धनकुटाकी हिमा बस्नेत प्रदेश सांसदमा नियुक्त

विराटनगर । सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट सजाय भएपछि प्रदेश सभा सदस्य गुलेफुन खातुनले पदबाट राजीनामा दिएपछि खाली भएको पदमा धनकुटाकी हिमा बस्नेत भट्टराई सांसद पदमा चयन भएकी छिन् ।

बस्नेतलाई निर्वाचन आयोगले आज पत्र दिएको नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले जानकारी दिए । यसअघि मियाको राजीनामा स्वीकृत भएको थियो । एमालेले निर्वाचन आयोगलाई बन्द सूचीबाट बस्नेतलाई सांसद नियुक्ति गर्न यसअघि नै पत्र पठाएको थियो ।सोही पत्रका आधारमा धनकुटाकी बस्नेतलाई सांसद पदमा चयन गरिएको कार्कीले बताए । ‘निर्वाचन आयोगले पत्र दिइसकेको छ सायद भोली सपथग्रहण हुन्छ होला,’ कार्कीले भने ।

अल्पसंख्यक कोटाबाट बन्द सूचीमा महिला अन्य कोही पनि नभएको कारण खस आर्य कोटाबाट उनी सांसद बनेकी हुन् । बस्नेत नेकपा एमालेको प्रदेश १ समिति सदस्य हुन् । धनकुटा एमालेको पूर्व उपसचिव समेत रहेकी अधिवत्ता बस्नेत धनकुटा बारको पूर्व अध्यक्ष पनि हुन् । उनको श्रीमान् प्राध्यापक डाक्टर गोपालबहादुर भट्टराई धनकुटा बहुमुखी क्याम्पसका पूर्व प्रमुख हुन् ।

सरकारी छाप, दस्तखत र कागजात किर्ते गरेको अभियोगमा उच्चअदालत विराटनगरले सजाय हुने फैसला गरेको भए पनि खातुनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका कारण लामो समय कारबाही हुनबाट जोगिएको थियो । गतसाता सर्वोच्च अदालतले उच्चको फैसलालाई नै सदर गरेपछि खातुनले पदबाट राजीनामा दिएकी थिइन् ।

मोरङको तत्कालीन कदमाहा गाउँविकास समितिमा रहेको ३ कट्ठा १० धुर जग्गाको मोही प्राप्त गर्न खातुनले कागजात, हस्ताक्षर र सरकारी छाप किर्ते गर्नुभएको प्रमाणित भएको छ । २०७१ साल चैत महिनामा गाविस सचिवको तर्फबाट सिफारिस गरेको पत्र तयार पार्दै दुईवटा सिफारिसमा एउटै दर्ता नम्बर भेटिएपछि किर्ते गरेको भन्दै मुद्दा परेको थियो । सोही मुद्दामा जिल्ला अदालत मोरङले दोषी प्रमाणित गर्दै एक वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो । त्यसविरुद्ध पुनरावेदन गर्न उच्चअदालत पुगेकी खातुनको मुद्दामा उच्चअदालतले सजाय थप गरी एक वर्ष कैद र १४ हजार ५८३ रुपियाँ जरिवाना हुने फैसला गरेको थियो ।

सोमबार, २० असार, २०७९, रातीको ०८:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page