ताप्लेजुङ घटनामा २५ घाइतेः तीन जनालाई काठमाडौं लगियो

विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा रहेको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ र प्रहरीबीच भएको झडपमा परी घाइते भएका तीन जनालाई काठमाडौं लगिएको छ ।
घटनामा १९ प्रहरी र ६ जना प्रदर्शनकारी घाइते भएकोमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका तीन आन्दोलनकारीलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको हो ।

प्रहरीले चलाएको गोली लागेर यामबहादुर लिम्बू र सगुन लावती गम्भीर घाइते छन् । झडपका क्रममा भिरबाट लडेका धर्मान पालुङ्वाको अवस्था पनि गम्भीर छ । लावतीको छातीमा र यामबहादुरको तिघ्रामा गोली लागेको बताइएको छ । यस्तै पालुङ्वाको कुम भाँच्चिएको अस्पताल स्रोतले जनाएको छ ।

शनिबार साँझको झडपमा घाइते भएका उनीहरुलाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि राति नै विराटनगरको नोबेल मेडिकल कलेजमा ल्याइएको थियो । अस्पतालले थप उपचारका लागि रेफर गरेपछि नेपाली सेनाको हेलिकप्टर मगाएर काठमाडौं पठाएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

मंगलबारदेखि पाथिभरामा केबलकार निर्माण सुरु गरिएको थियो । केबलकारका कारण पहिचान मेटिने आन्दोलन सुरु गरेको ‘नो केबलकार समूह’ आज आइतबारदेखि थप आन्दोलन गर्ने तयारी गरेको थियो । त्यसको लागि आन्दोलनकारीलाई तितरवितर पार्न शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो ।

शनिबार बेलुका करिब ६ बजे पाथिभरा क्षेत्रको बलुडाडामा प्रहरी पुगेपछि आन्दोलनकारीले माथिबाट ढुंगामुडा गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको थियो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रहरी इन्स्पेक्टर रोहित शर्मासहित १२ जना र सशस्त्र प्रहरीका ९ जना तथा नो केबलकार समूहका ६ जना घाइते भएका छन् । आन्दोलनकारीले प्रहरी इन्स्पेक्टर रोहित शर्मालाई ढुंगाले मुखमा हानेपछि उनको दाँत हल्लिएको छ र मुख सुन्निएको छ । अन्य प्रहरी भने जिल्ला अस्पतालमै उपचारपछि फर्किएका छन् ।

प्रहरीले अहिले त्यस क्षेत्रको सुरक्षा अवस्था कडा बनाएको जनाएको छ । प्रहरीले सुरक्षा सावधानी अपनाएको कारण नै ठूलो क्षति हुन नपाएको प्रजिअ शर्माले बताए । आन्दोलनकारीले छुरी, दाउरा, ढुंगा र गुलेलीहरुसहित आइसकेपछि र कमाण्डरलाई नै हानेपछि त्यो अवस्था सिर्जना भएको उनले दावी गरे ।

आन्दोलनकारी पक्षका प्रदिप मादेनले आफूलाई जिल्ला छाड्ने धम्की दिएको पनि प्रजिअ शर्माले बताएका छन् । ‘घटना हुनुभन्दा अगाडि प्रमुख जिल्ला अधिकारी म आफैंलाई फोन गरेर प्रदिप मादेनले तँ जिल्लामा सुरक्षित छैनस् भनेर असाध्यै अश्लिल र तल्लो स्तरका शब्द प्रयोग गरेर जे सक्छस् गर तँ भाग भन्नुभयो । अब युद्धको घोषणा भयो भन्नुभयो,’ शर्माले भने, ‘मादेनलाई निगरानी गरिरहेकोले कानूनको भागेदार गराइनेछ ।’

आन्दोलनकारी र प्रहरीबीचको झडपमा प्रहरीले १२ सेल अश्रुग्यास र केही गोली हानेको थियो । ताप्लेजुङमा पाथीभरा जाने केबलकार निर्माणका लागि निर्माण कम्पनीले मंगलबारबाट काम सुरु गरेपछि तनावको अवस्था उत्पन्न भएको हो । पहिचान पक्षधरले केबलकार निर्माण गर्दा पाथीभरा क्षेत्रको पहिचान मासिने भन्दै ‘नो केबलकार आन्दोलन’ चलाइरहेका छन् ।

आइतबार, १३ माघ, २०८१, दिउँसोको ०१:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर