विराटनगर । दक्ष जनशक्तिको चरम अभाव झेलिरहेको कृषि प्राविधिक उत्पादन गर्ने शैक्षिक संस्थाहरुलाई प्रोत्साहन गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् ।
सुनसरीको रामधुनी नगरपालिका ६ सोनापुरमा रहेको जिविका कृषि कलेजको अवलोकन गर्न पुगेका सामाजिक विकास मन्त्री, विश्वविद्यालय र प्राविधिक शिक्षा केन्द्रका अधिकारीहरुसमेतको टोलीसँग कलेज संचालक र विद्यार्थीहरुले तीनै तहको सरकारबाट सहयोग हुनुपर्ने बताएका हुन् ।
कलेज अवलोकनपछि कोशी प्रदेश सरकारका समाजिक विकास मन्त्री राजेन्द्रकुमार कार्कीले शिक्षित दक्ष प्राविधिक जनशक्ति नभएसम्म कृषिले व्यावसायिक उत्पादन गर्न नसक्ने भएकोले अब स्थानीय तह र प्रदेश सरकारलेसमेत यस्ता शिक्षालयहरुका लागि सहयोग गर्नुपर्नेमा आफू सकारात्मक रहेको प्रतिक्रिया दिए । मन्त्री कार्कीले भने, ‘अब सबै तहका सरकारहरुले मन्दिर, पार्क, भ्युटावर र भवनहरु निर्माण आदिमा भन्दा कृषि प्राविधिक उत्पादन गर्ने शिक्षामा खर्च गर्नुपर्छ ।’ मन्त्री कार्कीले गैरनाफामूलक कृषि कलेजहरुलाई सहयोग गर्न प्रदेश सरकार सकारात्मक रहेको बताए ।
कोशी प्रदेश सरकार मातहत स्थापना भएको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवाश्री पोखरेलले कृषि प्राविधिक शिक्षामा विद्यार्थीहरुको रुचि घट्दै गएको भन्दै सरकारले विशेष नीति बनाएर आकर्षण बढाउन जरुरी रहेको बताए । प्राविधिक विश्वविद्यालय भएको नाताले यसमा चासो रहेको उनले बताए ।
उनले प्राविधिक जनशक्ति उत्पादन गर्ने गैरनाफामूलक शैक्षिक संस्थाहरुसँग साझेदारी गर्न विश्वविद्यालय तयार रहेको बताए । उनले प्रदेश सरकारले चाहेमा विश्वविद्यालयको ऐन शंसोधन वा सभाबाट निर्णय गरी सहकारी मार्फत सञ्चालन भएका शैक्षिक संस्थाहरुसँग साझेदारी गर्ने बाटो खोल्न सकिने विश्वास व्यक्त गरे ।
उपकुलपति पोखरेलले भने ‘हामी सहकारीसँग साझेदारी गर्न तयार छौं, तर त्यसका लागि प्रदेश सरकार तयार हुनुपर्छ ।’ विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेले हालमनमोहनको ऐनमा गैरनाफामुलक सामुदायिक र प्रतिष्ठान अन्तर्गत रहेका शैक्षिक संघ संस्थाहरुसँग मात्र साझेदारी गर्न सकिने व्यवस्था भएकोले सहकारी मार्फत सञ्चालन भएकाहरुको हकमा सरकारले ऐन शंसोधन गर्नुपर्ने बताए ।
न्यौपानेले सहकारी पनि सामुदायिक हितका लागि सञ्चालन हुने भएकोले मुनाफारहित ढंगका शैक्षिक सहकारीसँग साझेदारी गर्ने नीति आवश्यक भएकोमा जोड पनि दिए ।
प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद (सिटीभिटी) का कोशी प्रदेशका निर्देशक सञ्जयकुमार न्यौपानेले कृषि प्राविधिक मात्र नभएर तालिमप्राप्त दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्न आफूहरु तयार रहेको बताए । उनले प्रदेश सरकारले पनि सहकारीबाट सञ्चालन भएका शिक्षण संस्थाहरुको संरक्षण गर्ने नीति ल्याउनु पर्ने बताए ।
कलेजका व्यावस्थापक शिवकुमार डाँगीका अनुसार २०७१ मा विधिवत दर्ता भएको जीविका सहकारीले शिक्षा मन्त्रालयको अनुमतिमा २०७४ सालमा जीविका कृषि कलेज स्थापना गरेको हो । स्नातक तहको दक्ष कृषि प्राविधिक जनशक्ति उत्पादन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट सम्बन्धन लिएर अध्ययन अध्यापन गरिरहेको छ । करिब १० बिघा जग्गामा फर्मसहित कलेज सञ्चालनमा रहेको, ८० जना विद्यार्थी बस्न सक्ने आवास गृह रहेको त्यस क्रममा जानकारी दिइएको थियो ।
फर्ममा ६० वटा गाई, १२० वटा बंगुर र ५०० वटा बाख्रापालन र एक हजार केजी बढि माछा उत्पादन गर्र्ने पोखरी सञ्चालनमा छ । कलेजले पशु र माछापालनसँगै खेती गरेर व्यावसायिक आर्जनसमेत गर्दै आएको छ ।
जीविका कृषि सहकारीले ८० जना शेयर सदस्यहरुबाट पुँजी संकलन गरी झण्डै १५ करोड रुपैयाँ लगानीमा कलेज स्थापना गरेको हो । तर विश्वविद्यालयको नीतिका कारण कलेजले समस्या झेल्नु परिरहेको उनले बताए ।