काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायका सम्बन्धमा दलहरूबीच समझदारी बनेको बताएका छन् ।
बुधबार नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलमा संक्रमणकालीन न्यायका सम्बन्धमा समझदारी बनेको प्रधानमन्त्रीले जानकारी दिए । उनले पीडितहरूलाई न्याय, सर्वोच्च अदालतको व्याख्या र अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई आत्मसाथ गर्दै शन्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने बताएका छन् ।
दलहरूलाई सदैव एक ठाँउमा ल्याउन आफुले सदैव पहल गरेको र बुधबार बिहान भएको छलफल सकारात्मक भएको प्रधानमन्त्रीको भनाइ छ । उनले चियापान कार्यक्रमले दलहरूलाई एकठाँउमा उभिन र समझदारी कायम गर्न मद्धत गरेको बताए ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि शान्ति प्रक्रिया सहमतिका साथ टुंग्याइने बताए । शान्ति प्रक्रिया पीडितमैत्री भएर टुंग्याउनुपर्ने भन्दै उनले आज प्रधानमन्त्रीसँगको भेटपछि ‘राम्रै लक्षण’ देखिएको प्रतिक्रिया दिए ।
‘प्रधानमन्त्रीजीसँग मेरो बिहान भेट भएको थियो । अघि प्रधानमन्त्रीज्यू र म यहाँ सँगै थियौँ । तपाईंहरूले देखिहाल्नुभयो । हाम्रो चेहरा देख्नुभयो, हाउभाउ देख्नुभयो, हात हल्लाएको, हात मिलाएको देख्नुभयो’ उनले भने, ‘मुस्कुराएको देख्नुभयो, खुसी भएको देख्नुयो । एउटै चाडमा एकै ठाउँमा खुसियालीपूर्ण ढंगले समावेश भएको देख्नुभयो । राम्रै लक्षण छ नि हैन र ?’
शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा आजमात्रै प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो ।