जनता समाजवादी पार्टी विभाजन उन्मुख

विराटनगर । जनता समाजवादी पार्टी नेपाल (जसपा)मा देखिएको विवाद उत्कर्षमा पुगेपछि कार्यकारिणी समितिमा बहुमत सदस्य रहेको उपेन्द्र यादव समूहले विवाद समाधानका लागि अर्का अध्यक्ष महन्थ ठाकुर पक्षसंग निर्णायक वार्ता गर्ने भएको छ । पटक पटक भएका छलफलहरु समस्या समाधान गर्ने भन्दा विवाद बढाउने र पार्टी विभाजन तर्फ अग्रसर देखिएपछि यादव समूहले ठाकुर पक्षसँग अन्तिम पहल गर्ने निष्कर्ष निकालेको हो ।

अध्यक्ष यादवले शनिबार आफ्ना पक्षका कार्यकारिणी सदस्य तथा संसदीय दलको बैठक राखेर ठाकुरसँग अन्तिम पटक छलफल गर्ने निष्कर्श निकालेका हुन् । त्यसमा सहमति बन्न नसकेको खण्डमा राजपा विभाजन तर्फ जानसक्ने देखिएको छ । पछिल्लो समय ठाकुर–राजेन्द्र महतो पक्षले एकतर्फिरुपमा संसदीय दलको नेता चयन गरेपछि विवाद उत्कर्षमा पुगेको हो । यादव पक्षले महतोलाई संसदीय दलको नेता अस्वीकार गरेको छ । त्यस सन्दर्भमा प्रतिकृया दिँदै अध्यक्ष उपेन्द्र यादवले भनेका थिए ‘हाम्रो पार्टीको संसदीय दलको बैठक बसेको छैन र नेता चयन भएको छैन, महतोलाई महेश बस्नेतले संसदीय दलको नेता बनाइदिएको भए थाहा भएन ।’ यादवको यो टिप्पणीले पनि राजपाभित्रको विवाद तिक्ततापूर्ण रहेको स्पष्ट हुन्छ ।

अध्यक्ष यादव पक्ष अन्तिम छलफलबाट समाधान वा सहमति नबनेमा विधान अनुसार पार्टीले निर्णय प्रकृया अगाडि बढाउने दावी गरेको छ । उनीहरुले कार्यकारीणी समितिमा देखिएको विवाद समाधानका लागि केन्द्रीय समितिको बैठक राख्नु पर्ने पनि निष्कर्श निकालेका छन् । राजपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव पक्षमा ३० जना रहेको बताइएको छ । संसदीय दलमा भने दुवै पक्षमा बराबरी सांसद उभिएका छन् । केन्द्रीय समितिमा भने ८०० जना भन्दा बढी सदस्य छन् ।

पछिल्लो समय उनीहरुबीच कुन समूह आधिकारिक हो भन्ने विवाद चर्किएको छ । दुवै पक्षले विज्ञप्ति मार्फत एकले अर्कोलाई अनाधिकृत बताउने होडबाजी छ ।

आइतबार, ०२ जेठ, २०७८, बिहानको ०८:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर