हरिनगरामा स्थानीयमाथि प्रहरीको ज्यादती

विराटनगर । ईलाका प्रहरी कार्यालय हरिनगराका प्रहरी सहायक निरीक्षकले स्थानीयमाथि कुटपिट गरेका छन् ।

सुनसरीको हरिनगरा–४ का ३८ वर्षीय मिथलेश झा लाई प्रहरी सहायक निरीक्षक गजाधर गोइतले कुटपिट गरेका हुन् । दाजुभाई बिचको सामान्य जग्गा विवादको विषयलाई लिएर प्रहरी कार्यालमा पुगेका मिथलेशलाई प्रहरीले कुटपिट गरेको स्थानीयको आरोप छ ।

पौष ८ गते हरिनगरा प्रहरी चौकीमा बोलाएर प्रहरी सहायक निरीक्षक गोइतले झा माथि कुटपिट गरेको पीडित पक्षको दाबी छ । प्रहरीको कुटाईबाट झा को देब्रे कानमा गहिरो चोट लागेको छ । उहाँले आफ्नो सुन्ने शक्ति गुमाउनुभएको छ । घाइते झा भने पौष ९ मा विराटनगरस्थित कोशी अस्पतालबाट उपचार गराएर घर फर्किसक्नुभएको छ ।

यस्तो छ विवाद

सुनसरीको हरिनगरा गाउँपालिका-४ का अवदेश झा र मिथलेश झा दाजुभाई हुन् । उनीहरुबीच विगत १० वर्षदेखि १२ कठ्ठा जमिनको अंशबण्डा विवाद छ । जग्गा विवादकै कारण ठेगाना एउटै भएपनि दुवैको बसोबास बेग्लाबेग्लै छ । स्वर्गीय भएका बुबा उमानन्द झाको नाममा रहेको जग्गा २०६७ सालमै उनीहरुले अंशबण्डा गरिसकेका छन् । १२ कठ्ठामध्ये ३ कठ्ठा ४ धुर जग्गा दाजु अवदेश र ६ कठ्ठा ५ धुर जग्गा भाई मिथलेशले पाएका छन् । शेष २ कठ्ठा १ धुर जग्गा काकाको छोरा अरविन्द झा को नाममा रहेको छ । तर, अवदेशले वर्षौंदेखि मिथलेशको जग्गा अतिक्रमण गर्दै र मिच्दै आएको पीडित पक्षको भनाई छ ।

०६७ सालको अंशबण्डापछि मिथलेश रोजगारीको लागि भारतको दिल्ली गएका थिए । त्यही बेलादेखि दाजुले जग्गा अतिक्रमण गर्दै आएको मिथलेशले बताउनुभयो । ‘भारतबाट फर्किएपछि गतवर्ष मात्रै जग्गाको नापी गराएको थिए, उहाँले भन्नुभयो, ‘अमिन बोलाएर जग्गाको नापी गराउँदा पनि दाजु अवदेशले मान्नुभएन ।’ गत कार्तिक २७ गते सोही बिषयमा दुवै दाजुभाईबिच विवाद सिर्जना भएको थियो । विवादले कुटपिट भएपछि अवदेशकी श्रीमती सबिताको हातमा गम्भीर चोटपटक लागेको थियो ।

कुटपिटको विषयलाई लिएर मिथलेशले ईप्रका हरिनगरामा जाहेरी दिएका थिए । त्यसै दिन अवदेशले पनि भाईले भाउजुलाई कुटपिट गरेको भन्ने अर्को जाहेरी दर्ता गरेका थिए । दुवै पक्षबाट एकअर्का विरुद्ध उजुरी परेपछि हरिनगरा प्रहरी चौकीले गत मङ्सिर २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । छलफलमा भाउजुलाई कुटपिट गरेको भन्दै आफुलाई ५१ हजार रुपैयाँ तिर्न लगाएको मिथलेशले बताउनुभयो । पौष १० गतेभित्र रकम दिने सहमति भएको थियो । तर अवदेशसँगको मिलेमत्तोमा प्रहरी सहायक निरीक्षक गजाधर गोईतले पौष ८ गते नै मिथलेशसँग रकम माग गरेका थिए । मिथलेशले अहिले पैसा नरहेको र तिर्न समय लाग्ने बताएपछि गोईतले कुटपिट गरेको पिडितले स्वयंम बताएका छन् ।

तर ईप्रका हरिनगराका प्रहरी सहायक निरीक्षक गोईतले आफुले कुटपिट गरेको कुरा अस्वीकार गर्नुभएको छ । ‘मैले त दुवै पक्षलाई छलफल गराएर मिलापत्र गराउने भूमिका खेलिरहेको छु, कुटपिट गर्नुपर्ने त अरु कारण नै केही छैन,’ उहाँले भन्नुभयो ।

यता जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले घटनाबारे आफुलाई कुनै जानकारी नभएको बताउनुभएको छ । उहाँले कानून विपरित कुटपिट भएको पाईए कर्मचारी माथि नै कारबाही जिकिर समेत गर्नुभएको छ ।

आइतबार, १२ पुष, २०७७, साँझको ०७:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर