विराटनगर । विराटनगर आँखा अस्पतालमा ‘रेटिनोप्याथी अफ पिम्याच्युरोटी’ आरओपी (ROP) को उपचार सुरू भएको छ ।
समय नपुग्दै जन्मिएको बच्चाको आँखामा देखिने समस्या समाधान गर्न ‘आरओपी’ को उपचार विराटनगर आँखा अस्पतालमा सुरू भएको हो ।
नौ महिना नपुगी जन्मेको बच्चाहरूमा आँखा सम्बन्धी समस्या आरओपी हुने गरेको छ । समय नपुगी जन्मेको बच्चाहरूको आँखामा आरओपीको समस्या देखिन थालेपछि यसको उपचार सुरू गरेको अस्पतालका सुपरिटेन्डेन्ट डा.रक्षा पन्तले जानकारी दिनुभयो ।
सामान्यतयाः गर्भ रहेको ९ महिना पूरा भएपछि बच्चाको जन्म हुन्छ । तर, सबै बच्चा ९ महिना पूरा भएपछि नै जन्मन्छन् भन्ने छैन । कतिपय बच्चा समय नपुग्दै जन्मिन सक्छन् । यसरी जन्मने बच्चालाई चिकित्सकीय भाषामा ‘प्रिमेच्योर डेलिभरी’ भनिन्छ । उनीहरुको तौल पनि कम हुन्छ ।
समय नपुग्दै जन्मने बच्चामा देखिने प्रमुख समस्यामध्ये आँखाको पर्दामा असर गर्ने समस्या (रेटिनोप्याथी अफ प्रिम्याच्योरिटी आरओपी) पनि एक हो,’ विराटनगर आँखा अस्पतालका दृष्टि पर्दा नेत्ररोग विशेयज्ञ डा.ललित अग्रवालले भन्नुभयो, ‘कम तौल भएका, जन्मेपछि अक्सिजन लगाएर राख्नुपर्ने बच्चामा आँखाको पर्दामा समस्या हुन्छ । यसको उपचार चाँडै सर्न सकिए दृष्टिबिहीन हुनबाट बचाउन सकिन्छ ।’
यो जन्मजात समस्या भने होइन । बच्चा जन्मेपछि हुने समस्या हो । सामान्यतयाः समय पुगेर जन्मिने बच्चामा पनि आँखाको पर्दा विकास हुन थप एक महिना लाग्छ । समयअगावै जन्मने बच्चाको आँखाको जाँच गरिएन र उपचार भएन भने उनीहरुमा दृष्टिवीहिन हुने चिकित्सकहरूको भनाई छ ।
अस्पतालका दृष्टिी पर्दा नेत्ररोग विशेषयज्ञ अग्रवालका अनुसार गम्भीर प्रकारको आरओपी भएका विरामीको लेजरमार्फत उपचार गर्नुपर्छ । ‘प्राय जसो साधारण प्रकारको आरओपी आफै सञ्चो हुने गर्दछ’ डा. अग्रवालले भन्नुभयो, ‘गम्भीर प्रकारको आरओपी विरामी भएमा लेजरमार्फत उपचार गर्नुपर्ने हुन्छ ।’ लेजर असमान्य रुपमा बढेका रक्तनलीहरुलाई बढ्नबाट रोक्न प्रयोग गरिन्छ ।
विरामीको अवस्थामा गम्भीर भएकामा यसको उपचार शल्यक्रियामार्फत पनि गरिन्छ ।
यो अस्पतालमा डा. अग्रवालको नेतृत्वमा आरओपीको उपचार गर्ने टिम रहेको छ । भर्खरै सुरु भएको यो सेवाबाट हालसम्म १३ जना बालबालिकाले लाभ लिएको अस्पतालले जनाएको छ ।