झ्याल टालेर ढोका किन खोल्या ?

  गोकुल पराजुली

असार महिनासम्म नेपालमा कोरोना नियन्त्रणमै थियो । फाटफुट बाहेक कोरोना संक्रमित यहाँ भेटिएका थिएनन् । चीन र पश्चिमी मुलुकहरुमा कोरोना संक्रमण तिब्ररुपमा फैलिएपछि हाम्रो देशले अन्तराष्ट्रिय उडान बन्द गर्यो र संक्रमण बढ्दै गएको भारत तथा छिमेकी चीनसँगको सीमानाकाहरु बन्द गर्यो । अहिले पनि सीमा नाका खुलेको छैन । भारतले नेपालबाट जानेहरुलाई रोकेको छैन तर नेपाल सरकारले उच्च संक्रमण फैलिएको भारतसँगको नाका बन्दनै राखेको छ ।

सीमा नाका बन्द राखेको विषयलाई नेपालीहरुले समर्थन नै गरेका छन् । निर्वाध आउजाउ गर्न दिँदा दुवै मुलुकका जनतामा संक्रमणको जोखिम बढ्छ । त्यस अर्थमा सरकारको कदम सहि छ । सरकारको निर्णय र लिएको कदम ठिक भएपनि कार्यान्वयनको अवस्था भने विपरित छ । भारतबाट रेल चढेर नेपाली सीमासम्म आइपुगेका नागरिकहरु स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको छ । उनीहरु वैधानिक नाकाबाट स्वदेश प्रवेश गराउन थुप्रै विधि पुरा गर्नु पर्छ । तर, अवैधानिक नाकाबाट दिनहुँ हजारौं मानिसको ओहोरदोहोर भइरहेको छ । यो कुरा राज्यले थाहा पाएर पनि चुपचाप बसेको छ । अर्थात् प्रहरीलाई कुन प्लालबाट कति मानिस आउँछन् र जान्छन् भन्ने कुरा थाहा छ तर उ रोक्दैन किन ?

करिव दुई महिना अघि विराटनगरको स्थानीय पत्रपत्रिकामा एउटा खबर तस्बिरसहित छापियो । विराटनगर जुटमिलको थोत्रे भवनको झ्यालबाट छिेरेर धमाधम मानिसहरु भारतको जोगबनी बजार जाने आउने गरेको दृश्य थियो त्यो । सीमा सुरक्षा र रेखदेख गर्ने सशस्त्र प्रहरीकै सामुन्नेमा झ्यालबाट छिरेर भारतीय बजार जाने र भारिकाभारी सामान बोकेर ल्याउने काम हुँदापनि रोकतोक नगरेको खबर छापिएपछि सशस्त्र प्रहरीले बोराले झ्याल टालेको दृश्य पनि समाचार बन्यो । प्रहरीले झ्याल त टाल्यो तर अहिले सशस्त्र प्रहरी र क्षेत्रीय प्रहरी तालिम केन्द्रको बीचभागमा रहेको थोत्रे गेटबाटै दोहोरीलत्ति मान्छेहरु जोगवनी जानथालेछन् । तर यस्तो नाङ्गो दृश्य पनि सुरक्षाकर्मीले नदेख्ने भएपछि मुलुकको सुरक्षा अवस्थालाई कसरी बुझ्ने ?

सीमा नाका बन्द छ । सरकारले सीमा क्षेत्रलाई अझ कडाई गर्ने र सुरक्षा उपस्थिति अझ बलियो बनाउँदै लैजाने भनेर प्रत्येक ५ किलोमिटरमा पोस्ट स्थापना गर्ने भनिरहेको छ । तर सुरक्षाकर्मीहरु किन आफ्नो डिउटीप्रति उत्तरदायी छैनन् ? किन आफ्नो कर्तव्य पुरा गर्न तत्पर नभएका हुन् ? के बोर्डर बन्द हुँदा सुरक्षाकर्मीको जीवनयापनमा समस्या आउँछ ? हैनभने सरकारको निर्णय कार्यान्वयन नगरेर असक्षमता देखाउनुको अर्थ के हो ? सरकारलाई असहयोग गरेर असफल बनाउने उद्देश्य हो ? तहतहको फुली लगाएर हाकिम हुने तर कर्तव्य चाँही पुरा गर्न नपर्ने हो र ? पछिल्लो समय भारतसँग जोडिएको सबै बस्ती र बाटोहरु तस्करीका लागि प्रयोग भइरहेका छन् । हुँदाहुँदा प्रदेश प्रहरी कार्यालयकै बाटो भएर दैनिक सयौं मानिसहरु भारतको जोगबनी बजार भर्न आउजाउ हुँदापनि नदेख्नु भनेको सरकारको निर्णयमाथिको ठाडो चुनौति हो । हैन भने झ्याल टाल्न सक्ने प्रहरीले गेट बन्द गर्न किन सक्दैन ? के मकसद छ जसले प्रहरी बोर्डरमा छाती फुलाएर बस्न सक्दैन र भिजेको मुसा जस्तो हुन्छ ?

बिहिबार, १८ मंसिर, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर