आषिका लम्साल
नेपालमा सञ्चार क्षेत्रको प्राज्ञिक अभ्यास र अनुसन्धान नौलो नभए पनि त्यति धेरै अघि बढ्न सकेको छैन । सञ्चार, आमसञ्चार तथा पत्रकारिताजस्ता सामाजिक विज्ञान विषयमा स्तरीय प्राज्ञिक अनुसन्धान हुन सकेको छैन । भएका प्राज्ञिक अनुसन्धान पनि अन्यन्तै न्यून छन् ।
हिजोआज पत्रकारिता शिक्षा फराकिलो बनिसकेको छ । तर, पत्रकारिता शिक्षाको लागि आवश्यक पाठ्यसामग्री, शिक्षण सामग्री र सञ्चार अनुसन्धान अझै पनि हुन सकिरहेको छैन ।
यसैगरि नेपालमा पत्रकारिता विषय अध्यनका लागि आवश्यक पुस्तकहरु पनि पर्याप्त र स्तरीय उपलब्ध छैनन् । विसं २०३० को दशकदेखि नेपालमा पत्रकारिता शिक्षा सुरु भएपनि अझै पाठ्यक्रम भने आपेक्षाकृत व्यवहारिक र अनुसन्धानमुलक बन्न सकेको छैन । प्रायः विद्यालयदेखि विश्वविद्यालयसम्म एकै प्रकारको पाठयक्रम दोहो¥याएर पढ्नुपर्ने बाध्यता भर्खर मात्र हट्न थालेको छ । पहिले पठनपाठन हुँदै आएका पाठ्यपुस्तकहरु पनि पत्रकारिता पढेर सक्रिय रुपले पेशा गरिरहकाहरुले भन्दा पनि सारसंग्रहबाट कथिकुथी लेखिएकाहरु हुनेगर्दथे । यसैले अलग–अलग लेखकले लेखेका पुस्तकहरु पढ्दा सबै एकैखाले परिभाषा र सिद्धान्तको व्याख्यामा बढी जोड दिएका पाइन्थे । जसले पत्रकारिता विषयको गुणस्तरीय पढाइ अपेक्षा अनुसार हुन सकिरहेको थिएन ।
पत्रकारिता शिक्षामा व्यावहारिक ज्ञानको प्रचुर खाँचो छ । किनभने पत्रकारिता पेशा पढेर मात्र हैन, गरेर उपलब्धि हासिल गर्ने पेशा हो । पत्रकारितामा जबसम्म्म पढेको कुरा व्यवहारमा लागू गराउन सकिदैन, तबसम्म पेशामा टिकिरहन सकिदैन । यसैले पत्रकारितामा सैद्धान्तिकसँगै व्यवहारिक प्रयोगात्मक पढाईको खाँचो पर्दछ । हामी अहिले पनि क्यामेरा पुस्तकमा पढाइरहेका छौँ, पढिरेका छौँ । अनि मिडिया हाउसको समाचार कक्ष कस्तो हुन्छ भनेर चित्र बनाएर देखिन्छ वा मौखिक व्याख्या गरिन्छ । व्यावहारिक ज्ञानले अभावले पत्रकारिता पढेको विद्यार्थीले मिडिया हाउसमा काम गर्न सक्दैन । यो सबै नेपाली पत्रकारिता शिक्षा व्यवहारिक ज्ञानमा आधारित नभएर भएको हो ।
यहि अभावलाई मध्यनजर गरेर नेपालको राष्ट्रिय मुलधारमा सक्रिय पत्रकारिता गरिरहनु भएका पत्रकारद्वय भवानिश्वर गौतम र त्रिभुवन विश्वबिद्यालयका शिक्षक सुमनकुमार लुइँटेलले ‘आमसञ्चार अध्ययन’ नामक पुस्तक तयार गरेर बजारमा ल्याएका छन् । पत्रकारिता विषय पढ्ने कक्षा ११ का विद्यार्थीहरुका लागि तयार गरिएको उक्त पुस्तक एकदमै सटिक तरिकाले पत्रकारिताको सिद्धान्त, परिभाषा र व्यवहारिक ज्ञानहरु उल्लेख गरिएका छन् ।
अघि नै भनिएझैं पत्रकारिताको विद्यार्थीले हालसम्मको पाठ्यक्रम अनुसार कक्षा एघार, बाह्र र स्नातक पहिलो वर्षमा पनि एउटेै सेरोफेरोमा रहेर अध्ययन गर्नुपर्ने बाध्यता थियो । तर, एसिया पब्लिकेसन्सले बजारमा ल्याएको ‘आमसञ्चार अध्ययन’ नामको यो पुस्तक मुख्यतः कक्षा ११ मा पढ्ने बिद्यार्थीहरुका लागि भएपनि पत्रकारिता विषयमा आधारभुत प्रशिक्षण दिने प्रशिक्षक, पत्रकारिता गरिरहेका पेशाकर्मी अनि पत्रकारिता बुझ्न र सिक्न चाहने जोकोहीका लागि अति उपयोगी छ ।
पाठ्यक्रम विकास केन्द्रबाट पठनपाठनका लागि स्विकृति पाइसकेको यो पुस्तकमा आमसञ्चारको परिचय, पत्रकारिता, समाचार, संवाददाता र समाचार सङ्कलन, अनलाइन पत्रकारिता र सामाजिक सञ्जालबारे सटिक तरिकाले लेखिएको छ । आवश्यक उदाहरण र चित्रसहित प्रकाशन गरिएको यो पुस्तकमा पत्रकारिता बिषयमा विधागत रिपोर्टिङ, आलेख लेखन, खोजी रिपोर्टिङ, समाचार लेखन तथा सम्पादनबारे विषयगत ज्ञान र अभ्यासका कलाहरु पनि समेटिएको छ ।
साथै पुस्तकमा समाचार लेखनबारे प्रयोगात्मक कार्यका लागि अलग्गै कक्षा पनि शमावेश गरिएको छ । यति मात्र नभएर पुस्तकमा पत्रकारिता विषयमा प्रयोग हुने भाषाका शब्दहरु अर्थ खुलाएर प्रस्तुत गरिएको छ । जसले न्युज रुम भनेको के हो, पीत पत्रकारिता भनेको के हो, टिआरपी, इम्बार्गो केलाई भनिन्छ आदि धेरै कुराहरु बुझ्न थप सहयोग मिल्दछ । पुस्तक तयार गर्दा लेखकद्वयले पाठ्यक्रमको उद्देश्य, तहगत सक्षमता र विद्यार्थीको मनोविज्ञानलाई समेत ख्याल गरेर देखाइ, लेखाइ र भोगाइहरु प्राज्ञिक एवम पठनीय सामाग्रीको रुपमा राखेकोले पुस्तक पढ्न, बुझ्न सरल छ । गुणस्तरीय कागज प्रयोग गरेर २०८ पृष्ठमा प्रकाशन गरिएको यो पुस्तको मूल्य जम्मा २६५ रुपैयाँ मात्र छ ।