विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जननेता मदन भण्डारीको ७३ औं जन्मदिनको स्मरणमा श्रद्धासुमन अर्पण गरेका छन् । मुख्यमन्त्री निवास परिसरमा आज बृक्षारोपण गर्दै उनले भण्डारीको स्मरण गरेका हुन् ।
वृक्षारोपण गर्दैगर्दा विश्व कम्युनिष्ट आन्दोलन कमजोर भइरहेको परिवेशमा नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाई प्रदान गर्न जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गर्दै समाज रुपान्तरण र कम्युनिष्ट व्यवस्थाका लागि भण्डारीले गरेको योगदान अतुलनीय रहेको मुख्यमन्त्री कार्कीले बताए ।
संवैधानिक सर्वोच्चता, बहुलवादी खुल्ला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको विपक्ष, जनताको जनवादी व्यवस्थाको सुदृढीकरणजस्ता विषयलाई शिलशिलावद्ध रुपमा व्याख्या गरी जनताको बहुदलीय जनवादलाई प्रतिपादन गरी आम नेपाली श्रमजीवी वर्गलाई कम्युनिष्ट आन्दोलनमा गोलबन्द गरी देशको प्रमुख शक्ति बनाउनमा भण्डारीको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।
वि.सं. २००९ साल असार १४ गते कोशी प्रदेशको ताप्लेजुङको ढुंगेसाँगुमा भण्डारी जन्मेका थिए । भण्डारी ३० को दशकदेखि नै कम्युनिष्ठ आन्दोलनमा होमिएका थिए । उनको सादा जीवन र विचारलाई आत्मासाथ गर्दै अगाडि बढ्नसके मुलुकलाई समृद्धितर्फ लैजान सकिने मुख्यमन्त्री कार्कीको विश्वास थियो ।