मोरङको राजघाटमा कोभिड अस्पताल सञ्चालन

विराटनगर । दोस्रो लहरको कोरोना संक्रमण तीव्र रूपमा फैलिएर अस्पतालको शय्या भरिएको कारण विरामीले उपचार पाउन छोडेपछि मोरङको उर्लाबारी नगरपालिकाले अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले उर्लाबारी–८ राजघाटमा रहेको स्वास्थ्य चौकीमा ११ शय्याको अक्सिजनसहितको कोभिड अस्पताल निर्माण गरि सञ्चालनमा ल्याएको हो ।

कोरोना संक्रमणका कारण मानिसहरु अक्सिजन अभावमा अकालमै मृत्युवरण गरिरहेको बेला उपचार नपाएर कसैको ज्यान जान नदिन अक्सिजनसहितको कोभिड अस्पताल तयार गरि सञ्चालनमा ल्याएको उर्लाबारीका नगर प्रमुख खड्ग फागोले बताए । ‘उर्लाबारीमा पनि संक्रमण बढदै गएको छ । उपचार नपाएर मृत्युवरण गरेको घटना पनि सुन्दै आएको छौं । त्यही भएर हामीले अहिले तत्काल अक्सिजनसहितको ११ शैय्याको अस्पताल संचालनमा ल्याएका छौं,’ उनले भने, ‘आवश्यकता अनुसार थप गर्दै लैजाने योजना छ ।’ कोभिड अस्पतालको सबै बेडमा अक्सिजन जडान गरिएको नगरपालिकाले जनाएको छ ।

यसअघि नगरपालिकाले उर्लाबारी–३ मंगलबारेमा रहेको प्रदेश स्तरिय मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कोभिड अस्पताल सञ्चालन गर्ने तयारी गरेको थियो । तर, अस्पताल प्रशासनले असहयोग गरेपछि नगरपालिकाले आफ्नै माहतमा रहेको स्वास्थ्य चौकीमा संक्रमितलाई राखेर उपचार गर्ने कोभिड अस्पताल तयार गरेको नगरपालिकाले जनाएको छ ।

उर्लाबारीमा हालसम्म दोस्रो लहरका कारण ७ जनाको मृत्यु भइसकेको छ भने ८५ जना सक्रिय संक्रमित छन् ।

शनिबार, ०१ जेठ, २०७८, दिउँसोको ०२:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर