विराटनगर । विराटनगरस्थित ‘डाइनामिक एजुकेशन कम्प्लेक्स’ का सञ्चालक ३२ वर्षीय प्रमोद स्वर्णकार (सोनी) ठगी आरोपमा पक्राउ परेका छन् ।
अष्ट्रेलियामा अध्ययनसँगै आकर्षक रोजगारी दिलाइदिने भन्दै विद्यार्थीसँग लाखौं रुपैयाँ ठगी गरेको आरोपमा विराटनगर १३ घर भएका सोनी पक्राउ परेका हुन् ।
सोनीले अध्ययनसँगै अष्ट्रेलियामा आकर्षक रोजगारी दिलाउने भन्दै विराटनगर–३ का मनिष चौधरीसँग ३१ लाख रुपैयाँ ठगी गरेको आरोप छ । पीडितले मोरङ प्रहरीमा किटानी जाहेरी दर्ता गराइ अदालतबाट पक्राउ पूर्जी जारी भएपछि ठगी आरोपमा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपी मानबहादुर राईले जानकारी दिनुभयो ।
पक्राउ परेका सोनीलाई प्रहरीले शुक्रबार मोरङ अदालतमा ‘ठगी मुद्दामा’ ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको डिएसपी राईले बताउनुभयो । ‘ठगीको जाहेरी दर्ता भएपछि पक्राउ गरिएको हो,’ डिएसपी राईले भन्नुभयो, ‘अहिले हामी अनुसन्धनको क्रममा छौं । कति ठगी भयो त्यो पछि अनुसन्धानबाट खुल्नेछ ।’
काठमाडौं ‘इन्फोसिस एजुकेशन कन्सल्टेन्सी ग्लोबल’ को फ्रेन्चआईची लिएर प्रमोदले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूबाट अधिकतम् शुल्क असुल्दै ठगी गर्दै आएको आरोप लागेको छ । बिदेशन अध्ययन गर्न जाने विद्यार्थीहरूलाई कतिसम्म लिएर ठगी गर्दै पठाउँछन् यस विषयमा पनि प्रहरीले गहन रूपमा अनुसन्धान सुरू गरिएको मोरङ प्रहरीले जनाएको छ ।
मनिषका बावु कुलदिपसँग विभिन्न मितिमा सोनीले पटक–पटक गरि ३१ लाख रुपैयाँ लिएपछि अध्यनसँगै मासिक ३ लाख ५० हजार रुपैयाँ कमाइ हुन्छ भन्दै २०७५ फागुन १९ गते अष्टे«लिया पठाएका थिए । अस्ट्रेलिया इन्टिच्यूट अफ हाइयर एजुकेशनमा ब्याचलर अफ विजेशन इन्फमेशन सिस्टम विषयको अध्ययनका लागि उनलाई पठाएका थिए । आकर्षक जागिर हुन्छ भनेर सोनीले पठाएको भएपनि रोजगार नपाएपछि धेरै समस्या भएको मनिषको भनाइ छ ।
‘पढाइसँगै मासिक ३ लाख ५० हजार कमाई हुन्छ भनेर ३१ लाख रूपैयाँ बुझाएर अष्टे«लिया गएको थिएँ,’ मनिष भने ‘कन्सलटेन्टीले भनेजस्तो काम पनि पाइन् । धेरै दुःख पाएपछि ८ महिनापछि स्वदेश फर्किए ।’ भने जस्तो काम र पढाईसमेत संभव नभएपछि २०७६ कार्तिक १२ गते परिवारले मनिषलाई स्वदेश फिर्ता ल्याएको मनिषका बुबा कुलदिप चौधरीले बताउनुभयो । अष्ट्रेलियामा बिजोग भएपछि मनिषलाई फिर्ता ल्याउन परिवारले ३ लाख ५० हजार रुपैयाँसमेत पठाएको थियो ।
छोरालाई फिर्ता ल्याएसँगै दोषीको कारवाहीको माग राख्दै गत मंसिर ३० गते जिल्ला प्रशासन कार्यालय मोरङमा किटानी जाहेरी दर्ता गरेको पीडित परिवारले जनाएको छ । जाहेरी दर्ता गराएपछि आफूहरुलाई ज्यान मार्ने धम्की पनि आएको कुलदिपको आरोप छ ।
छोरालाई अष्ट्रेलिया पठाउन र त्यहाँ बिजोग भएपछि जीवन जोगाउन तथा फिर्ता ल्याउँदासम्म कुलदिपले आफ्नो नाममा रहेको १० कठ्ठा जग्गा बिक्री गरेका छन् । अष्ट्रेलिया पठाउन कुलदिपले प्रमोदलाई २०७५ माघ २० गते बिमाबापत नगद ४ लाख ५० हजार रुपैयाँ दिएका थिए । सो रकम प्रमोदले हुण्डीमार्फत पठाएको बुझिएको छ ।
यस्तै २०७५ फागुन १ गते १ लाख ५० हजार रुपैयाँ भिसा प्रोसेसिङ्गको लागि र ९ फागुनमा ६५ हजार रुपैयाँ टिकटको लागि भन्दै लिएको कुलदिपले बताउनुभयो । त्यसअघि २०७५ फागुन ८ गते २१ लाख ४० हजार, चैत ५ गते १ लाख, चैत १० गते १ लाख, वैशाख ३ गते ५० हजार, वैशाख २३ गते ५० हजार, २०७६ असार २२ गते ५० हजार, साउन १६ गते २५ हजार र भदौ १२ गते २५ हजार रुपैयाँ दिएको कुलदीपकोे भनाइ छ ।