विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा सांसदहरुले भुकम्पबाट पीडितहरुको उद्धार र पशुपालन किसानले उत्पादन गरेको दूध तथा दूधजन्य वस्तुहरुको बजारीकरणमा जोड दिएका छन् ।
प्रदेशसभाको शून्य समय लिएर बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।
सांसद इन्दिरा थापाले कर्णालीको जाजरकोट र रुकममा भुकम्पमा परेका घाइतेहरुको उचित उपचारको व्यवस्था गर्न माग गर्दै भुकम्प प्रभावित क्षेत्रमा राहत सहयोग गर्न निजी क्षेत्रलाई आव्हान गरिन् ।
उनले सहमतीय सरकारको सोचलाई कार्यान्वयन गर्न वर्तमान सरकारले खोजिरहेको भन्दै एमालेलाई सरकारमा आउन आव्हान गरिन् ।
यस्तै सांसद खिनु लङ्वा लिम्बूले इलामको जौबारी, बन्दुके, हिले, कैयाँकट्टा, छब्बिसे मेची लगायतका स्थानमा राखिएका छोटी भन्सार द्वन्द्वको कारण सारिएको भएपनि अहिलेसम्म स्थापना नभएको बताइन् । अहिले पनि ति छोटी भन्सार संचालन नहुँदा सर्वसाधरणलाई समस्या भइरहेको बताउँदै उनले नाका संचालनको माग गरिन् ।
सांसद गोपाल तामाङले झापाको मेचीनगरमा किसान गोपाल रिजाललाई हात्तीले आक्रामण गरेर घाइते बनाएको भन्दै उनले बाहुनडाँगी क्षेत्रको हात्ती नियन्त्रण गर्न माग गरे । हात्तीको आक्रमणबाट घाइते भएका रिजालको निःशुल्क उपचारको व्यवस्था प्रदेश सरकारले गर्नुपर्ने माग गरे ।
सांसद गोपालप्रसाद विश्वकर्माले साउन १७ गतेदेखि सभामुखको रिक्तता भएको भन्दै परिपूर्ति गर्नुपर्ने माग गरे । उनले राप्रपाका सांसदहरुले एक महिनाको सेवा सुविधा भुकम्प पीडितको राहत तथा घाइतेको उपचारका लागि दिने निर्णय गरेको बताउँदै कोशी प्रदेशले भुकम्प पीडितलाई १ करोड दिएको र थप राहतको व्यवस्था गर्न अन्य क्षेत्रमा पनि पहल गर्नुपर्नेमा जोड दिए ।
सांसद गोम्बु शेर्पाले भुकम्प पीडितको उद्धार र राहतमा संघीय सरकारले खेलेको भूमिकाको प्रसंसा गर्दै प्रदेश सरकारले राहत र नगद सहयोग गर्ने निर्णयको स्वागत गरेका छन् ।
उनले प्रदेशमा गाई, भैंसी पालन गरेर दूध उत्पादन गरिरहेका किसान र डेरी उद्योगहरु समस्यामा रहेको बताउँदै करोडौंको घ्यू, छुर्पि नबिकेर फ्रिजिङ गर्नुपर्ने अवस्था रहेको र मिल्क होलिडेको कारण किसान मारमा परिरहेको बताए । उनले नेपालको दूधलाई अन्तराष्ट्रिय बजारमा पुर्याएर विक्री हुने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
सांसद मिना श्रेष्ठले दूधबाट उत्पादित सामाग्रीको विक्री वितरण नभएको र बजारीकरण गर्न नसकेको तर, भारतबाट दूधजन्य पदार्थहरु आयात भइरहेको भन्दै यसको नियन्त्रणका लागि पहल गर्न माग गरिन् । नेपालकै किसानहरुले उत्पादन गरेका तरकारीजन्य वस्तुहरु आयातमा कडाइ गर्नुपर्ने उनको भनाइ छ । यस्तै सयपत्रि फूलको माला पनि भारतबाट आइरहेको र स्वदेशबाट उत्पादित फूल बजारीकरण नहुँदा किसान मारमा परेको उनको भनाइ थियो ।
सांसद मैया श्रेष्ठले साउन १७ गतेदेखि सभामुख बिहीन भएको भन्दै तत्काल सभामुख चयन गर्न माग गरिन् ।
सांसद रमेश बस्नेतले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सरकारको खराब नियतका कारण धरासायी भएको बताए । प्रतिष्ठानले नेपाल सरकारलाई वार्षिक ३५ करोड बढी बुझाउने गरेको र अप्रत्यक्ष ६५ करोड आम्दानी गर्ने गरेको भन्दै संघीय सरकारले २०, २५ प्रतिशत बजेट अनुदानमा दिएको बाहना गरेर बाहिरबाट मानिसहरु नियुक्ति गर्दा समस्या उत्पन्न भइरहेको दाबी गरे । प्रतिष्ठानको समस्या समाधानमा प्रदेश सरकारले संघीय संसदसँग आग्रह गर्नुपर्ने बताए ।
सांसद रामदेव यादवले नेपालमा चिनीको हाहाकार भइरहेको बताए । चिनी उद्योगबाट उखु किसानले पैसा पनि नपाएको बताउँदै सरकारले दिएको अनुदान पनि किसानले अहिलेसम्म नपाएको बताए । किसानहरुले उखु लगाउन छोडिरहेको बताउँदै सरकारले यस विषयको समाधानमा जोड दिनुपर्ने बताए ।
नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले केन्द्रीय सरकारले भुकम्पपीडितको घर निर्माणमा अस्थायी घर निर्माण गर्ने भन्दै कम पैसा छुट्याएको भन्दै पर्याप्त रकम पठाउन माग गरे ।
उनले सार्वजनिक सवारी साधनमा यात्रुहरु ठगिने गरेको भन्दै त्यसको नियन्त्रणको माग गरे । उनले कर्मचारीको सरुवा गर्न कार्यविधि बनाएर मात्रै काम गर्न मुख्यमन्त्रीलाई आग्रह गरे । यस्तै प्रदेशको सुशासनको लागि ऐनहरुको कमजोरीलाई सच्याउन पनि उनले आग्रह गरे ।
सांसद शोभा चेम्जोङले कर्णालीका भुकम्प पीडित नागरिकहरुलाई आ–आफ्नो सेवा सुविधाबाट कटाएर सहयोग गर्नुपर्ने बताइन् । उनले सभामुख पद अहिले खाली रहेको भन्दै यथाशीघ्र आवश्यक तयारीको लागि दलका नेतालाई आग्रह गरिन् । सांसद शिला दिक्षित कार्कीले मोरङको बेतनामा लोपउन्मुख कछुवा पाइएको बताउँदै यसको संरक्षणमा जोड दिइन् ।
सांसद सुनिता कुमारी गुरुङले विराटनगरबाट सुनसरी जाने ब्रम्हपुरा क्षेत्रको बाटोको अवस्थाले आवतजावत गर्न कठिनाइ भएको भन्दै बाटो सुधारको माग गरिन् । उनले सो क्षेत्रमा बाढी आउने र सडक बिगार्ने गरेको, केशलीया खोला नजिकै डम्पिङ साइड राखेको भन्दै त्यसले आसपासका बासिन्दालाई असर गरिरहेको बताइन् । उनले उक्त डम्पिङ साइड स्थानान्तरण गर्न माग पनि गरिन् ।
सांसद सिर्जना राईले कृषि पेशामा संलग्न किसान लक्षित ऐन कानून नबनेको बताउँदै किसानले उत्पादन गरेको वस्तुको उचित मूल्यको व्यवस्था गर्न माग गरिन् । उनले गाँजा खेतीको विषयमा अध्ययन अनुसन्धान गर्ने विषयमा केन्द्र सरकारले बजेटमा ल्याएपनि कार्यान्वयन भएको भन्दै तत्काल त्यो विषय अगाडि बढाउनु पर्ने बताइन् ।