कोशी प्रदेश सरकार विस्तारको तयारी, आजै सपथ हुने

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । गत असोज २८ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषदमा दुई जनालाई थप गर्न लागेको स्रोतले जनाएको छ ।

नेकपा एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री भएका कार्कीले सरकारमा गठबन्धन सामेल गर्ने कि एमाले मात्र भन्ने निर्णय गर्न नसक्दा सरकार विस्तार गर्न सकेका थिएनन् ।

कार्कीलाई नेपाली काँग्रेसले गठबन्धनबाट माओवादी केन्द्र र एकीकृत समाजवादीका १–१ जनालाई मन्त्री नियुक्त गर्न निर्देशन दिएको छ । कार्कीले सहमतीय सरकार बनाउन भन्दै एमालेसँग छलफल गरेपनि एमालेले माओवादी सरकारमा आए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ । तर, पार्टी र गठबन्धनको दबाबको कारण गठबन्धनबाटै सरकारमा मन्त्री थप गर्ने तयारीमा कार्की पुगेका हुन् ।

काँग्रेसले भने सरकारमा बिनाविभागीयको रुपमा रहेका एमालेका रामबहादुर राना मगरलाई बर्खास्त गर्न दबाब दिएको छ । कार्कीले भने ढिलोचाँडो एमाले आफैं बाहिरिने भएको कारण बर्खास्त नगर्ने रणनीति बनाएका छन् ।

मुख्यमन्त्री कार्कीले गठबन्धन दलहरुको बैठकमा सहभागी भएर गठबन्धनकै सरकार बनाउने सहमति गरेकोले कार्यान्वयन गर्ने भएका हुन् । कार्कीले एमालेलाई सबै दलको सहमतिमा साझा सरकार बनाउन प्रस्तव गरेपनि एमालेले अस्वीकार गरेकोले गठबन्धनबाट मन्त्री थप गर्न लागेका हुन् ।

सरकार विस्तारको लागि आज एमाले र काँग्रेसका नेताहरुको छलफल भएको थियो । सो छलफलमा पनि सबै दलको सरकार बनाउने प्रस्ताव कार्कीले गरेका थिए । तर, एमाले नेता हिक्मतकुमार कार्कीले अस्वीकार गरेको काँग्रेसले जनाएको छ । विगतमा आफैंले सहमतीय सरकारको कुरा गर्ने एमालेले अहिले त्यहि प्रस्ताव अस्वीकार गरेको भएपनि मुख्यमन्त्री भने सहमतीय सरकार बनाउन माओवादी र समाजवादीलाई सरकारमा सामेल गराउने निश्कर्षमा पुगेको काँग्रेस स्रोतको भनाइ छ ।

आजै साँझ एमाले र काँग्रेसको पुनः छलफल तय भएको छ । सो छलफलपछि आजै मन्त्री नियुक्तिको संभावना रहेको छ । स्रोतका अनुसार माओवादीबाट मोरङका गणेश उप्रेती र समाजवादीबाट पाँचथरका कमल जवेगु आज मन्त्री नियुक्त हुनेछन् ।

प्रदेश प्रमुखको कार्यालयले मन्त्रिपरिषद विस्तार हुने जानकारी आएकोले ६ः३० बजे सपथ राखिएको जानकारी दिएको छ ।

शुक्रबार, १७ कार्तिक, २०८०, दिउँसोको ०४:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर