एनसेल बिक्रीमा अर्बौ घोटाला भएको गगनको आशंका

ओखलढुंगा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको स्वामित्व बिक्रीमा अर्बौ घोटाला भएको आशंका गरेका छन् ।

नेपाली कांग्रेसको ओखलढुङ्गाको जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै थापाले एनसेलमा घोटाला भएको सहजै अनुमान गर्न सकिने बताए ।

‘प्रथम दृष्टिमा हेर्दै गर्दा पनि एनसेलमा अर्बौ रुपैयाँ घोटाला भयो भन्ने कुराको अनुमान लगाउन सकिन्छ’ उनले भने, ‘यो प्रकरणमा कानुनको दुरुपयोग भएको वा जतिसुकै ठूलो मान्छेको संलग्नता भएपनि सरकार डराउन हुँदैन, छानविन गर्नुपर्छ ।’

कांग्रेस सहभागी सरकारले यो खालको कुनै पनि काममा यदि कहिँ कतैबाट पनि कानुनको दुरुपयोग भएको छ, जतिसुकै ठूलो मान्छे यसमा संलग्न भएको भएपनि छानविन गर्नुपर्ने बताए । ठूलै नेताको सम्पत्ति चोर बाटोबाट लगेर कालो धन नेपालमा लगानीको नाममा भित्र्याउने प्रयास भएको हुनसक्ने भन्दै उनले जो सुकै होस्, दण्ड पाउँछ भन्ने विश्वास सरकारले दिलाउनुपर्ने बताए । थापाले कानुनको दुरूपयोग भएको पाइएमा दण्डित गरिनुपर्ने बताए।

मलेसियाको आजियाटाले कम्पनी आजियटाले हालै आफ्नो एनसेलमा रहेको स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको बेलायतस्थित कम्पनीलाई गत शुक्रबार बिक्री गरेको थियो । एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई ५ करोड अमेरिकी डलरमा बिक्री गरेको आजियाटाले बताएको थियो । उक्त खरिदबिक्री शंकास्पद भन्दै नेपालभित्र छानबिन हुनुपर्ने माग भइरहेको छ ।

महामन्त्री थापाले नागरिकका साना साना काम पनि नभएका कारण सरकारप्रति आक्रोश बढेको बताए । तथ्यांकले केही सकरात्मक कुराको संकेत गरेको भएपनि साना व्यवसायी र किसानहरुको अवस्था नाजुक बनेको उनले दावी गरे ।

मङ्गलबार, १९ मंसिर, २०८०, साँझको ०५:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर