एमालेको अभियान धनकुटामा प्रवेश, ९ जना पहिचानवादी पक्राउ

धनकुटा । नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रामा अबरोध गर्न खोजेको आरोपमा धनकुटाबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

प्रदेश पहिचान संयुक्त संघर्ष समिति संखुवासभाका संयोजक वीरेन्द्र खारा राईसहितलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा किरात राई यायोख्खाका धनकुटा अध्यक्ष उद्धवमणि राई, किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष कमलसि तिगेला, उमा चाम्लिङ, जितेन्द्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई र पनित कुलुङ रहेका छन् । उनीहरूलाई धनकुटा र भोजपुरको सीमवर्ती लेगुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

शान्ति सुरक्षाको दृष्टिले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । नेकपा एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ कोशी प्रदेशमा प्रवेश गरेसँगै पहिचान पक्षधरले यातायात बन्द आह्वान गरेको छन् ।

एमालेको अभियान आज लेगुवाबाट धनकुटा प्रवेश गरेको छ । टोलीले पाख्रिबास, हिले, सिधुवा हुँदै तेह्रथुमको वसन्तपुरमा सभा गर्ने तयारी छ । उक्त यात्रालाई प्रभावित पार्न सक्ने भन्दै ती क्षेत्रमा सुरक्षा सतर्कता मजबुत बनाइएको प्रशासनको भनाइ छ ।

बिहिबार, २८ मंसिर, २०८०, बिहानको ११:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर