विराटनगर । सरकारी बजेटबाट संघसंस्थाका भवन बनाउन बजेट बिनियोजन हुने गरेको भएपनि जग्गा संस्थाकै नाममा हुनुपर्ने कानुनी व्यवस्था छ । तर, करिब ७ करोड खर्च भइसकेको विराटनगर–४ इक्राहीमा बनिरहेको सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा निर्माणाधिन स्मृति भवन भने व्यक्तिको निजी जग्गामा बनिरहेको खुलेको छ ।
भवन बनिरहेको जग्गाको नक्सा पास छैन भने जग्गा पनि संस्थाको नामम छैन । सूचनाको अभियान्ता योगराज दाहालले मोरङ जिल्ला भूमिसुधार तथा मालपोत कार्यालयमा तत्कालिन अमाही इक्राही वडा नं. १÷क को कित्ता नम्बर ४२५ र ४२४ को जग्गाबारे विवरण माग गर्दा मालपोत कार्यालयले दिएको जवाफमा सो कित्ता नम्बरको जग्गा निजी तथा व्यक्तिगत जग्गा भएको उल्लेख गरेको छ ।
‘अमाही इक्राही वडा नं. १–क को कि.नं. ४२५ र ४२४ को जग्गाको स्वामित्व कसको नाममा रहेको छ र कति क्षेत्रफल सहित छ सूचना विवरण प्रमाणित प्रतिििलपी उपलब्ध गराउन माग गर्नुभएकोमा उक्त जग्गा निजी तथा व्यक्तिगत जग्गा भएकोले निजी तथा व्यक्तिगत जग्गाको हकमा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा २८ (१) र ऐ. ऐनको दफा ३ को उपदफा ३ (ङ) को व्यक्तिगत गोपनियता सम्बन्धि प्रावधानलाई समेत ध्यानमा राख्नुपर्ने देखिँदा उल्लेखित कि.नं. ४२४ समेतको जग्गाको माग विवरण उपलब्ध गराउन नसकिएको व्यवहोरा जानकारीका लागि अनुरोध छ,’ मालपोत कार्यालय विराटनगरले दिएको पत्रमा उल्लेख छ । ४२५ कित्ता नम्बरको जग्गामा ७ कठ्ठा ४ धूर रहेको छ ।
सो जग्गा रिजाल थरका एक व्यक्तिको हो । उनले विराटनगरकै घरजग्गा ज्यवसायी राजेन्द्र खनाललाई वारेसनामा दिएर सो जग्गा किनबेचको जिम्मा दिएको दाहाल दाबी गर्छन् । स्रोतका अनुसार प्रतिष्ठानको भवन बनाउनु अगाडि सो जग्गाको किन्ने सहमतिपछि रायमाझीले केही रकम बैनास्वरुप दिएका थिए । तर, जग्गा अहिलेसम्म पास भएको छैन ।
जग्गा नै प्रतिष्ठानको नाममा नआइ कसरी नक्सा बन्यो र कसरी विराटनगर महानगरपालिकाले भुक्तानी दियो भन्ने प्रश्न उठेको छ । निजी जग्गामा भवन निर्माण गर्न संघ, प्रदेश र विराटनगर महानगरपालिकाले के आधारमा बजेट बिनियोजन ग¥यो र त्यो बजेट कसरी कार्यान्वयन भयो भन्ने गम्भीर प्रश्न खडा भएको दाहालले बताए । रायमाझीले आफूलाई त्यस विषयमा बुझ्न खोज्दा धाकधम्की दिएको दाहालको भनाइ छ ।
इक्राहीस्थित बस्ता खोलाको पश्चिम किनारमा देखिने ठूलो भवन बनाएर के गर्ने भन्ने कुरामा भने स्वयम् प्रतिष्ठानका अध्यक्ष रमेशजंग रायमाझी प्रष्ट छैनन् । ‘मेरो हिसावले राज्यले यस्ता संघ संस्थामा दिएका पैसाहरू, नेताका नाममा, सहिदको नाममा दिएर बनेका संरचनालाई राज्यले विधि र कानून बनाएर उहाँहरूकै नाममा भवनको नामकरण गरेर राखिदिने र त्यसलाई राज्यले प्रयोग गर्ने गर्दा हुन्छ । यो बिल्डिङमा प्रदेशका मन्त्रालयहरू राखे हुन्छ । मुख्यमन्त्रीले आफ्नो कार्यालय बनाए हुन्छ,’ प्रतिष्ठानका अध्यक्ष रायमाझी भन्छन् ।
भवन निर्माण गर्न अहिलेसम्म ७ करोड बढी रकम लगानी भइसकेको छ । भवनको निर्माण सम्पन्न हुँदा १५ करोड लागत पुग्ने अनुमान छ । जीवनभर सम्पत्तीको मोह नगरेका भट्टराईका अनुयायी रहेको दावी गर्ने रायमाझी किसुनजीकै नाम जोडेर देशभर यस्ता भवन बनाइरहेको बताउँछन् ।
विराटनगर महानगरपालिकाको घर नक्शा शाखाका प्रमुख गोपाल पोखरेलले निर्माणाधीन भवनको नक्सा पास नभएको बताए । ‘अहिलेसम्म कृष्णप्रसाद भट्टराई स्मृति भवनको नाममा कुनै नक्सा पास भएको छैन,’ उनले भने । भवन निर्माणस्थलको ६ कठ्ठा जग्गा विराटनगर महानगरपालिकाले दिएको ऐलानी जग्गा हो । त्यसबाहेक ९ कठ्ठा जग्गा भने निजी भएको स्वयम् रायमाझी स्वीकार गर्छन् ।
रायमाझीले निजी जग्गा प्रतिष्ठानले किनिसकेको दावी गरेका छन् । ‘हामीले चेक दिएका छौं । भुक्तानी गरेको रेकर्ड छ’ उनले भने, ‘यो विषयमा तपाईहरू किन लाग्नुहुन्छ ? भवनको उद्घाटन हुँदा धनिपूर्जा शो गरे भयो नि होइन र ?’ पत्रकारले पनि आफ्नो स्तर बढाउनु पर्ने बताउँदै उनले भवनबारे सोधीखोजी गर्दा अप्रत्यक्ष धम्कीको आसयमा भने, ‘तपाईहरुलाई राम्रोढंगले सम्मान गरिरहेको छु त ।’
आफूले गरेको काममा पत्रकारले पनि गर्व गर्नुपर्ने रायमाझीको भनाइ छ । पार्टीको अधिवेशन आउन लागेको बेला रमेशजङ्ग सभापतिमा लड्दैछ भन्ने भएर काँग्रेसकै एकथरी मान्छे आफूलाई दाग लगाउन लागिपरेको उनले दावी गरे ।
भवन निर्माणमा संघ र प्रदेशबाट अहिलेसम्म उक्त भवनमा ७ करोड, विराटनगर महानगरको १० लाख लगानी भइसकेको रायमाझीले बताएका थिए । केही समय अगाडि गृहमन्त्री रमेश लेखकले पनि उक्त भवनको अवलोकन गरेका थिए ।