परीक्षा व्यवस्थापन कार्यालय इटहरी सार्ने तयारी

विराटनगर । कार्यालय भवन निर्माण गर्न जग्गा नपाएको भन्दै प्रदेश १ को राजधानी विराटनगरमा रहेको प्रदेश परीक्षा व्यवस्थापन कार्यालय (उच्च माध्यामिक शिक्षा परिषद्) सुनसरीको इटहरीमा सार्ने तयारी थालिएको छ ।

प्रादेशिक कार्यालयहरु प्रदेश राजधानीमा रहने सामान्य अभ्यास भएपनि परीक्षा व्यवस्थापन कार्यालय सुनसरीमा सार्ने प्रयत्न सुरु भएको हो ।

विराटनगरमा जग्गा खोजी गर्दा प्रदेश सरकार र विराटनगर महानगरपालिकाले जमिन उपलव्ध गराउन सहयोग नगरेपछि इटहरी उपमहानगरपालिकासँग जग्गाको प्रवन्ध गरिदिन आग्रह गर्दै पत्र पठाएको क्षेत्रीय निर्देशक डम्बरकुमार बतासले बताउनुभयो । इटहरी उपमहानगरपालिकाले कार्यालयको पत्रप्रति चासो देखाउँदै जनता माध्यामिक विद्यालयको नाममा रहेको जग्गामध्येबाट १० कठ्ठा उपलव्ध गराउने प्रक्रिया अघि बढाउन पत्र पठाएको छ ।

प्रदेश १ को राजधानी र शैक्षिक हवसमेत रहेको विराटनगरबाट प्रदेश परीक्षा व्यवस्थापन कार्यालय अन्यत्र स्थानान्तरण गर्ने प्रश्न नै नउठ्ने प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले बताउनुभएको छ । क्षेत्रीय संरचना हुँदासमेत विराटनगरमा स्थापना भएको कार्यालय अहिले अन्यत्र नसर्ने बरु कार्यालयको भवन निर्माणका लागि समन्वय र सहयोग गर्ने अध्यक्ष पुरीले बताउनुभयो ।

विराटनगर महागनरपालिकाका प्रमुख भीम पराजुलीले अहिलेसम्म प्रदेश परीक्षा व्यवस्थापन कार्यालयले जग्गा आवश्यकता परेकोबारे आफुसँग कुनै कुरा नगरेको, त्यस विषयमा औपचारिक जानकारीसम्म नभएको बताउनुभएको छ । ‘कार्यालयलाई जमिन आवश्यक परेको भए गम्भीरतापूर्वक प्रस्ताव आउथ्यो होला, छलफलका लागि पहल हुन्थ्यो होला,’ प्रमुख पराजुलीले भन्नुभयो ‘सायद औपचारिकता पुरा गर्न पत्र दर्ता गरियो होला । तर, मसँग कार्यालय प्रमुखले कुनै कुरा गर्नुभएको छैन ।’ उहाँले विराटनगरमा भएको कार्यालय जग्गाकै कारण अन्यत्र सार्ने कुरा छाडेर औपचारिक प्रस्ताव आए जग्गाको विषयमा सकारात्मक ढंगले छलफल गर्न तयार रहेको बताउनुभयो ।

प्रदेश सरकारसँग जग्गाको विषयमा कुरा गरी प्राविधिक प्रशिक्षण तालिम केन्द्र (वर्तमान सामाजिक विकास मन्त्रीको निवास भएको) को जमिन उपलव्ध गराउन माग गर्दा प्रदेशका प्रमुख सचिवले अस्वीकार गरेपछि जग्गा खोज्दै इटहरीतर्फ गएको कार्यालय प्रमुख बतासले बताउनुभयो । उहाँले भवन निर्माणका लागि जमिन जरुरी भएकोले जहाँ जग्गा पाइन्छ कार्यालय त्यहीं बनाउन आफूहरु तयार रहेको बताउनुभयो ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाटै कार्यालय भवन निर्माणको काम थालनी गर्ने भन्दै बोर्डले रकम विनियोजन गरेको थियो । प्रदेश परीक्षा व्यवस्थापन कार्यालयले भवन निर्माणका लागि ६ करोड रुपैयाँ विनियोजन गर्न माग गरेकोमा बजेट पुलमा रहेको कार्यालय प्रमुख बतासले जानकारी दिनुभएको छ ।

परीक्षा बोर्डको प्रादेशिक कार्यालय विराटनगरमा भन्दा इटहरीमै पायक पर्ने भन्दै बतासले पहाडी क्षेत्रबाट र अन्य जिल्लाबाट आउने विद्यार्थी तथा विद्यालयहरुलाई विराटनगर आउनुभन्दा इटहरी नै सहज हुने बताउनुभयो । विराटनगरको कार्यालय अन्यत्र सार्न नदिन प्रदेश सरकार र विराटनगर महागनरपालिकाले पहल गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।

बिहिबार, २२ असोज, २०७७, बिहानको ०८:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर