कोशी प्रदेश सभाको बैठक बस्दै : कार्यसूची यस्तो

विराटनगर । करिब डेढ महिनापछि आज कोशी प्रदेशसभाको बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकको लागि सम्भावित ३ वटा कार्यसूची तय भएका छन् ।

प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा प्रदेशसभाका निवर्तमान सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएको बारेमा जानकारी गराइने पहिलो सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद्‌ गठनसम्बन्धी पत्र वाचन गर्ने अर्को कार्यसूची छ। यस्तै, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश स्वीकृत गर्ने सम्बन्धमा परेको सूचना तथा अध्यादेशबारे निर्णय हुने अर्को कार्यसूची रहेको छ।

सांसदहरुले राखेको अध्यादेशमाथिको विरोधको सूचना फिर्ता भएर आजको बैठकले अध्यादेश अगाडि बढाउन स्वीकृति प्रदान गर्नेछ । कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राई, माओवादीका नारायणबहादुर मगर, एकीकृत समाजवादीका खिनु लङ्वा लिम्बू र कमलप्रसाद जवेगुले अध्यादेश अस्वीकारको सूचना दर्ता गराएका थिए । अध्यादेश अस्वीकारको माग गर्दै प्रदेशसभा सचिवालयमा दर्ता भएको दुईवटा सूचना सम्बन्धित सांसदहरुले फिर्ता लिनेछन् । त्यसपछि प्रतिस्थापन विधेयक ल्याउने प्रक्रिया सुरु गर्ने सरकारको तयारी छ ।

संविधान अनुसार भदौ १० गतेसम्ममा प्रतिस्थापन विधेयक प्रदेशसभाबाट पारित भइसक्नुपर्नेछ । अध्यादेश निष्क्रिय भएमा प्रदेश बजेट शून्यतामा जाने भएकाले सत्तारूढ गठबन्धन र प्रतिपक्षी दल प्रतिस्थापन विधेयक पारित गराउन सहमत देखिएका छन् । आजको बैठक उपसभामुख सिर्जना दनुवारले सञ्चालन गर्नेछिन् ।

प्रदेशसभाको पछिल्लो बैठक असार १५ गते बसेको थियो । सो बैठकमा तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मागेको विश्वासको मतमाथि मतदान उहाँ विश्वासको मत प्राप्त नगरेपछि कार्की पदमुक्त भएका थिए ।

कार्कीको पदमुक्तिसँगै असार २१ गते तत्कालिन सभामुख गौतमसमेतको हस्ताक्षरको आधारमा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धब थापा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, सर्वोच्च अदालतले संविधानविपरित सरकार निर्माणमा सभामुख संलग्न रहेको भन्दै साउन ११ गते थापालाई पदमुक्त गरेको थियो ।

सर्वोच्चबाट पदमुक्त भएका थापा सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएपछि पुनः साउन १६ मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । सभामुखबाट राजीनामा दिएका गौतम आर्थिक मामिला तथा योजनामन्त्री छन् ।

शुक्रबार, ०१ भदौ, २०८०, बिहानको ११:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर