गोकुल पराजुली
नेपाली कम्युनिष्ट आन्दोलनको ७२ वर्षको इतिहासमा फेरि एकपटक कम्युनिष्ट पार्टी फुटेको छ । एकता र फुटहरुका थुप्रै श्रृङ्खलामा पछिल्लो परिघटना एउटा दुःखद् पक्ष हो । अन्य बुर्जुवा पार्टीहरुमा फुटका श्रृङ्खला थोरै हुन्छन् । त्यो स्वभाविक पनि हो । बुर्जुवा पार्टीहरुमा जनताको भन्दा व्यक्तिगत स्वार्थहरु हावी हुन्छ । व्यक्तिका स्वार्थहरुको व्यवस्थापन गरेकै क्षणमा जतिसुकै ठूला विवादहरु सहमतिमा रुपान्तरण हुने गरेका छन् । त्यसैले त्यस्ता पार्टीहरुले टुटफुट र विभाजनको पीडा थोरैमात्र व्यहोर्ने गरेको हामी देख्न पाउँछौं । कहिलेकाँही ती पार्टीहरु पनि फुट्छन् । चरम महत्वकांक्षा वा स्वार्थको व्यवस्थापन हुन नसक्दा उनीहरुमा फुटहरु भएका छन् । वैचारिक, सैद्धान्तिक कारणले गर्दा ती पार्टीहरु बिरलै फुटेको इतिहास छ । तर, कम्युनिष्टहरुमा विचार र सिद्धान्तमा हुने स्खलन, तात्कालीन कार्यनीति र दीर्घकालीन रणनीति आदि विषयमा मत्यैक्यता नहुँदा फुट्ने गरेको हामी पाउँछौं । कतिपय बेलामा नेतृत्वको गलत व्यवहार र कार्यशैली पनि फुटको कारण बन्ने गरेको छ ।
समाजको बहुआयामिक पक्षहरुलाई समेटेर, धेरै प्रवृत्तिहरुलाई विचार, मान्यता वा कार्यक्रमहरुमा मानिसहरुलाई एकीकृत गरेर पार्टीहरु बनेका हुन्छन् । पार्टीहरु सामाजिक परिवेशहरुसँग प्रत्यक्ष सरोकार राख्दै गतिशील बनिरहेको हुन्छ । गतिशीलताले नै पार्टीलाई जीवन्तता प्रदान गर्दछ । एउटा जीवन्त वस्तुमा टुटफुट, विभाजन र एकता निरन्तरको प्रक्रिया हो । त्यसैले पार्टी जीवनमा आउने यस प्रकारको परिघटनालाई स्वभाविक लिनुपर्छ ।
भर्खरै मात्र नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा विभाजन आएको छ । विभाजनको कारण यो छोटो टिप्पणीमा खोतल्नु उपयुक्त छैन । एमालेमा आएको विभाजनपछि एउटा भाष्य बढो प्रचलनमा ल्याइएको छ । ‘फुटेको पार्टीले प्रगति गरेको छैन र गर्दैन ।’ एमालेका अध्यक्ष केपी ओलीदेखि दोश्रो र तेश्रो श्रेणीका नेताहरुले आजाभोलि यस प्रकारको भाष्यलाई प्रयोगमा ल्याएका छन् । के यहि कुरा सत्य हो त ? नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा विभाजनपछि बनेको पार्टीले राजनीतिक विकास गरेको छैन त ? अल्पमत पक्ष सँधै नामेट भएको हाम्रो इतिहास हो त ? अवश्य पनि होइन । बरु इतिहास गलत प्रवृत्तिविरुद्ध विद्रोह गर्नेहरुकै पक्षमा छ । विद्रोह गरेर, विभाजन गरेर अगाडि बढेकाहरुले नै कम्युनिष्ट पार्टीलाई जनस्तरमा बढीभन्दा बढी स्थापित गर्दै गएको छ । २०४८ सालपछि एकताकेन्द विभाजित भएपछि बचेको समूहले जनयुद्ध गर्दै राजनीतिक व्यवस्था नै परिवर्तन गर्ने ताकत राख्यो ।
इतिहासतर्फ फर्किने हो भने पनि यहि तथ्य भेटिन्छ । २००६ सालमा थोरै मानिसहरुले गठन गरेको कम्युनिष्ट पार्टी पहिलो पटक २०१९ सालमा विभाजित भयो । महासचिब केशरजंग रायमाझीसहति बहुमतले पञ्चायतको समर्थन गरेपछि पार्टीको अल्पमत पक्षले पार्टी पुनर्गठन गरे । त्यसपछि निरन्तर टुटफुट र बिभाजनको श्रृङ्खला नै सुरु भयो । २०२७ सालमा एउटा सानो समूहले झापा विद्रोहको नाममा कम्युनिष्ट आन्दोलनलाई संगठित गर्ने काम गर्यो । त्यो समूह पनि टुटफुट र एकताको श्रृङ्खला पार गर्दै अहिलेको नेकपा एमालेको स्वरुपमा स्थापित भएको हो । यो पार्टी २००६ सालदेखि एकताबद्ध हुँदै होइन पटक पटक फुटेर, अल्पमतबाट विकासित हुँदै देशकै ठूलो पार्टी बनेको हो ।
अर्को धारापनि छ । जुन चौथो महाधिवेशन हुँदै मशाल, मसाल, एकता केन्द्र हुँदै विभाजनको थुप्रै श्रृङ्खला पार गरेर २०६४ सालमा देशकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी बन्न सफल भयो । यो कतिपय बेलामा अल्पमत पक्षहरुले नेतृत्व गर्दै विकास गरेको पार्टी हो । त्यसैले फुटेको पार्टीले विकास गर्दैन भन्ने कुरा दृष्टिकोणविहीन तर्क हो । पार्टीहरु जनताका मुद्दासँग सम्बन्धित हुन्छन् । पार्टी ठूलो हुँदैमा जनपक्षीय हुन्छ, जनप्रिय हुन्छ भन्ने कुरा भ्रमपूर्ण छ । मोटो मानिस मात्र बलशाली हुन्छ भनियो भने गलत हुन्छ । किनभने दुब्लाको तुलनामा मोटाहरु रोगी भएको प्रमाणित तथ्य हो ।
यी तथ्यहरुबाट के स्पष्ट हुन्छ भने आज एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले आफूलाई स्थापित गर्दै विकास गर्नसक्छ । उसको विचार, कार्यक्रम, कार्यदिशा, जनतामा जाने जाँगर, जनविश्वास आर्जन गर्ने अभियान कसरी सञ्चालन गर्छ, कसरी जनतासँग एकाकार भएर अघि बढ्छ भन्ने कुरा प्रमुख हो । एमालेभन्दा फरक कार्यशैली, कार्यक्रम भएन भने नयाँ पार्टी बनाउँदैमा गरिखाने कुरा चैं हुँदैन ।