प्रदेशका कोभिड अस्पताल भरिए, बिरामीले उपचार पाउनै कठिन

विराटनगर । कोरोना संक्रमितको सघन उपचारका निम्ति प्रदेश १ मा सञ्चालित ९ वटै कोभिड अस्पतालहरु बिरामीको चाप थेग्न नसक्ने अवस्थामा पुगेका छन् ।

पछिल्लो समय फैलिएको म्युटेन्ट भेरिएन्ट सहितको कोरोना संक्रमणका कारण गम्भीर प्रकृतिका बिरामीहरु बढेसँगै अस्पतालहरु थप बिरामी भर्ना लिन नसक्ने अवस्थामा पुगेका हुन । तीव्र संक्रमण दरका कारण बिशेष गरि आई.सि.यु बेड खोज्ने विरामीको संख्या थामिनसक्नु भएपनि अस्पतालमा जेनरल बेड पाउन समेत कठिन रहेको अस्पताल सञ्चालकहरुले जनाएका छन् । सिमित श्रोेत साधन र क्षमताका कारण केही गर्न नसकिएको उनीहरुको भनाई छ । महामारीका कारण प्रदेश १ मा सञ्चालित १ हजार ९४ बेड क्षमताका ९ वटै कोभिड अस्पतालहरु भरिएका छन् । प्रदेशमा सञ्चालित ५ सरकारी र ४ निजी कोभिड अस्पतालहरुमा मंगलबार बेलुकासम्म ७ सय ६२ जनाको उपचार भईरहेको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या भने ८ हजार ८ सय ८२ पुगेको छ ।

हाल कोभिड अस्पतालहरुको आई.सि.यु.मा १६४, भेन्टिलेटरमा २८, एच.डी.यु.मा २ सय ६३, आइसोलेसनमा ४५ र जेनरलमा २६२ जना संक्रमितहरुको उपचार भइरहेको छ । हालै संक्रमित भएका ८ हजार ८ सय ८२ जनामध्ये अन्य ८ हजार १ सय २० जनाको होम आईसोलेसन तथा स्थानीय तहद्धारा निर्मित क्वारेन्टाईनमा उपचार भईरहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरस्थित ९६ बेड क्षमताको कोभिड-१९ उपचार केन्द्रमा हाल ९० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । अस्पतालको जेनरलमा ७, आई.सि.यु.मा २१, एच.डी.यु.मा ४७ र भेन्टिलेटरमा १५ जनाको उपचार भईरहेको छ । सो अस्पतालमा ६ बेड मात्र खाली छन् । विराटनगरस्थित नोबेल मेडिकल कलेजद्वारा सञ्चालित १९७ बेड क्षमताको कोभिड अस्पताल पुरै भरिएको छ । यहाँ जेनरलमा १५५, आई.सि.यु.मा ३९ र भेन्टिलेटरमा ३ जनाको उपचार भईरहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

मोरङको बुढीगंगा-२ स्थित विराट मेडिकल कलेजले सञ्चालन गरेको २८० बेड क्षमताको कोभिड अस्पतालमा २५४ जना संक्रमितको उपचार भइरहेको छ । अस्पतालले मंगलबारबाट सञ्चालन गरेको ५० बेड पनि आधाभन्दा बढी भरिएको छ । विराटको आई.सि.यु. मा ६०, पि.आई.सि.यु. मा ६, एन.आई.सि.यु. मा ३, एच.डि.यु.मा १३७ र डिलक्समा ४८ जनाको उपचार भईरहेको अस्पतालका इञ्चार्ज सुनिल देवले बताए । ‘सोमबार बेलुकासम्म २ सय संक्रमित मात्र थिए’, उनले भने, ‘हामीले ५० बेड थप गरेसँगै ५४ जना नयाँ संक्रमित थपिएका हुन ।’

यस्तै सुनसरीको धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको सय बेडको कोभिड अस्पतालमा ६४ जना संक्रमितहरुको उपचार भईरहेको छ । अस्पतालको आई.सि.यु मा ९, भेन्टिलेटरमा १, एच.डि.यु मा २५ र जेनरलमा २९ जनाको उपचार भईरहेको अस्पतालका सह- प्रवक्ता चुरामणि पोखरेलले बताए । उता झापाको भद्रपुरस्थित १ सय बेड क्षमताको मेची अस्पतालमा ६६ जना संक्रमितहरुको उपचार भईरहेको छ । संक्रमितको उपचारका लागि मेची अस्पतालले ५० बेड एच.डी.यु र ५० बेड जनरल वार्डसहितको सेवा सञ्चालन गरेकोमा एच.डि.यु.मा ४२ र जेनरलमा २४ जना संक्रमित छन् ।

झापाको विर्तामोडस्थित २ सय बेड क्षमताको बि एण्ड सी अस्पतालमा पनि हाल ५२ जना संक्रमितहरुको उपचार भईरहेको छ । जसमध्ये आई.सि.यु मा ३५ र एच.डि.यु मा १२ र जेनेरलमा ५ जनाको उपचार भईरहेको अस्पतालले जनाएको छ । संक्रमितको उपचारका निम्ति अस्पताललले ५० बेडको आई.सि.यु र २० बेडको एच.डि.यु सेवा सञ्चालन ल्याएको छ ।

धनकुटामा २६ बेडसहित सञ्चालन भएको धनकुटा अस्पतालमा ५ जना संक्रमितहरुको उपचार भईरहेको छ । बढ्दो संक्रमण दरले अस्पतालको बेड केही दिनमै भरिने अवस्था देखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्माले बताए । हाल सो अस्पतालमा आई.सि.यु. छैन । ‘हामीसँग आई.सि.यु सेवा छैन’, उनले भने, ‘गम्भीर प्रकृतिका बिरामीहरु उपचारका लागी झापा वा मोरङ झर्नुपर्ने बाध्यता छ ।’

यस्तै संखुवासभामा ४५ बेड क्षमताको सेवा सहित सञ्चालनमा आएको संखुवासभा अस्पतालमा पनि ३४ जना संक्रमितहरुको उपचार भईरहेको छ । अस्पतालमा ११ बेड खाली छन् । संक्रमितको संख्या बढ्दै गएपछि खाँदबारी नगरपालिकाले अस्पतालमा २४ बेड थप्ने निणर्य समेत गरेको छ । तर, अस्पतालमा आई.सि.यु. सहितको सेवा नहुँदा गम्भीर प्रकृतिका विरामीहरुको उपचार हुन सक्दैन ।

कोरोना रोकथाम तथा न्युनीकरणमा सरकारी संयन्त्र कमजोर देखिँदा निजी अस्पतालहरुको मनोबल पनि घटदै गएको छ । पहिलो चरणको महामारी नियन्त्रणमा सक्रियतापूर्वक जुटेको प्रदेश सरकार यसपटक निष्क्रिय बन्दा संक्रमणको जोखिम र मृत्युदर झनै बढ्नसक्ने सम्भावना देखिएको निजी अस्पतालका सञ्चालकहरुको भनाई छ ।

यता महामारी नियन्त्रणमा सरकारको भुमिका नगन्य रहेको जनगुनासो बढ्दै गएपछि प्रदेश सरकारले भने प्रदेशभरिका कोभिड अस्पतालहरुलाई आफ्नो क्षमता विस्तार गर्न निर्देशन दिएको जनाएको छ । सामाजिक विकासमन्त्री उषाकला राईले नोबेल र विराट मेडिकल कलेजलाई आफ्नो क्षमता विस्तार गर्न निर्देशन गरिएको बताएकी छन् । विराटनगर-१० स्थित कोभिड-१९ उपचार केन्द्रलाई पनि पुणर् क्षमतामा सञ्चालन ल्याउन तथा आवश्यक स्वास्थ्य जनशक्तिको माग आपुर्ति गर्न आन्तरिक गृहकार्य भईरहेको उनको भनाई छ ।

‘हामीले मोरङको नोबेल र विराट मेडिकल कलेजलाई क्षमता विस्तार गर्दै ५/५ सय बेडमा पुर्‍याउन निर्देशन दिएका छौं’, उनले भनिन, ‘निर्देशन बमोजिम अस्पतालहरुले आफ्नो क्षमता विस्तार गरिरहेका छन् । महामारी नियन्त्रणमा हामी सक्रिय छौं ।’

तर प्रदेश सरकारकै लगानीमा सञ्चालित कोशी अस्पताल अन्र्तगतको कोभिड-१९ केन्द्रमा ८० वेडको पुरानो अस्पताल भने करिब १० दिनदेखि बन्द अवस्थामा छ । यता पछिल्लो २४ घण्टामा मात्रै प्रदेश १ मा थप २७ महिला र ५२ पुुरुष गरि ७९ जनामा कोरोनाको नयाँ संक्रमण पुष्टि भएको छ । सो अवधिमा ५५ जना डिस्चार्ज भएका छन भने १५ जनाले ज्यान गुमाएका छन् । प्रदेश १ मा हालसम्म भने ३९ हजार ८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बुधबार, २९ बैशाख, २०७८, बिहानको १०:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर