शिवप्रसाद भण्डारी, प्रमुख, विराटनगर भन्सार कार्यालय
विराटनगरस्थित एकीकृत जाँच चौकी (आइसिपी) अर्थात विराटनगर भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारी मिहेनत र लगनशीलताको उदाहरणीय नाम हो । सुनसरीको बराहक्षेत्र ८ चक्रघट्टीमा सामान्य किसान परिवारमा जन्मिएर मुखिया तहबाट उपसचिव तहसम्म पुग्न सफल भण्डारीको लामो सरकारी सेवा भन्सारमै वितेको छ । स्थानीय महेन्द्र माध्यामिक विद्यालयबाट २०३६ सालमा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययन गर्न काठमाडौ पुग्नुभएका भण्डारी २०४० साल माघ १ गते लोकसेवा उत्तीर्ण गरी मुखिया पदबाट निजामति सेवामा प्रवेश गर्नुभयो । सरकारी सेवाको ३७ औं वर्षमा विराटनगर भन्सारको प्रमुख भन्सार अधिकृतमा कार्यरत उहाँ खरिदार, नायब सुब्बा पास गर्दै २०५४ सालमा राजश्व समूहबाट अधिकृत पास गर्नुभयो । २०४८ सालदेखि अर्थमन्त्रालयमा रहेर काम गर्नुभएका भण्डारी अधिकृत पास भएपछि करिव ४ महिना मूल्य अभिवृद्धि कर अन्तर्गतको कार्यालयमा काम गरेर पुनः मन्त्रालय नै फर्किनुभयो । मेचीदेखि महाकालीसम्मका विभिन्न भन्सार कार्यालयहरुमा काम गर्नुभएका भण्डारीले २०६९ सालमा उपसचिव तहमा बढुवा भएपछि उहाँ कैलाली भन्सार कार्यालयको प्रमुख, दुई वर्ष विभाग परिवर्तन भई राजश्व अनुसन्धान विभाग कोहलपुरको प्रमुख रहनुभयो । जागिरसँगै अध्ययनलाई निरन्तरता दिनुभएका उहाँले तीन विषयमा स्नातकोत्तर गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर गर्नुभएका उहाँले त्रिवि र पूर्वाञ्चल विश्वविद्यालयबाट एमपिए गर्नुभयो । दुवै विश्वविद्यालयबाट उहाँले बिएड गर्नुभएको छ भने त्रिविबाट कानूनमा पनि स्नातक गर्नुभएको छ । अर्थमन्त्रालय र भन्सार प्रशासनमा २८ वर्ष काम गर्नुभएका भण्डारीसँग भन्सार प्रशासन र त्यससँग सम्वन्धित विविध विषयमा गरिएको कुराकानीः
आइसिपी बनेपछिको सकारात्मक पक्ष के छन् ?
म अघिल्लो साल कार्तिक अन्तिममा रानी भन्सारमा हाजिर भएको हुँ । भिडभाड, कोलाहल, मानिसहरुको आउजाउ, ७÷८ किलोमिटरसम्म गाडी जाम हुने अवस्थामा हामीले काम गरिरहेका थियौं । माघ १६ गतेदेखि आइसिपिबाटै पूर्णरुपमा काम सुरु भएको छ । आइसिपी सञ्चालनमा आएपछि भारततर्फ कयौं दिनसम्म जाम भएर समयमा गाडी पास नहुने अवस्था थियो । अहिले एक दिन पनि गाडी जाम भएर रोकिदैन । भारततर्फको आइसिपिमा आइपुगेको गाडी दुई घण्टाभित्रै हामी पास गरेर पठाउन सकिरहेका छौं । भन्सार बिन्दुमा गोदामघरको अभाव छ । पार्किङका लागि ओपन सेडहरु प्रयाप्त छैनन् । तरपनि ५–७ सय गाडी बाटो र परिसरमै पार्किङ गर्नसक्ने अवस्था रहेकोले खास समस्या पनि देखिएको छैन ।
सामान्य अवस्था र अहिलेको परिवेशमा आयात निर्यात र राजश्वको अवस्था के छ ?
कोरोना महामारीसँगै चैत्र ११ देखि लकडाउन सुरु भयो । त्यसले हामीलाई पनि प्रत्यक्ष असर गरेको छ । विश्व अर्थतन्त्रमै असर परेपछि हाम्रो आयात निर्यात पनि प्रभावित भयो । एकीकृत भन्सार केन्द्र सञ्चालनमा आएपछि माघ र फागुनमा भन्सार राजश्व निकै राम्रो संकलन भएको थियो । कोरोनासँगै हाम्रो लक्ष्य अनुसार कारोवाहरु हुन सकेनन् । उद्योग, व्यापार, पर्यटन, यातायात सबै क्षेत्र बन्द भएपछि राजश्व संकलन हुने कुरा वा आयात निर्यात राम्रो हुने अवस्था पनि थिएन । चालु आर्थिक वर्षमा सरकारले अघिल्लो वर्षको भन्दा राजश्व लक्ष्य पनि घटाएको छ । अघिल्लो वर्ष ५० अर्व लक्ष्य थियो यसपटक ४६ अर्ब लक्ष्य दिइएको छ । साउन महिनामा २ अर्ब १८ करोडको लक्ष्य थियो, हामीले त्यो पुरा गरेका छौं । हामीले लक्ष्यभन्दा ६ करोड बढी संकलन गरेका छौं । पछिल्लो समय आर्थिक गतिविधि केही चलेका कारण राजश्व लक्ष्य अनुसार संकलन भयो । तर, यसमा हामीले बुझ्नु पर्ने कुरा के छ भने साउनमा सरकारले थोरै लक्ष्य दिएको थियो । भदौमा ३ अर्ब बढी राजश्व लक्ष्य दिएको छ । बन्दव्यापार सुचारु हुनेतर्फ गएको खण्डमा लक्ष्य अनुसार राजश्व संकलन हुने देखिन्छ ।
उद्योगी व्यवसायीले भन्सार प्रशासन, सुरक्षा निकाय आदिले दुःख र झन्झट दिने गरेको गुनासो गर्ने गरेका छन्, त्यसको कारण के हो ?
प्रश्नहरु उठेन, गुनासो आएन भने त आदर्श राज्य भइहाल्यो नि । गुनासोहरु आए, समस्याहरु पहिचान भयो भने मात्र सुधार गर्न सकिन्छ । हामी निरन्तर सुधारको पक्षमा छौं । कमिकमजोरीहरु निरन्तर सुधार गर्दै जानुपर्छ । अहिले उद्योगी व्यवसायीहरु पनि आत्तिएका छन् । दवावमा छन् । यस्तो बेलामा केही गुनासोहरु आउनुलाई स्वभाविक मान्नुपर्छ । मैले गुनासोहरुलाई तत्काल सम्बोधन गर्ने गरेको छु । जसले गर्दा भन्सार हरबखत सुचारु राख्न सफल भएका छौं । जसबाट यहाँका उद्योगी व्यवसायीहरु पनि सन्तुष्ट भएको मैले पाएको छु ।
सुरक्षा निकायबाट मैले राम्रो सहयोग पाएको छु । हामीबीच समन्वय पनि राम्रो छ । हाम्रो भन्सार विभाग पनि विराटनगर भन्सारको कामबाट सन्तुष्ट पाएको छु । उहाँहरुले विराटनगर भन्सारले जस्तै काम हुने हो भने समस्याहरु धेरै केन्द्रमा आउदैनथ्यो भनेर प्रतिक्रिया दिने गर्नुभएको छ ।
नेपालको भन्सारमा न्यून बिजकीकरणको समस्या छ । भन्सारले त्यस्ता वस्तु खरिद गर्ने गरेको पनि थियो । अहिले त्यसको अवस्था के छ ?
भन्सारमा मूल्यांकन र वर्गीकरणको विषय संसारभरी विवादित नै रहने गरेको छ । यस्तै समस्या संसारभर हुने भएकोले ब्रसेल्समा हरेक वर्ष यसै विषयमा छलफल हुने गरेको छ । न्यून बिजकीकरण र अधिक बिजकीकरण दुवैको समस्या हुन्छ । बिजकीकरणको समस्या समाधानका लागि हामीले मूल्यको बारेमा सूचनाहरु लिइरहेका हुन्छौं । इन्टरनेट र बजारको मूल्य अध्ययन गरिरहन्छौं । त्यसअघि आयात हुँदाको मूल्य हेर्छौ । सरकारले समय–समयमा छलफल र गोष्ठि गरेर सुधार गरिरहेको हुन्छ । वस्तुको मूल्यका विषयमा सुक्ष्म सुचना लिइरहेका हुन्छौं ।
अधिक बिजकीकरणको समस्या चै के हो ? कस्तो वस्तुमा यस्तो समस्या देखिने गरेको छ ?
वास्तविक मूल्यभन्दा धेरेको बिल बनाएर सामान ल्याउनु अधिक बिजकिकरण हो । अधिक बिजकीकरण किन गरिन्छ भन्ने व्यापारीहरुले जान्ने कुरा हो । पुनःनिकासीजन्य वस्तु, मेसिनरी आदि वस्तुको आयातमा अधिक बिजकीकरण गर्ने समस्या देखिन्छ । विदेशी मुद्रा अपचलन नहोस् भन्ने उद्देश्यले हामीले अधिक बिजकीकरण गर्न नदिनेतर्फ पनि हामीले ध्यान दिइरहेका हुन्छौं ।
लामो समय भन्सार क्षेत्रमा काम गर्नुभयो । नेपालको भन्सार अन्तराष्ट्रिय भन्सारहरुसँग हाम्रो तुलना कसरी गर्न सकिन्छ ?
अर्थमन्त्रालय प्रवेशपछि मेरो २८ वर्षको अनुभव यसमा रह्यो । यसै सिलसिलामा जापान, चीन, बेलायत, थाइल्याण्ड, साउथ कोरिया आदि देशहरुको भ्रमण गरेको छु । त्यहाँको भन्सारको काम कसरी हुन्छ, प्रविधिहरु के के रहेछन् भन्ने विषयको अध्ययन गर्ने अवसर प्राप्त भएको छ । आयात निर्यातको अवस्था, भन्सार प्रशासनको प्रविधि विदेशमा र हाम्रोमा आकाश जमिनको फरक छ । जुनबेलामा म अर्थ मन्त्रालय हुँदै भन्सार प्रशासनमा सेवा प्रवेश गरें, त्यसबेला हातले लेखेर प्रज्ञापन पत्र तयार गरिन्थ्यो । राजश्व बुझ्ने काम पनि भन्सारले नै गथ्र्यो । त्यो बेलामा ती मुलुकहरुमा सबै कम्प्युटर प्रणाली थियो । त्यसपछि भन्सार प्रशासनलाई अन्तराष्ट्रिय स्तरमा विकास गर्नुपर्छ भन्ने सरकारले महशुस गरेपछि हामी पनि अन्टार्डको सहयोगमा कम्प्युटर प्रणालीमा गयौं । आसिकुडा प्लसप्लसबाट सुरु भएको प्रविधि अहिले आसिकुडा वल्र्डमा प्रवेश गरेको छ । हामीले ब्रोकर मोडलको प्रयोग हुन थालेको छ । ब्रोकर मोडल घरमै बसेर सेवाग्राहीले प्रयोग गर्नसक्छ कार्यालय आइरहनु पर्दैन । गेटइन्ट्री मोडल पनि सुरु भएको छ । आयात निर्यातको वस्तु यो गेटमै वस्तुको इन्ट्री हुन्छ । गेट इन्ट्री नभई काम सुरु हुँदैन । अहिले भन्सारको सिस्टम बैंकसँग लिंक गरिएको छ । कर्मचारीले सामान जाँच गरिसकेपछि विवरण बैंकमा जान्छ र बैंकले राजश्व संकलन गर्छ । त्यसपछि मात्र भन्सार पास हुन्छ । विगतको तुलनामा निकै एड्भान्स भएको छ । अझ हामीले एकीकृत सेवा प्रणाली पनि आरम्भ गर्ने तरखरमा छौं । सिंगल विन्डो प्रणालीको काम सम्पन्न हुँदा विभिन्न ४५ वटा कार्यालयहरु उक्त प्रणालीमा एकीकृत हुन्छन् । त्यसपछि कागज दौडाउदै विभिन्न कार्यालय दौडनुपर्ने बाध्यता अन्त्य हुन्छ । झण्डै ७० करोडको लगानीमा यो परियोजना तयार भइरहेको छ । यो प्रणाली प्रयोगमा आएपछि लागत र समय घट्ट जसले उपभोक्तालाई पनि राहत पुग्छ । यद्यपी अन्तराष्ट्रिय स्तरमा हामी धेरै नै पछाडि छौं । यतिठूलो आइसिपीमा एउटा स्क्यानर मेसिन छैन, एक्स रे मेसिन छैन । अरु धेरै प्रविधिहरुको अहिले पनि अभाव छ । स्क्यानर र एक्स रे मेसिन आउने प्रक्रियामा छ । हामी पनि विस्तारै आधुनिक टेक्नोलोजीमा जादैछौं ।
राजश्व संकलनका दृष्टिले भन्सार सरकारको महत्वपूर्ण अंग हो र कर्मचारीहरुको पनि यही ठाउँमा आकर्षित हुन्छन् । त्यसको कारण के हो ?
मैले भनेको कुरा नै यहि हो कि जतिबेला भन्सार आफैंले राजश्व संकलन गर्ने गर्दथ्यो, त्यतिबेला भन्सार कि संसार भनिन्थ्यो । अहिले भन्सार सुधार भएर टेक्नोलोजीमा गएको छ । भन्सारका मानिसहरु विवादमा आए, त्यही भएर भन्सारलाई क्यासलेस बनाइयो । अब बैंकमार्फत कारोवार हुन्छ । अनुसन्धान निकायका मानिसहरुको निरन्तर निगरानी छ । अहिले कर्मचारीहरुको आकर्षण भन्सार छैन । अहिले कर्मचारीहरु भन्सारमा आउनै रुचाउँदैनन् । भन्सारमा सरुवा हुनका लागि कर्मचारीको प्रेसर नै छैन । बरु अहिले करतिर कर्मचारीको आकर्षण छ । प्रेसर उतैका लागि छ । भन्सारमा त दरबन्दी अनुसारका कर्मचारीहरु पनि आइरहेका छैनन् । यहाँ त सामान र राजश्व दुवैको जोखिम बढी छ । भन्सारमा हुनसक्ने जोखिम कम गर्न ग्रिन, एल्लो र रेड लेनका आधारमा बस्तु जाँचपास गर्ने प्रणाली विकसित गरिएको छ । जसले गर्दा कर्मचारीहरुलाई हुने जोखिम कम गर्ने प्रयास गरिएको छ । हामीले रेड लेनमा आएका वस्तुहरुको जाँचमा बढी ध्यान दिनुपर्छ ।
भारतीय पक्षसँगको समन्वयको अवस्था कस्तो छ र त्यहाँबाट कस्तो सहयोग पाउनु भएको छ ?
भारतीय भन्सारबाट कुनै समस्या भएको मैले पाएको छैन । हामी दुई भन्सारका बीचमा राम्रो समन्वयमा काम भएको छ । कुनै समस्या आउनासाथ तत्काल समन्वय गरेर समाधान निकाल्ने गरेका छौं । उत्तापट्टिबाट पनि समस्या पहिचान र समन्वयमा निरन्तर चासो दिने गरेको मैले पाएको छु । जुन हाम्रा लागि उदाहरणीय कुरा हो । म आएपछि एकदिन पनि भन्सार बन्द भएको वा काममा अवरोध पुगेको छैन । जसबाट नेपाली व्यवसायीहरुले थप नोक्सानी व्यहोर्नु परेको छैन ।
लकडाउनको अवधिमा पनि चोरी तस्करी नियन्त्रण नहुनुको कारण के हो ?
नेपाल र भारतको खुला सीमानाका कारण चोरी तस्करी जहिल्यैको समस्या हो । लकडाउनको सुरुको तीन महिना नाका ठप्प भएको थियो र चोरी तस्करी भएको थिएन । अहिले चोरी तस्करी भएर सामानहरु आइरहेको भन्ने सूचनाहरु आउने गरेको छ । कतिपय बेलामा सुरक्षा निकायले त्यसलाई नियन्त्रण पनि गरेको छ । खुला बोर्डर भएकोले कतै न कतैबाट त्यस्ता गतिविधि हुने गरेको छ । यसतर्फ पनि सञ्चार क्षेत्रले सूचनाको माध्यमबाट भन्सार प्रशासनलाई सहयोग गर्नुपर्छ । जसले गर्दा भन्सार लक्ष्य पुरा गर्न पनि सहयोग गर्छ । भन्सार प्रशासन जनताबाट टाढाको निकाय हैन । भन्सारले जहिले पनि मूल्य नियन्त्रणमा ध्यान दिइरहेको हुन्छ । उपभोक्तासँग जोडिएर काम गरिरहेको हुन्छ । त्यसैले भन्सार प्रशासनलाई सहयोग गर्नुपर्छ भन्ने भावना पैदा गराउन तपाईं हामी सबै लाग्नुपर्छ ।
कोरोना भाइरसले संसारकै अर्थतन्त्र तहसनहस बनाएको अवस्थामा हाम्रो देशको अर्थतन्त्र कुन अवस्थामा पु¥याउने अनुमान गर्नुभएको छ ?
कोरोना भइरसबाट धेरे देशको अर्थतन्त्र नकारात्मक दिशातर्फ गएको छ । विश्वका सबै देशहरु डराएकै अवस्था छ । नेपाल पनि प्रभावित छ । आयात निर्यात प्रभावित भएको छ । तर, अब यसलाई बिस्तारै सुचारु गराउनु पर्ने अवस्था छ । यसका लागि सरकारले आर्थिक गतिविधिलाई सुचारु गर्न विभिन्न राहतका प्याकेज दिने, ब्याज तथा करमा पुनरावलोकन गर्ने जस्ता कुरामा सरकारले ध्यान दिन्छ भन्ने मलाई लाग्छ । अहिले हामीलाई चुनौति नै छ । तर, आर्थिक क्रियाकलाप चलायमान गराउनै पर्छ । साउनदेखि यता हाम्रा गतिविधिहरु केही चलिरहेका छन् । बिस्तारै यसलाई बढाउदै लैजानुपर्छ । जसले गर्दा हाम्रो आर्थिक गतिविधि अगाडि बढ्नसक्छ ।
धेरै राम्रो प्रस्नहरु पत्रकार ज्यु ले सोधनु भएछ ।साथै त्यसको जवाफ राम्रो संग प्रमुख भन्सार अधिकृत ज्यु ले दिनु भएकोे मा धन्यबाद दिनु चाहन्छु ।
अनुभवि कार्यालय प्रमुख ज्यूको प्रभावकारि जवाफ छ।