विक्रम लुईटेल
यतिखेर नेकपाको सचिवालयबाट सुरु भएको गुटबन्दीको राजनीति जिल्लातहमा पुगेको छ । पार्टी फुट्छ की जुट्छ भन्ने अन्यौलबीच कार्यकर्ताहरु गुटबन्दीमा जुटेका छन् । कतिपय गुट भेलाहरु सार्वजनिक रुपमा प्रकट भएका छन् भने कतिपय गुटका भेला गोप्य रुपमा भइरहेका छन् । सार्वजनिक गुटभेलाहरु हेर्दा लाग्छ अब ती दुई समूहहरु एक आपसमा बस्दा कुटाकुट नै गर्छन् । यी तहसम्मका भेलामा अभिव्यक्त भएका बिचारहरु सुन्दा झन् ठूलो अवस्था छ कि जस्तो लाग्छ । कतिपय सांसद र मन्त्रीहरुको गुट भेलामा व्यक्त बिचारले आम नागरिकलाई हाम्रो संस्था कस्तो छ भन्ने अन्यौलता पनि थपेको छ ।
राज्य सञ्चालनको ओहोदामा बसेकाहरुको खुल्लमखुल्ला भाषण र सरकार विरोधी नै अभिव्यक्ति सुन्दा पार्टीको विवाद मिलेपछि उनीहरु के गर्लान् भन्ने प्रश्न पनि उब्जिएको छ । वास्तवमा केन्द्रीय तहमा नेताहरुमा देखिएको विवाद यति चाँडै जिल्ला र गाउँ तहमा ल्याउनुपर्ने अवस्था थिएन । वैचारिक बहसबिनाको एकआपसमा गालीगलौज गर्ने र मुर्दावाद र जिन्दावादको नारा लगाउने अवस्थाले आगामी निर्वाचनमा समस्या पार्ने निश्चित छ ।
हिजोको जस्तो सञ्चार आज छैन । भोलि चुनावको बेला अहिले आवेगमा बोलेका भाषण र कुण्ठाहरु फेरि भिडियोको रुपमा भाइरल हुँदा त्यसैको प्रष्टिकरणमा दिन बिताउनुपर्ने अवस्था हुन्छ । साच्चै भन्नुपर्दा अहिले देशब्यापी रुपमा गुटभेला खुल्लमखुल्ला भएको विराटनगरलाई बेस बनाएर १ नम्बर प्रदेशमा धेरै भइरहेको अनुभूति हुन्छ । हुनत अहिलेको हाम्रो राजनीतिक संस्कार गुटभित्र नअटाईकन अगाडि बढ्न नसक्ने अवस्थामा पुगेको छ । कुनैपनि कुरा प्राप्तिका लागि गुटको छत्रछायाँमा हुर्कनुपर्ने अवस्था छ । यो नेकपाका कार्यकर्ताका लागि दुर्भाग्यपूर्ण अवस्था पनि हो । गुटमा लागे पनि एकले अर्कालाई गरिरहेको व्यवहारले के संकेत गरिरहेको छ भने आफ्नो काल आफैं निम्त्याइरहे जस्तो ।’
कतिपय नेताहरु गुटको भेलाको नाममा आफ्नो पार्टीगत प्रोटोकललाई समेत बिर्सिएर भाषण गर्न लालायित भएको देखिएको छ । आफूभन्दा जुनिएर कार्यकर्ता प्रमुख अतिथि हुने र अर्को चाँही भाषण गर्नका लागि मञ्चमा नगई नसक्ने अवस्थामा छ । कतिपय सांसद सार्वजनिक रुपमा नै आफ्नै अध्यक्षविरुद्ध जिन्दावाद र मुर्दावादको नारा लगाउने र कतिपय चाँही सरकारमा नै बसेर सरकारको विरोध गर्ने । यति हो कि गुटको राजनीतिमा लागेर राजनीति गर्नेले पनि कतिपय सन्दर्भमा आफ्नो प्रोटोकल सम्झिने हो कि ? यसो गरेर गुटको भेला र आन्तरिक कार्यक्रमहरु गर्नसक्यो भने भोलि जुटेर सँगै हिँड्दा पनि सहज हुन्छ । हुनत हामीकँहा जस्तो कुरा पनि पचाउने शक्ति छ । नमिल्दा एक अर्कालाई सिध्याउने गरि भण्डाफोर गर्ने र मिल्दा ‘हाम्रो एउटा इस्यूमा असहमति थियो, त्यसमा विवाद गरियो’ भनेर भूलिदिने चलन पनि छ । तर, यसले समाजलाई सहि दिशामा डोहो¥याउँदै अगाडि बढाउन भने सक्दैन । हामीले खोजेको समाजवादउन्मुख समाज निर्माण पनि हुन्न । त्यसअर्थ के गर्ने ? के नगर्ने ? नेताहरुले सोच्ने विषय हो ।