कोशी सरकार विस्तारमा मुख्यमन्त्रीको ढिलाइ : दौरासुरुवाल लाउँदै–फुकाल्दै आकांक्षीहरू

उपचार विदामा बसेका प्रदेश प्रमुख पर्शुराम खापुङलाई सोमबारको शपथग्रहणकै लागि काठमाडौंबाट विराटनगर बोलाए पनि सरकार विस्तार भएन

विराटनगर । कोशी प्रदेश सरकार विस्तारको भाका पुनः सरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मन्त्री नियुक्तिको भाका विगत लामो समयदेखि सारिरहेका छन् ।

नेकपा एमालेको सहयोगमा काँग्रेसका ८ सांसदको हस्ताक्षरबाट असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले असोज २८ गते सपथ लिएका थिए । सो दिन एमालेका रामबहादुर मगर र काँग्रेसका शमशेर राईलाई मन्त्री बनाएका उनले बाँकी मन्त्री विश्वासको मत लिएपछि नियुक्त गर्ने बताएका थिए ।

कार्कीले कात्तिक १ गते प्रदेशसभाबाट राप्रपाबाहेक सबै दलको विश्वासको मत पाए । तत्कालीन सत्तासाझेदार एमालेले तत्काल सरकार विस्तार गर्न उनलाई दबाब दिएको थियो । त्यसलाई छल्न काठमाडौं हिँडेका कार्की दशैं विदापछि मात्र विराटनगर फर्किए । त्यसपछि दशैपछि सरकार विस्तार गर्ने बताएका उनले दशैं सकिएपछि पनि विस्तार गरेनन् ।

त्यसपछि तिहार नजिकीयो । सरकार विस्तार गर्न एमालेले दबाब बढाउँदै लगेकोमा मुख्यमन्त्री कार्कीले तिहारपछि विस्तार गर्ने प्रतिबद्धता जनाए । तिहार सकिएपछि पनि सरकार विस्तारका लागि उनले विभिन्न मिति तोके र टारे । तोकिएको मिति नजिक आउँदा उनी काठमाडौं जाने गर्थे ।

आफूले बनाएको सरकार भएकोले आफ्नो सल्लाह अनुसार सरकार विस्तार गर्न एमालेको दबाब थियो । मुख्यमन्त्री कार्कीले भने गठबन्धनमा फर्किने निर्णय विश्वासको मत पाउनु अघि नै गरिसकेका थिए । तर, उनले त्यो कुरा एमालेलाई भनेनन् र अल्मल्याइरहे ।

कार्कीले आफूलाई मुख्यमन्त्री बनाउने एमालेलाई थाहै नदिइ मंसिर १७ गते नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जबेगूलाई मन्त्री नियुक्त गरे । लगत्तै एमाले सरकारबाट बाहिरयो ।

कार्की सरकारमा काँग्रेसका राई, माओवादीका उप्रेती र समाजवादीका जबेगू सामेल भएपनि उनीहरुले लामो समयसम्म विभागीय जिम्मेवारी पाएनन् । बजेट प्रतिस्थापन विधेयक पनि मुख्यमन्त्री कार्कीले ९ वटै मन्त्रालयको जिम्मेवारी आफैंमा राखेर तयार गरे । बजेट पारित गरेपछि मन्त्रीको जिम्मेवारी तोक्ने र सरकार विस्तार गर्ने उनले बताएका थिए । तर, बल्ल मंसिर १७ गते तीन मन्त्रीलाई विभागीय जिम्मेवारी तोकेका कार्कीले अन्य पाँच मन्त्रालय आफैंसँग राखे । ती मन्त्रालय अहिलेसम्म उनैसँग छन् ।

विनाविभागीय मन्त्री रहेका राईलाई आन्तरिक मामिला तथा कानुन, जबेगूलाई भौतिक पूर्वाधार विकास र उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका कार्कीले लगत्तै सरकार विस्तार गर्ने बताएका थिए । तर, उनले फेरि सभामुखको निर्वाचतपछि मात्र सरकार विस्तार गर्ने भन्नथाले । जबकि सभामुखको निर्वाचन र सरकार विस्तारको कुनै साइनो थिएन ।

पुस २४ गते प्रदेश सभामा राप्रपाका अम्बरबहादुर विष्ट सभामुखमा निर्विरोध निर्वाचित भए । सभामुखको निर्वाचनपछि मुख्यमन्त्रीले भनेका थिए, ‘अब सरकार विस्तारको बाटो खुल्यो, १–२ दिनमै विस्तार हुनेछ ।’ प्रदेश सभामा सरकार विस्तार नभएको विषयमा सांसदहरुले आवाज उठाउँदा भने ‘मन्त्री नभएर सरकारको काममा असर नभएको’ गैरजिम्मेवार जवाफ मुख्यमन्त्रीले दिन्थे ।

सभामुखको निर्वाचनपछि केहि दिनमै सरकार विस्तार हुने मुख्यमन्त्रीले बताएका थिए । सरकार विस्तारको लागि उनले पटक–पटक मिति तोके । तर, विभिन्न कारण देखाउँदै स्थगित गरे । उनको बोली फेरि परिवर्तन भयो । राष्ट्रिय सभाको निर्वाचनपछि मात्र सरकार विस्तार गर्ने भन्नथाले ।

राष्ट्रिय सभा निर्वाचनको पूर्वसन्ध्यामा हाम्रोमत दैनिकलाई अन्तरवार्ता दिँदै कार्कीले ‘अबको केहि घण्टामा सरकार विस्तार हुने’ बताएका थिए । ‘अब दिन हैन, घण्टा गन्नुहोस्, तपाईहरुले सोचेको भन्दा छिटो सरकार विस्तार हुन्छ’ उनले भनेका थिए ।

माघ ११ गते राष्ट्रिय सभा निर्वाचन भयो । निर्वाचनमा काँग्रेसको घातको कारण माओवादी उम्मेदवार चम्पा कार्की पराजित भइन् भने काँग्रेसका कृष्णप्रसाद सिटौला बिजयी भए । त्यसले काँग्रेस र माओवादीबीच उत्पन्न भएको खटपटलाई देखाएर फेरि मुख्यमन्त्री कार्कीले सरकार विस्तारको काम धकेले ।

राष्ट्रियसभा निर्वाचन भएको दुई साता हुनलाग्दा पनि सरकार विस्तारलाई मुख्यमन्त्रीले धकेलिरहेका छन् । गठबन्धन दलमा भागबण्डा सकाएर सरकार विस्तारको मिति तोकेका उनले पटक–पटक त्यसलाई सारिरहेका छन् । गठबन्धनबीच बाँकी रहेका पाँच मन्त्रालयमा दुई माओवादीले र जसपा सरकारमा नआएसम्म तीन काँग्रेसले लिने सहमति छ ।

भागबण्डा अनुसार मन्त्रालय र मन्त्री पनि टुंगो लागिसकेको छ । काँग्रेसले अहिले मुख्यमन्त्रीकै साथमा रहेका आर्थिक मामिला तथा योजना, उद्योग, कृषि तथा सहकारी र स्वास्थ्य मन्त्रालय राख्नेछ भने माओवादीले सामाजिक विकास र खानेपानी, सिचाईं तथा उर्जा मन्त्रालय लिनेछ ।

सरकारमा माओवादीले उदयपुरका प्रदेश सभा सदस्य नारायणबहादुर मगर र संखुवासभाका राजेन्द्र कार्कीलाई पठाउने निर्णय गरिसकेको छ । काँग्रेसबाट ओखलढुंगाका प्रदिप सुनुवार, उदयपुरका रामकुमार खत्री मन्त्री तथा धनकुटाकी इन्दिरा थापा राज्यमन्त्री बन्ने बताइएको छ ।

दलहरुबीचको भाबण्डा टुंगो लागेपछि माघ २१ गते आइतबार सरकार विस्तार गर्ने मुख्यमन्त्री कार्कीले बताएका थिए । तर, प्रदेश प्रमुख पर्शुराम खापुङ विरामी भएर उपचारको लागि काठमाडौं गएका थिए । कार्कीले सरकार विस्तार गर्ने भन्दै खापुङलाई बोलाए ।

खापुङ सोमबार हतारहतार उपचार विदा छोट्याएर मन्त्रीहरुको नियुक्ति र सपथको लागि विराटनगर फर्किए । ‘प्रमुखज्यू विदा लिएर उपचारको लागि काठमाडौं जानु भएको थियो,’ स्रोतले भन्यो, ‘शपथग्रहणकै लागि उपचार छाडेर आउनु भएको हो । तर, शपथ सरेको स¥यै भयो ।’

प्रदेश प्रमुख सोमबार दिउँसो आउने र सपथ हुने जानकारी मुख्यमन्त्री कार्कीले केही सञ्चारकर्मीलाई दिएका थिए । तर, उनले काँग्रेसमा कुरो मिल्न बाँकी रहेकोले केही समय सार्ने आशय निकटस्थहरुसँग गरे । माओवादीले भने भागबण्डा टुंगो लागेकोले काँग्रेसमा सहमति नभए आफ्नालाई सपथ गराउन सुझाव दिएको थियो ।

लगत्तै सोमबार साँझ ५ बजे सपथ गराउने खबर प्रदेश प्रमुखको कार्यालयलाई पुग्यो । मन्त्री बन्न लागेका सांसदहरु दौरासुरुवाल लगाएर तयारी अवस्थामा थिए । तर, अन्तिम समयमा मुख्यमन्त्री कार्कीले मंगलबार सपथ गराउने भन्दै समय परिवर्तन गरे । राज्यमन्त्री बन्न लागेकी इन्दिरा थापा जनकपुरमा रहेको भन्दै सपथ सारिएको मुख्यमन्त्री निकट स्रोतले बताएको थियो ।

प्राविधिक कारणले सरकार विस्तार ढिलो भएको आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले पनि जानकारी दिएका थिए । ‘आज प्राविधिक कारणले सपथ हुन सकेन, भोलि सपथ हुन्छ’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री राईले सोमबार भनेका थिए ।

सोमबार राति झापाका काँग्रेस नेता केशवकुमार बुढाथोकीको निधन भयो । त्यसको जानकारी राति नै आएपनि मुख्यमन्त्रीले मंगलबार विहान सपथ गराउने जानकारी दिएका थिए । सथप हुने भएपछि मन्त्री बन्न लागेकाहरुले आफन्त र आफ्नो निर्वाचन क्षेत्रका कार्यकर्तालाई मंगलबार बिहानै विराटनगर बोलाएका थिए । उनीहरु विराटनगर आएपछि सथप नहुने खबर पुग्यो ।

बुढाथोकीको शोक परेको भन्दै मुख्यमन्त्रीले बुधबार सपथ हुने जानकारी दिएको मन्त्रीको सपथ लिन लागेका एक सांसदले बताएका छन् । मन्त्री बन्न लागेका सांसदहरुलाई बुधबार विहान ८ बजे सपथ हुने खबर गरिएको छ । तर, मुख्यमन्त्री कार्की भने बुढाथोकीलाई श्रद्धाञ्जली दिएर झापाको भद्रपुरबाट साँझ काठमाडौं उडेका छन् । मुख्यमन्त्री काठमाडौं हिँडेकोले उनले तोकेको बुधबार बिहान पनि सपथ हुने सभावना छैन ।

बुधबार मात्र हैन, अबको तीन दिन सरकार विस्तार त्यसै धकेलिएको मुख्यमन्त्री निकट स्रोत बताउँछ । काँग्रेस नेता बुढाथोकीको निधनप्रति काँग्रेसले तीन दिन शोक मनाउने निर्णय गरेकोले यहि बहानामा तीन दिन सरकार विस्तार नहुने बताइन्छ ।

सरकार विस्तारमा किन ढिलो भएको भन्ने विषयमा मुख्यमन्त्रीले प्राविधिक कारण भन्ने गरेका छन् । गठबन्धनमा आबद्ध दलहरु भने ढिलो गर्नुको कारण नबुझेको प्रतिक्रिया दिन थालेका छन् । मुख्यमन्त्री कार्कीको कार्यशैलीले आजित बनेको उनीहरुको प्रतिक्रिया हेर्दा देखिन्छ ।

गठबन्धनमा सहमति भएपनि काँग्रेसमा भने मन्त्री पठाउने विषयमा कुनै छलफल र सहमति नभएको बताइन्छ । सरकार विस्तारको लागि मुख्यमन्त्रीले छलफल नगरेको काँग्रेस प्रमुख सचेतक भुपेन्द्र राईले बताए । कार्कीले दलका नेता उद्धव थापासँग पनि यसबारे खासै सल्लाह नगरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सरकारमा काँग्रेसको सिटौला पक्षले पनि भाग खोजेको छ । तर, मुख्यमन्त्री कार्कीले शेरबहादुर देउवा खेमाका प्रदिप सुनुवारलाई सरकारमा समेट्ने पक्षमा भएपनि सिटौला समूहलाई समेट्न चाहेका छैनन् । दल नेता थापा सिटौला पक्षका हुन् । त्यसैले पनि सरकार विस्तारमा सकस परिरहेको बताइन्छ ।

बुधबार, २४ माघ, २०८०, बिहानको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर