बैशालीको त्यो महामारी, कहाँ ओली कालको यो महामारी !

 कुमार लुइँटेल

सुफीहरुको एउटा प्रसिद्ध कहानी छ । धेरै अघि बग्दाद बाहिर एक जना फकिर बस्दथे । उनको झोपडी नगरबाहिर थियो । प्रसिद्ध फकिर मन्सुरका गुरु थिए, उनी । जुन्नैद नाम थियो । एक साँझ एउटा कालो छाँया बग्दाद छिर्दै थियो । फकिरले देखे ।

“पर्ख कहाँ जान लागेको ? को हौ तिमी ?” सोधे । “म मृत्यु हुँ । सहरभित्र जाँदैछु । पाँच सय मानिस मार्नुछ ।” जवाफ दियो । लगत्तै मृत्यु सहरभित्र पस्यो । तर, १५ दिनभित्र ५ सय होइन, ५ हजार मानिसहरुले संसार छाडे । “बेइमान पर्ख ! मसँग किन झुटो बोलेको ? तिमी त जम्मा जम्मी ५ सयजनालाई मात्र मार्छु भन्थेउ त ?,”जुन्नैदले झोंकिदै प्रश्न गरे ।

“मैले त ५ सय नै मारेको हुँ । बाँकी साढे चार हजार त आँफै मरे । अरु मरेको देखेर ती सबै डरले मरेका हुन,” उसले जवाफ दियो । सहरमा सँधै महामारी रहेन । सकिएर गयो । मानिस पूर्ववत जीवनमा फर्किए र विस्तारै सबै सामान्य बन्यो ।

एकताका बैशालीमा पनि ठूलो महामारी फैलियो । मानिस कुकुर जस्तै मरे । मृत्युको ताण्डव नै चल्यो । धेरैले त मृत्युको त्यस्तो रुप कहिल्यै देखेका थिएनन् । अझ भोग्ने त कुरै भएन् । बैशालीका लिच्छवी राजाले नियन्त्रणको उपाय नदेखेपछि भगवान गौतम बुद्धलाई लिएर आए । भगवानलाई राजप्रसादमा अतिथिको रुपमा राखियो ।

त्यो बेलासम्म महामारी चरममा पुगिसकेको थियो । मानिस धेरै नै डराएका थिए । बौद्धमार्गीले पनि मृत्युको त्यो विद्रूप क्षणलाई बयान गरेका छन । “भगवानलाई राजगृहबाट बोलाउनु होस् । सायद केही परिवर्तन हुन्छ कि ?” लिच्छवी राजासमक्ष जनताले आग्रह गरे । “तपाईं किन ढिलो आउनु भयो” राजालाई भगवानले सोध्न सक्नुहुन्थ्यो । तर, त्यसो गर्नुभएन । बरु मृत्युको सत्य बुझाउनु भयो ।

महामारीले एउटा सन्देश दियो । अनि भगवानको आवश्यकता पर्यो । भनिन्छ, भगवानको उपस्थितिमा महामारी नियन्त्रणमा आयो । “अघिल्लो जन्ममा आफू शंख नामक ब्राम्हण भएर हरेक बुद्ध पुरुषको चैत्यको पूजा गर्ने गरेकोले त्यसकै तपले बैशालीमा महामारी अन्त्य भएको” बुद्धले भिक्षुहरुलाई सुनाउनु भयो । भगवानले “थोरै पूजा र थोरै ध्यानले मात्र पनि जीवनमा खुसी दिलाउँछ” भन्दै ज्ञान दिलाउनु भयो । “भन्ते ! केही सोपान दिनुहोस” लिच्छवी राजाले भगवानलाई अनुरोध गरे ।

जीवनको कुनै उपचार छैन । यसले सबैलाई मार्छ । जो जीवित छ त्यो मर्छ । मानिस महामारीबीच र मृत्यको छायाँमै जन्मिन्छ । महामारी त संधै छ । जब महामारी फैलियो तब मात्र मानिसलाई मेरो याद आयो । भगवानले यसरी नै सम्झाउनु भयो ।

महामारीको सन्दर्भमा भगवान ओशोले पनि प्रवचन दिनुभएको छ । “महामारी फैलँदा सबै मानिस महामारीले मात्र मर्दैनन् । धेरै त डरले नै मर्छन् । यो फैलियोस या नफैलियोस, मानिस मर्नैपर्छ । शतप्रतिशत मानिस मर्छन् । जति बालबालिका जन्मन्छन् त्यति नै मानिस मर्नुपर्छ । साधारण बिमारी औषधिले ठिक होला तर जहाँ मानसिक त्रासबीच मृत्युको जित हुन्छ त्यही नै महामारी हो ।”

अहिले केपी ओलीको राजमा कोरोना महामारीका मानिसहरु शारीरिक रुग्णतासँगै मनोवैज्ञानिक त्रासले मरिरहेका छन् । बैशालीका मानिस हामीभन्दा फरक त थिएनन् । फरक थियो त केवल उनीहरुका राजा जनताको कुरा सुन्थे । सुझाव लिन्थे । आग्रह स्वीकार गर्थे । समस्या समाधानको बाटो पहिल्याउँथे । उपायहरु खोज्थे । त्यही भएर त लिच्छवी राजाको वाहवाही थियो । जनतामाझ भगवान गौतम बुद्धलाई सशरीर उपस्थित गराईदिए । महामारीबाट त्राण दिलाए । भगवानको हौसला नै काफी थियो, त्यो महामारीसंग जुध्ने आत्मबल पाउन । तर, राजा बन्ने धुनका अहिलेका ओली न जनताको कुरा सुन्छन् न त तिनलाई बचाउने उपाय सोच्छन् । बरु जर्बजस्ती राजप्रसादमा संधै आफैं मात्र बिराजमान हुने सपना बुन्छन् ।

शुक्रबार, १४ जेठ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर