लोड हुँदैछ...

मेनु

एमालेको ११औं महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु

एमालेको ११औं महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहानबाट मतदान प्रक्रिया सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपस्थित मतदानस्थलमा अध्यक्षका प्रत्याशी केपी शर्मा ओली पुगेसँगै मतदान आरम्भ भएको हो।

नयाँ कार्यकालको नेतृत्वका लागि अध्यक्षका दुई प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले पहिलो मत खसाल्दै मतदानको सुरुआत गरेका छन्। मंगलबार साँझ नै सुरु हुने भनिएको मतदान प्रक्रिया प्राविधिक कारण देखाउँदै आज बिहानका लागि सारिएको थियो। बिहान ८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहे पनि तयारीका कारण केही समय ढिला गरी मतदान सुरु भएको छ। यद्यपि, मतदाता प्रतिनिधिहरू भने बिहान सबेरैदेखि उत्साहका साथ लाइनमा बसेका थिए।

महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको छ। रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको प्रविधिमार्फत भइरहेको मतदानका लागि स्थलमा ८० वटा मेसिन राखिएका छन्। यस महाधिवेशनमा देशभरबाट आएका २,२६३ प्रतिनिधिहरूले नयाँ नेतृत्व चयनका लागि मताधिकार प्रयोग गर्दैछन्।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन्। दुवै पक्षका प्यानलमा नपरेका केही नेताहरूले स्वतन्त्र उम्मेदवारी समेत दिएका छन्।

मतदान प्रक्रिया चलिरहँदा मतदानस्थल बाहिर उम्मेदवार र तिनका समर्थकहरूले अन्तिम समयको प्रचारप्रसार तीव्र पारेका छन्। उम्मेदवारहरू लाइनमा बसेका प्रतिनिधिहरूसँग मत मागिरहेका देखिन्छन् भने समर्थकहरूले आ–आफ्ना नेताको पक्षमा माहोल बनाउन प्रयास गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds