काठमाडौं । विभाजनको डिलमा पुगेको नेकपा एमाले माधव नेपाल र झलनाथ खनाल पक्षीय १७ वटा जनसंगठनहरुले संयुक्त वक्तव्य जारी गर्दै पार्टी एकताका लागि ओली नेतृत्वको समूहले गरेको फागुन २८ गतेयताको निर्णय खारेज गर्नुपर्ने बताएको छ ।
१७ जनसंगठनका प्रमुखले आज संयुक्त वक्तव्य जारी गर्दै फागुन २८ यता अध्यक्ष ओलीले गरेका निर्णय सच्याउन र विधान अनुसार पार्टी संचालन गर्न माग गरेका हुन् । उनीहरुले ओली नेतृत्वको समूह एमाले पार्टी र कम्युनिष्ट आन्दोलनलाई बिसर्जनतिर लान उद्दत रहेको आरोप पनि लगाएका छन् ।
पार्टी शीर्ष नेताहरुलाई अवैधानिक ढंगले निष्कासन गरिएकोप्रति आपत्ती जनाउँदै उनीहरुले त्यस प्रकारको स्वेच्छाचारी निर्णयको भर्त्सना गर्दै उक्त निर्णय तत्काल फिर्ता गर्न माग गरेका छन् ।
ओली नेतृत्वले एमाले पार्टी संरचना, विधान र नेतृत्व २ जेठ २०७५ अगाडिको अवस्थामा नल्याए अलग पार्टी बनाउने चेतावनी दिँदै संयुक्त विज्ञप्तिमा गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनुपर्ने बताइएको छ ।
यसअघि ओली निकट जनसंगठनले पनि संयुक्त वक्तव्य जारी गरेर प्रधानमन्त्री र सरकारका गतिविधि विपरीत संलग्न नेताहरुलाई निष्कासनको माग गरेका थिए ।