, सांस्कृतिक, राजनीतिक र सामाजिक उत्पीडनबाट मुक्ति दिनु नै मुख्य उद्देश्य हो । यहि महान् उद्देश्यलाई प्राप्त गर्नको लागि जस्तोसुकै अभावमा पनि पूर्व जनमुक्ति सेनामा सबै चुनौतीलाई कठिन परिस्थितिलाई अवसरको रुपमा लिने संस्कार निर्माण गरियो । माथि उल्लेखित सबै उपलब्धि हासिल नभएपनि वर्तमान अवस्थामा व्यवस्था परिवर्तन भएको छ । धेरै राजनीतिक पार्टीहरूको सोचभन्दा बाहिरको लगभग तीन सय वर्षको इतिहास बोकेको राजतन्त्र समाप्त भएको छ । हामी योद्धाहरू परिवर्तनको अभियानमा सक्रिय रहँदा समाजका जान्नेबुझ्ने हौं भनेर दाबी गर्नेहरु कुइनाले पहाड लडाउन सम्भव छैन भनेर अर्ति उपदेश दिन्थे । अहिले आएर उनीहरुले नपत्याएका मान्छेहरुले अग्रभागमा सक्रिय भएर परिवर्तन भएको व्यवस्था ‘गणतन्त्र नेपाल’ मा हिजोका नपत्याउनेहरू सांसद र मन्त्री भएको देख्दा खुशी लाग्छ । अहिले आएर हिजोको चुनौतीपूर्ण कठिन समयलाई सम्झिँदा गलत काम र अभियानमा नलागेको पुष्टि भएको छ । त्यसैले गर्वले छाति फुल्छ । यहि गौरबशाली ईतिहास बोकेको योद्धाहरुको संगठन हो, जनमुक्ति सेना नेपाल ।

अबको हाम्रो संकल्प

आर्थिक, साँस्कृतिक र सामाजिक अवस्था र चरित्र फेर्ने अभियान जारी राख्न सकिन्छ । अधुरा रहेका बाँकी कामलाई पुरा गर्ने जिम्मेवारी पनि समाजमा ठूलो राजनैतिक प्रतिबद्धता जनाउने संगठनको नै हुनेछ । यो गौरवशाली संगठनका योद्धाहरु देशकाल, परिस्थिति अनुसार बदलिएर राजनैतिक अनुशासनमा रहेर जिम्मेवारी पुरा गर्न तयार हुनु नै आफ्नोे ईतिहासलाई साँचो अर्थमा सम्मान गरेको ठहर्नेछ । यो संगठनलाई समाज निर्माण कार्यमा लगाउनु हाम्रो दयित्व हो । संबैधानिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई, निष्ठापूर्वक स्वीकार गर्ने राजनैतिक पार्टीहरु बिचलित हुन खोजेमा सम्बन्धित सबै दललाई खबरदारी गर्नुपर्दछ । यो व्यवस्था निर्माण गर्न महत्वपूर्ण भूमिका हाम्रो संगठनको रहेको छ ।

असल नियतले नागरिकको राजनैतिक अधिकार सुरक्षा गर्ने सम्बन्धमा रचनात्मक तरिकाले हाम्रो संगठन पहरेदार बन्न सक्नुपर्छ । आजीवन सक्रिय हुने संकल्पले हाम्रा बाँकी कार्यभारलाई पुरा गर्न सकिन्छ । हिजो पनि बिचारको अधिनस्थ हामी थियांै र अब पनि हुनुपर्दछ । बिचारअघि हामी साथमा पछि रहने अठोट गरिसकेपछि परिवर्तनको पक्षमा लेखेर, बोलेर, पेशा व्यवसाय गरेर, गीत, संगीत, सबै माध्यमबाट उभिन सकिन्छ । अहिलेको सन्दर्भमा यसरी नै बाँकी कार्यभार पुरा गर्ने साझा कार्यक्रम बनाउन सकिन्छ ।

खेलौना बनाउनु भएन

जनयुद्ध, जनविद्रोह, २०६३–६३ को आन्दोलन र मधेस आन्दोलनपश्चात पहिलो र दोस्रो दुई वटा खर्चिलो संबिधानसभाको चुनाब मुलुकले सम्पन्न गर्नुप¥यो । यो समयमा नेपाली राजनीति माओवादी पार्टी र संसद पार्टीबीचमा पुरै हारजितको मानसिकताले राजनैतिक संघर्ष जारि रह्यो । लामो संघर्षपश्चात दोस्रो संविधानसभाले २०७२ मा संविधान दिन सफल भयो । यो सबिधान जारी भएपछि एक वर्षभित्रमा नयाँ संविधानले व्यवस्था गरे अनुसार सबै तहको चुनाब सम्पन गर्ने साझा सहमति भयो । सहमतिअनुसार चुनाब पनि भएको छ । त्यसपछि माथि उल्लेख गरिएको व्यवस्था परिवर्तनको लागि महत्वपूर्ण भूमिका निर्बाह गर्ने संगठनको पात्रहरुलाई जो जसले सत्ता र सरकार सम्हाले पनि उनीहरुलाई समाज निर्माण कार्यमा लगाउने जिम्मेवारी सत्ता र सरकार चलाउनेले भुमिका निर्बाह गर्ने शान्ति सम्झौतामा सहमतिभएको छ । तर, अहिले आएर माओवादी पार्टीको मात्र हो भनेर सौतेनी व्ययवहार सुरु भएको छ ।

लामो समय मुलुक संविधान निर्माण कार्यमा जुट्यो । यो अवधिलाई कसैले पनि अन्यथा लिनु हुदैन । संक्रमणकालिन समयम कसैले पनि व्यवस्थापन र सम्मानका कुरालाई पहिला गर्नुपर्छ भन्ने कुरा राख्नु गलत हुनेथियो । तर, नयाँ संविधान जारी गरेर, नयाँ संविधान अनुसार राज्य सञ्चालन भएपछि पनि गणतान्त्रिक योद्धाहरुप्रति अपमानित व्यवहार भएको छ । घाईते योद्धाले सामन्य उपचार पाउन पनि कुनै पार्टी विशेषको सदस्यता लिनुपर्ने सर्त अघि सार्ने गरिएको छ । यो त पहिला शान्ति सम्झौतामा भनिएको छ, घाइते योद्धा र सम्पूर्ण योद्धालाई समाजमा पुनःस्र्थापितगर्ने दायित्व राज्यको हुनेछ । यति प्रष्ट भएपछि जनुसुकै दल वा पार्टीले सरकार चलाए पनि समाजमा पुनःस्थापित गर्ने समाज निर्माण कार्यमा लगाउने जिम्मा सम्बन्धित दल वा पार्टीको हुनुपर्ने हो ।

किन उनीहरुलाई खेलौना बनाउन खोजिएको हो ? सर्वाधिक चासोको विषय बनेको छ । सबै राजनैतिक पार्टीहरुको गम्भीर रुपमा ध्यान केन्द्रीत हुन जरुरी छ । उनीहरुको त्याग, तपस्या, संघर्ष र बलिदानीबाट ल्याएको व्यवस्था सबैले उपभोग गर्ने र योद्धा सबैलाई अपमान गर्ने व्यवहार लोकतान्त्रिक संस्कार हुन सक्दैन । जिम्मेवार पार्टी र दलका नेताहरुले सरकारले व्यवस्थापन गर्न सक्दैन भने हामी गर्न तयार छौं भनेर प्रतिपक्षमा हुँदा धम्की लगाउने अनि आफूले सत्ता सम्हालेको बेलामा केहि नगर्ने समस्या छ । यो कार्य जुनसुकै दलले गरेपनि निन्दनीय हो ।

पैसा होइन, सम्मानको खाँचो

आन्दोलनमा लागेको मान्छे, भौतिक सुख सयल भोग गर्ने सर्तमा लागेको हुदैन, हैन । आफ्नो सानो सक्रियताले परिवर्तन भयो भने सबैको लागि हुनेछ, परिवर्तन भएको ब्यवस्थामा सबैको अमनचयन होस् भन्ने पबित्र उद्देश्य राखेर लागिएको हुन्छ । त्यसैले आन्दोलनमा पंक्तिबद्ध भएका योद्धाहरुको कुनै पनि शारिरीक मापदण्ड तोकिदैन, तोक्नु पनि हुदैन । आन्दोलनमा लागेका योद्धाहरुको सक्रियताबाट परिवर्तन सम्भब भएको छ । परिवर्तनपश्चात, आन्दोलनको लागि तयार गरेको संगठनलाई कानूनी मान्यता दिलाउनलाई मापदण्ड अपनाउँदा केहि असजिलो भएको छ । उहाँहरुको अवस्थामा तलमाथि भयो । यसैको आधारमा अयोग्य ट्याग लगाउन खोजिएको छ । सबै योद्धाको मन जबरजस्त स्थापित गर्न खोजिएको मान्यताले फाटेको छ । सबै योद्धाहरुलाई अपमानित महसुश भएको छ । यसलाई उल्टाएर राष्ट्रिय साझा सहमति बनाएर अबिलम्व सम्मान महशुस हुने गरिको ‘पदबी’ दिने वातावरण बनाउनुपर्छ । यसलाई अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको सरकारले संसदबाट ऐन कानून बनाएर आफ्नो कार्यसुचिमा समावेश गरि सम्बोधन र ब्यवस्थापन गर्न जरुरी छ । यो गणतन्त्रलाई संस्थागत गर्ने कोशेढुंगा साबित हुनेछ । मैले धेरै योद्धाहरुसँगको अनौपचारिक भेघाटमा सम्वाद गर्दा उनीहरुको चाहाना राज्यले सम्मान दिनुपर्छ भन्ने पाएको छु । यो कामको थालनी वर्तमान सरकारले तुरुन्त गर्नुपर्छ ।

अन्त्यमा

योद्धाहरु सबैलाई थाहा छ, आन्दोलानमा लागेका सबैलाई अवसर र पद पुग्दैन । अवसर र पद पाउनेले सहयोद्धाहरु सबैको ईतिहासलाई सम्मान गर्नुपर्छ । सामाजिक रुपमा सम्मानित जीबन जिउने वातावरण बनाउन निर्णायक भूमिका निर्बाह गर्नुपर्छ । यहाँनेर कमिकमजोरी भएको छ । नेतृत्व र अवसर पाउनेहरुको, गलत क्रियाकलापको कारणले गर्दा योद्धाहरु आफ्नो बिरानो छुट्याउन नसक्ने गरि भड्किएका छन् । त्यसैले मुख्य नेतृत्वले बिलम्ब नगरी राष्ट्रिय सम्मान दिलाउन कञ्जुस्याइँ र ढिलाई गर्नुभएन । योद्धाहरुको हिजोको पृष्ठभूमिका आधारमा पुष्पकमल दाहाल प्रचण्ड नै मुख्य नेतृत्व हो । मुख्य नेतृत्व उहाँ भएको कारणले सबैको समर्थन लिएर साझा सहमति कायम गरेर राष्ट्रिय सम्मान झल्काउने पद्वी दिन सक्नुपर्छ । यो ऐतिहासिक जिम्मेवारी पुरा गर्नैपर्छ । यसो भएमा अस्वभाविक बिरोधहरु बन्द हुनेछ । योद्धाहरुको फेरि पनि साथ पाउन सकिनेछ । यसो भएमा परिवर्तनको नेतृत्व गर्ने राजनैतिक शक्ति बलियो हुनेछ । राजा आउ देश बचाउ भन्नेहरु छायामा पर्नेछन् । अब परिवर्तनलाई स्वीकार गर्ने कुनै पनि दलले ढिलाइ गर्नुभएन । घाइते र अपाङ्गलाई जीवन जिउन सहज हुनेगरि सेवा सुविधा उपलब्ध हुनुपर्छ ।

*सच्याइएको

आइतबार, २० भदौ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर