सेनाले उठायो विराटनगरका ४५ बर्षीय मृतकको शव

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ६ मा बिहीबार राति ८ बजे मृत्यु भएका ४५ वर्षीय कामत थर गरेका कोरोना संक्रमित पुरुषको शव नेपाली सेनाले उठाएको छ ।

शुक्रबार मोरङको थलाहा ब्यारेकबाट आएको सुर्यदल गणको शव व्यवस्थापन टोलीले शुक्रबार विहान ११ बजे मृतकको शव उठाएको हो ।

मृतकको शव कानेपोखरीको जङ्गलमा व्यवस्थापन गरिने नेपाली सेनाले जनाएको छ । कोरोना संक्रमणबाट मृत्यु भएका सबैको शव सेनाले कानेपोखरीको जंगलमै व्यवस्थापन गर्दै आएको छ । विगत १० वर्षदेखि मधुमेहको रोगबाट ग्रसित रहेका कामतको बिहीबार राति अचानक मृत्यु भएको थियो । केही समय पहिले मधुमेहको रोगले सिकिस्त हुँदा १५ दिनसम्म कोशी अस्पतालको आईसियुमा राखेर उनको उपचार गरिएको थियो ।

नियमित औषधी गर्दै आएका उनलाई पछिल्लो समय रुघाखोकीले सताउन थालेपछि गत भदौ ३ गते कामतले पिसिआर परिक्षण गराएका थिए । परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि प्रदेशका कोरोना बिशेष अस्पताल लैजान खोजेपनि अस्पतालमा शैय्या अभावका कारण उनी होम आईसोलेसनमा बस्न बाध्य भएका थिए ।

मृतक पुरुषमा कोरोना पुष्टि भएपनि उनको परिवारका अन्य सदस्यहरुमा भने संक्रमण देखिएको थिएन । मृतक कामतका १ छोरा, ३ छोरी र श्रीमती छन् । उनको सम्पर्कमा आएका छोरा, छोरी र श्रीमतीसहित परिवारका अन्य ३० जना सदस्यहरुको पनि आईतबार कोरोना परिक्षण गरिने वडा नं. ६ का वडाध्यक्ष विजय कामतले दिनुभयो ।

यो सँगै विराटनगरमा कोरोना संक्रमण कारण ज्यान गुमाउने संख्या ९ पुगेको छ ।

यो पनि पढनुहोस : विराटनगरमा कोरोना संक्रमितको घरमै मृत्यु

शुक्रबार, ०५ भदौ, २०७७, दिउँसोको ०१:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर