उदयपुर । उदयपुरको बेलका नगरपालिकामा गुडिरहेको स्कुल बसबाट खस्दा एक बालकको घटनास्थलमै मृत्यु भएको छ।
बेलका नगरपालिका–४ हरीपुर शिसवारी भित्री सडक खण्डमा गुडिरहेको को.१ ख ३५१६ नम्बरको बेलका बोर्डिङ स्कुलको बसबाट खसेर ९ वर्षीय बालकको ज्यान गएको हो। मृत्यु हुनेमा सोही विद्यालयमा अध्ययनरत स्थानीय कृष्ण बस्नेतका ९ वर्षीय छोरा सफल बस्नेत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जहडाबाट हरिपुरतर्फ जाँदै गरेको बसबाट अचानक खस्दा बालकको घटनास्थलमै मृत्यु भएको हो। घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
मृतक बालकको शव पोस्टमार्टमका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले बस चालक बेलका नगरपालिका–८ सिसौली बस्ने ३४ वर्षीय प्रेम तामाङलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।