विद्यार्थीको घर–घरमा पुगेर पढाउँदै आदर्श स्कूल

विराटनगर । शिक्षण सिकाइ क्रियाकलाप चलायमन बनाउन विराटनगरस्थित आदर्श माविका शिक्षकहरूले विद्यार्थीको घर–घरमा पुगेर परियोजनामा आधरित शिक्षा अभियान सुरू गरेका छन् ।

महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणले गर्दा विद्यार्थीहरू घरमै रहेकोले आदर्श स्कूलले परियोजनामा आधरित रहेर अफलाइन शिक्षा अभियान प्रराम्भ गरेको स्कूलका प्राचार्य तुलसीप्रसाद दुलालले जानकारी दिनुभयो ।

‘संक्रमणले गर्दा अहिले विद्यार्थीहरू घरमै छन् । अनलाइनको पहुँचमा नरहेका विद्यार्थीहरूलाई लक्षित गरि अहिले प्रश्नपत्र लिएर परियोजनामा आधरित रहेर शिक्षा दिँदै आएका छौं,’ प्राचार्य दुलालले भन्नुभयो, ‘अफलाइन अभियानमा १ देखि कक्षा १० सम्म अध्ययरन गर्ने विद्यार्थीहरू जोडिन्छन् ।’ अफलाइन शिक्षा विद्यार्थीलाई शिक्षा दिन अहिले स्कूलले ६ वटा शिक्षकको समूह बनाएको छ ।

प्रत्येक समूहमा पाँच जना शिक्षक हुन्छन् । उनीहरूले स्कूलको सेवा क्षेत्रभित्र रहेका विद्यार्थीहरू माझ पुगेर तयार पारेको प्रश्न पत्र र परियोजना कार्य दिन्छन् । स्कूलले विद्यार्थीहरूको लागि तयार पारेको प्रश्नको उत्तर विद्यार्थीले सिर्जनात्मक तरिकाले दिनुपर्ने हुन्छ ।

अध्ययन गरेको पाठ्यपुस्तक, अन्य विभिन्न पुस्तक, अनलाइनमा भएका सामाग्री तथा विषयगत शिक्षकहरुलाई फोन गरेर वा प्रत्यक्ष भेटर आफ्नै मौलिक शैलीमा सिर्जनात्मक उत्तर दिनुपर्ने स्कूलले जनाएको छ । ‘विद्यार्थीको घरमा पुगेका शिक्षकले परियोजनामा आधरित रहेको प्रश्नपत्र लिएर जानुहुन्छ,’ स्कूललका प्राचार्य दुलालले भन्नुभयो, ‘विद्यार्थीलाई प्रश्नपत्र छोडेपछि भोलिपल्ट विद्यार्थीले दिएको उत्तरपुस्तिका लिएर आउनुहुन्छ ।’

यो अभियानमा अहिले ३० जना शिक्षक रहेको स्कूलले जनाएको छ । शिक्षकको ६ वटा समूहले विराटनगर महानगरपालिका, बुढीगंगा र कटहरी गाउँपालिकाभित्रका विद्यार्थीहरूको घरमा पुगेर परियोजनामा आधरित शिक्षा प्रदान गर्दछ ।

स्कूलले यसबाहेक अनलाइन कक्षा पनि सञ्चालन गर्दै आएको छ । कक्षा ६ देखि १२ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरू अहिले अनलाइन कक्षामा जोडिदै आएको स्कूललका प्रचार्य दुलालले बताउनुभयो । ‘बिहान ६ देखि १० बजेसम्म अनलाइन कक्षा सञ्चालन हुदै आएको छ,’ उहाँले भन्नुभयो, ‘शिक्षकले अनलाइन कक्षा सञ्चालन गरेपछि परियोजनामा आधरित शिक्षा विद्यार्थीलाई दिन अभिभावको घरमा पुग्छन् ।’

कोभिडले गर्दा लामो समयसम्म स्कूल बन्द भएपछि अहिले अनलाइन कक्षा प्रभावकारी भएको दुलालको भनाई छ । ‘हामीले सुरू गरेको अनलाइनमा कक्षामा ७० देखि ९० प्रतिशत विद्यार्थीले प्रत्यक्ष रूपमा अनलाइन कक्षामा अध्ययन गर्दै आएका छन्,’ उहाँले भन्नुभयो, ‘अहिले प्रमुख विषयहरू अनलाइन कक्षाबाट अध्ययन हुने गरेको छ ।’ अनलाइन कक्षाप्रति अहिले विद्यार्थीको चासो बढेर गएको उहाँको भनाइ छ । विराटनगरकै पुरानो स्कूल आदर्शमा २ हजार ९ सय विद्यार्थी छन् ।

सोमबार, १९ असोज, २०७७, दिउँसोको ०३:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर